पर्यटनको क्षेत्रमा भारतीय लगानी भित्र्याउन पहल थालिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको एक प्रतिनिधिमण्डलले मंगलबार भारतको उत्तरप्रदेश राजधानी लखनउमा हस्पिटालिटि क्षेत्रका प्रतिनिधिहरुसँग त्यसबारे छलफल गरेकी हुन् ।
‘व्यवस्थापन गर्ने कम्पनीहरु नेपाल गैसकेका छन्’, अध्यक्ष राणाले दैनिक नेपालगन्जसँग भनिन्, ‘हामी पर्यटकीय क्षेत्रमा होटल तथा रेष्टुरेन्टहरुको व्यवस्थापन मात्र हेर्ने भन्दा लगानी नै साझेदार कम्पनीहरु पुगुन् भन्ने चाहन्छौं ।
होटल स्नेह गु्रप अफ कम्पनीका प्रबन्ध निर्देशक समेत रहेकी राणाले त्यसो भनिरहँदा उनको टोली सपना क्लार्क इनमा व्यवस्थापनसँग छलफलमा थिइन् । नेपालगन्जबाट व्यवस्थापकीय साझेदार बन्न खोजेको क्लार्क इनलाई बर्दिया, रारा, खप्तड लगायतका ठाउँमा लगानीको साझेदारका रुपमा नेपाल प्रवेश गराउन खोजेको खुलासा राणाले गरिन् ।
७० बर्षदेखि हस्पिटालिटीको क्षेत्रमा सक्रिय क्लार्क इन कम्पनीले भारतमा मात्रै ९० वटा विभिन्न तारे होटल सञ्चालन गरेको छ । ‘हाम्रा मुख्यमन्त्रीसँग नेपालको निजी क्षेत्रले भेटघाट गरेर लिएको पहल नेपालमा लगानी गर्न सकारात्मक वातावरणको सुत्रपात हो’, क्लार्क इनका लखनउ एरिया म्यानेजर बैभव सिंहले दैनिक नेपालगन्जसँग भने, ‘सम्भवत जनवरीदेखि हामी नेपाल प्रवेश गर्छौ ।’ सपना क्लार्क इनका जेनरल म्यानेजर समेत रहेका सिंहले देशविदेशबाट अतिथिलाई नेपाल पुर्याउने र त्यहाँको प्राकृतिक सम्पदादेखि धार्मिक पर्यटकीय स्थल सम्म पुर्याउने काम आफुहरुले गर्ने बताए ।