बाँकेको खजुरा क्षेत्रका उद्योगी, व्यवसायीहरु संगठित भएका छन् । उनीहरुले पहिलो पटक उद्योग वाणिज्य संघ गठनका लागि औपचारिक पहल सुरु गर्दै संगठित भएका हुन् । त्यसका लागि सुर्य बहादुर रानाभाटको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
शनिबार भएको खजुरा क्षेत्रका उद्योगी, व्यवसायीहरुको भेलाले रानाभाटको अध्यक्षतामा खजुरा उद्योग वाणिज्य संघको तदर्थ समिति गठन गरेको हो । ‘खजुराको व्यवसायिक विकासका लागि यो एउटा सुखद् खबर हो’, खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘यस क्षेत्रमा उद्योग, व्यवसायको दायरा र लगानी आकर्षक रुपले बिस्तारित भएको छ ।’
प्रस्तावित खजुरा उद्योग, वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्षमा विज्ञान कक्षपति र वाणिज्य तर्फको उपाध्यक्षमा मन प्रसाद रेग्मी चयन भएका छन् । महासचिवमा कृष्ण भण्डारी, सचिवमा विवेक मल्ल र कोषाध्यक्षमा आशिष कुमार चौधरी चयन भएका छन् । महिला सदस्यमा मीरा खनाल सापकोटा, करुणा थापा र चित्रा चन्द चयन भएको उपाध्यक्ष विज्ञान कक्षपतिले जानकारी दिए ।
कार्यसमितिको सदस्यमा विरवहादुर थापा, निरज कुमार भट्ट, भक्त गोदार, जीवनाथ सापकोटा, लेखनाथ सापकोटा, सुधिर शुक्ला, धिरेन्द्र सिंह ठकुरी, दिपक अधिकारी, उज्वल विसी, मुवारक शेख, गोपाल तिवारी र सुदिप पौड्याल रहेका छन् । यसअघि खजुरा क्षेत्रका व्यवसायीहरु नेपालगन्ज उद्योग वाणिज्य संघमा संगठित छन् ।