नेपालगन्जबाट जहाज भन्दा पहिला दिल्ली पुग्दै बस

नेपालगन्जबाट सिधै दिल्ली उडानका लागि भैरहेको पहलले परिणाम दिन सकेको छैन । तर, नेपालगन्जबाट सिधै दिल्लीका लागि नेपाली बस भने सञ्चालनमा आउने भएको छ ।

 
नेपालगन्जदेखि भारतको राजधानी दिल्ली लगायतका तीन वटा मुख्य सहरमा सोझो बस सेवा सञ्चालनमा आउने भएको छ । भेरी यातायात प्रा.लि.ले नेपालगन्जबाट रुपैडिहा हुँदै लखनउ, दिल्ली र हरिद्वारका लागि छुटाछुट्टै बस सेवा सञ्चालन गर्न लागेको हो ।

 
‘भोलि शनिबार मुख्यमन्त्री शंकर पोखरेलले सेवा शुभारम्भ गर्ने कार्यक्रम छ’, भेरी यातायात प्रा.लि.का अध्यक्ष राजेन्द्र गिरीले दैनिक नेपालगन्जसँग भने, ‘प्रारम्भमा नेपालगन्ज–दिल्ली सेवा सुरु हुनेछ ।’ गिरीका अनुसार, नेपालगन्जबाट दिल्ली, लखनउ र हरिद्वारका लागि पौने करोड रुपैयाँका सुविधा सम्पन्न सात वटा गाडी नेपालगन्ज ल्याइएको छ । ‘एक महिनाभित्र लखनउ र त्यसको केही समयमै सेवा सुचारु गरिनेछ’, अध्यक्ष गिरीले भने ।
सरकारले नेपालका विभिन्न ठाउँबाट भारतका मुख्य सहरहरुसँग बस कनेक्टिभिटीका लागि १२ वटा नयाँ रुट लिएपछि नेपालगन्जले तीन सहरसँग मैत्रीपूर्ण बस सेवा सुरु गर्न लागेको हो । ‘यसअघि पनि नेपालगन्ज हुँदै दिल्लीका लागि बस जाने गरेपनि ती वैधानिक थिएनन्’, अध्यक्ष गिरीले भने, ‘अब १२ वटै रुटमा सहुलियत भाडा दरका वैधानिक बस सेवा सञ्चालन हुनेछन् ।’

 
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले नेपालगन्जबाट दिल्ली, लखनउ र हरिद्वारको सोझो बस सञ्चालनले नेपालगन्ज आउने भारतीयहरुका लागि र यहाँबाट विभिन्न ठाउँ जानुपर्ने नेपालीहरुका लागि सहुलियत पुग्ने विश्वास गरे । ‘नेपालगन्ज–दिल्ली उडानको अपेक्षा गरिरहँदा नियमित बस सेवाले पनि पर्यटक आगमनमा सकारात्मक प्रभाव पर्ने आशा गर्न सकिन्छ’, डा. राणाले दैनिक नेपालगन्जसँग भने ।
तीन बर्षअघि अध्यक्ष गिरीको नेतृत्वमा १२ वटा गाडीबाट कम्पनी दर्ता गरी सुरु गरेको भेरी यातायात प्रालिले काठमाडौं, बर्दिया लगायत देशका विभिन्न सहरमा ३० वटा बसबाट सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया