कोहलपुर महोत्सवको तयारी तिब्र

आसन्न पाँचौ कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुड फेस्टिबल तथा पर्यटन महोत्सव आयोजनाको दिन नजिकिंदै गर्दा तयारीलाई पनि तिब्रता दिइएको आयोजक मूल समितिले जनाएको छ ।

 
आगामी सोमवार देखि आयोजना गर्न लागिएको महोत्सव पहिलो पटक कोहलपुर उद्योग बाणिज्य संघ र होटल व्यवसायी संघ बाँके कोहलपुरको संयुक्त गर्न लागेका हुन् । ‘कोहलपुर शहर हाम्रो शानm व्यवसायिक प्रवद्र्धन हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ आयोजना गरिने महोत्सवको तयारी तिब्र रुपमा अगाडी बढेको महोत्सव कार्यान्वयन समितिका सदस्य सचिव समेत रहेका कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले जानकारी दिए । ‘निर्माणका ८० प्रतिशत काम सकिएको छ,’ अधिकारीले दैनिक नेपालगन्ज सँग भने ।
सदस्य सचिव अधिकारीका अनुसार, महोत्सवका पक्षमा सिंगो कोहलपुर एक ढिक्का भएको छ । ‘राजनीतिक प्रतिबद्धता र सहयोगका लागि बुधवार अन्तक्र्रियात्मक छलफल आयोजना गरिंदैछ,’ अधिकारीले महोत्सव तयारीबारे जानकारी दिंदै भने, ‘तयारीका धेरै पक्षमा हामी अन्तिम चरणमा छौं ।’

 
महोत्सवको आयोजक संस्था, होटल व्यवसायी संघ बाँके कोहलपुरका महासचिव विश्वराज खनालले सबै स्टल बुक भइसकेको जानकारी दिए । २७५ स्टल बुक भइसकेको महोत्सवका लागि थप ६० वटा स्टल माग भएकाले बाल उद्यान निर्माणपछि थप गर्नेबारे योजना बनाइएको आयोजकले बनाएको छ ।

 
महोत्सव कार्यान्वयन समितिका सदस्य सचिवसमेत रहेका महासचिव खनालका अनुसार, महोत्सव उद्घाटनलाई भव्यता दिन ठुलो राजनीतिक जमघट गरिने भएको छ । ‘उदघाटनका लागि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आउने निश्चित भएको छ,’ स्टल, मञ्च, गेट निर्माण लगायतका कामहरु अन्तिममा पुगेको जानकारी दिंदै खनालले दैनिक नेपालगन्ज सँग भने । उनका अनुसार, मंगलवारमात्र होटल व्यवसायी संघ बाँके कोहलपुर अध्यक्ष बलराम भट्टराई र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीले सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरि प्रमुख आतिथ्य निश्चित गरेका हुन् ।

 
महोत्सवको प्रमुख आकर्षणमा फुडफेस्टीभल रहँदैछ । ‘बाँकेमा नयाँ अभ्यास हो,’ सदस्य सचिव खनालले १० वटा स्टल विशेषतः तारे होटलस्तरका बनाइन लागेको जानकारी दिंदै भने, ‘ साथमा थारु साँस्कृतिक पहिचानका १० वटा स्टल र १० वटा विभिन्न परिकारका स्टल लगाइदैछ ।’ दर्शकका लागि ९० फिटको भ्यूटावरबाट कोहलपुर क्षेत्रको दृश्य अवलोकन गर्ने व्यवस्था हुनेछ । महोत्सवको आकर्षक बाल उद्यान तथा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा विभिन्न साँस्कृतिक कार्यक्रम र हाँस्यब्यङ्ग्यको प्रस्तुति समेत हुने बताइएको छ ।

 
महोत्सवबाट आम्दानी भएको रकमले उद्योग बाणिज्य संघले बहुउद्देश्यीय भवन निर्माण गर्ने र होटल व्यवसायी संघ बाँके कोहलपुरले भवन निर्माणको लागि जग्गा खरिदमा खर्च गर्ने योजना अघि सारेका छन् । माघ २७ गतेसम्म महोत्सवको अवलोकन १ लाख ५० हजार भन्दा बढी मानिसहरुले गर्ने लक्ष्य आयोजकले राखेको छ । ‘व्यवसायिक एकताको प्रयास पनि हो,’ पहिलो पटक दुई वटा छुट्टै व्यवसायिक संस्थाले महोत्सव आयोजना गर्न लागेको बारे खनालले भने ।

प्रतिक्रिया

प्रतिक्रिया