बाँकेमा ५० बढी इट्टा उद्योगहरु सञ्चालनमा रहेका छन् । जसले बाँकेको इट्टाको माग पूर्ति मात्र गर्दैनन् आसपासका जिल्लामा समेत निर्यात गर्दै आएका छन् । समान्यतयाः बर्षमा ५ महिना मात्रै इट्टा उत्पादन हुने गरेको छ ।
बाँकेका इट्टा उद्योगहरुले जग्गा किनेर त्यसको माटो इट्टाका लागि प्रयोग गर्छन् । मजदुर अधिकांस भारतीय हुन्छन् भने इट्टा पकाउनका लागि भारतबाटै कोइला ल्याइन्छ । भारतमा समेत कोइलाको कमी हुँदा विदेशबाट आयात हुने गरेको छ ।
बाँकेका इट्टा व्यवसायीले कच्चा पदार्थको मूल्य बढेकाले आगामी फागुनबाट इट्टाको मूल्य बढाउने निर्णय गरेका छन् । ‘हामीले तेस्रो मुलुकबाट आयात गरिएको कोइला भारतबाट महंगोमा किन्ने गरेका छौं’, नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले भने, ‘इट्टा उत्पादनका लागि आवश्यक माटो, कोइला र जनशक्ति महंगिदै गएपछि बाध्य भएर इट्टाको मूल्य बढाउने निर्णय गरेका हौं ।’
पुस÷माघबाट इट्टा उत्पादनको सिजन सुरु हुन्छ । गतबर्ष इट्टा उत्पादनको सिजनको सुरुवातमा प्रतिकेजी १६ रुपैयाँमा उपलब्ध कोइला सोही सिजनको अन्त्यसम्म २२ रुपैयाँसम्म पुगेको थियो । ‘यसबर्ष सिजनको सुरुवातमै कोइलाको मूल्य २७ रुपैयाँ प्रतिकेजीसम्म पर्ने भएको छ’, नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेका कार्यालय सचिव सुर्य पौडेलले भने, ‘उत्पादन लागत बढेपछि व्यवसायीहरुले अबको उत्पादनमा मूल्य बढाउने भएका हुन् ।’
बाँकेमा एउटा इट्टा उद्योगबाट मात्रै सिजनमा ५० लाखदेखि १ करोड वटासम्म इट्टा उत्पादन गरेको छ । काँचो इट्टा पकाउनका लागि प्रति उद्योग ४ सय टनसम्म कोइला खपत हुने गरेको संघका अध्यक्ष खाँले जानकारी दिए । ‘नेपाली कोइला पनि पाइन्छ तर त्यसको त्यति राम्रो गुणस्तरको नरहेकाले व्यवसायीहरु प्रयोग गर्न चाहँदैनन्’, उनले भने ।
संघले प्रति इट्टा दुई रुपैयाँ बढाएको छ । ‘फागुनबाट अब्बल इट्टा रु. १५ र लालपेटी तथा खञ्जडको ११ रुपैयाँ प्रतिगोटा बनाउने निर्णय गरेका छौं’, संघका अध्यक्ष खाँले भने, ‘मूल्य बढाउनुको विकल्प थिएन, कच्चा पदार्थको मूल्य घटेमा दररेट घटाउने छौं ।’
हाल बाँकेका स्थानीय तहहरुमा सडक, नाला तथा विभिन्न भौतिक पूर्वाधारहरु निर्माणको काम भैरहेको छ । निर्माण व्यवसायीहरु इट्टाको मूल्यमा हुने बढोत्तरीले निर्माणको लागतमा ठूलो असर पार्ने बताए । अब घर निर्माण गर्नेहरुका लागि पनि लागत बढ्ने भएको छ ।
इट्टा व्यवसायीहरुले उद्योग नजिकका जग्गा महंगो र बाहिरबाट ल्याउँदा लागत बढी पर्ने गरेको बताउँछन् । हरेक बर्ष मजदुरका पारिश्रमिक वृद्धिले पनि उत्पादन लागत बढ्ने गरेको उनीहरुको भनाइ छ ।