भारत सरकारका गृहमन्त्री राजनाथ सिंहलाई नेपालगन्जका उद्योगी, व्यवसायीहरुको तर्फबाट विभिन्न समस्या ध्यानाकर्षण गराइएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले आइसीपी शिलान्यासका लागि आइपुगेका मन्त्री सिंहसँग विशेष समय लिई नेपालगन्जका व्यवसायीहरुको समस्या ध्यानाकर्षण गराएका हुन् ।
‘उहाँले हाम्रा कुरालाई गम्भीरतापूर्वक लिएर सम्बद्ध अधिकारीहरुलाई टिपोट गर्न लगाउनु भयो’, भेटवार्ताबारे अध्यक्ष वैश्यले दैनिक नेपालगन्जसँग भने, ‘विशेष गरी चार वटा विषय ध्यानाकर्षण गराएका छु ।’ नेपाली ढाका टोपी लगाइदिएर मन्त्री सिंहको सम्मान गरेका वैश्यले रुपैडिहा रेल्वे लाइनलाई बडीलाइन गरिनुपर्ने, जडिबुटी पिएफए ल्याब रुपैडिहामा लगाउनु पर्ने, काउन्सिलर अफिसर खटाउन माग गरेका थिए । ‘ड्राइ मेडिसनल हर्बल (डिएमएच) भित्र नपरेका जडिबुटीलाई सूचिकृत गरी भारत प्रवेशका लागि सहजता उपलब्ध गराइदिन आग्रह गरेको छु’, संघका महासचिव अजय टण्डन, एशोसिएट सदस्य संजय जैन सहित कार्यक्रममा पुगेका अध्यक्ष वैश्यले आफुले मन्त्री सिंहसँग भेटवार्तामा ध्यानाकर्षण गराएको विषयबारे भने ।
त्यस्तै, अध्यक्ष वैश्यले उत्तरप्रदेश र उत्तराखण्ड भन्सार हेर्ने केलेक्टर अफ कष्टम भीपी शुक्ला, यूपिका कष्टम कमिश्नर प्रमोद मिश्रलगायतसँग छुट्टै भेटघाट गरेको जानकारी दिएका छन् । ‘सीमा क्षेत्रमा भएका समस्याहरुबारे जानकारी पनि गराएको छु’, अध्यक्ष वैश्यले भारतीय भन्सारको उच्च अधिकारीहरु नेपाली सीमासम्म अवलोकनका लागि आएको जानकारी दिंदै भने, ‘सीमाबाट आवागमन गर्ने व्यवसायिक प्रयोजनलाई सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।’