नेपालगन्जका होटल व्यवसायीहरुको नयाँ नेतृत्व छनोटको रस्साकस्सी सुरु भएको छ । व्यवसायीहरुको छाता संगठन, होटल व्यवसायी संघ नेपालगन्ज बाँकेको आसन्न निर्वाचनका लागि उम्मेदवारी घोषणासंगै नेतृत्व छनोट रस्साकस्सी सुरु भएको हो ।
संघको आसन्न अधिवेशनबाट संघको नयाँ नेतृत्व चयन हुनेछ । त्यसका लािग आइतबार साझा समावेशी समुहले वर्तमान वरिष्ठ उपाध्यक्ष उमा ग्राण्डन डाँगीको नेतृत्वमा उम्मेदवारी घोषणा गरेकोे छ । बरिष्ठ उपाध्यक्षमा प्रेम खत्री, उपाध्यक्षमा गोपाल गिरी, महासचिवमा घनश्याम थापा क्षेत्री, सचिवमा रतन बुढाक्षेत्री, कोषाध्यक्षमा टिकाप्रसाद खनाल र सह–कोषाध्यक्षमा जुना कंडेल रहेका छन् ।
कल्पना लामा, कर्ण बहादुर शाही, राम गोपाल वैश्य, अनिता लामा, लक्ष्मीराज शाही, इन्द्र बहादुर थापा, दुर्गा कंडेल र राजेन्द्र गोविन्द सोनी सदस्य पदका लागि उम्मेदवार बनाइने संघका संस्थापक अध्यक्ष मदन विसीको अध्यक्षतामा आयोजित घोषणा सभामा समुहका संयोजक प्रेम खरेलले घोषणा गरे । ‘महिलालाई नेतृत्वमा ल्याउन गरिएको प्रयास स्वागतयोग्य छ,’ वरिष्ठ व्यवसायी श्यामलाल अर्यालको प्रमुख आतिथ्यमा भएको घोषणा कार्यक्रममा संस्थापक अध्यक्ष विसीले भने । उनले व्यवसायिक संस्थामा राजनीति नगर्न आव्हान पनि गरेका छन् ।
होटल व्यवसायी संघको १५ औं साधारणसभा तथा नवौं अधिवेशनका लागिका सर्वसम्मत नेतृत्व चयन गर्न खोजिएपनि राजनीतिकरण भएको गुनासो उपस्थितहरुको थियो । ‘अन्तिमसम्म सबैलाई मिलाएर जाने प्रयास हुनेछ, होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत रहेका प्यानल संयोजक खरेलले भने, ‘अर्काे प्यानल पनि घोषणा भएपछि बसेर एउटा सहमति खोज्ने प्रयास गरिनेछ ।’
संघका अध्यक्ष निम बहादुर थापाले अधिवेशनलाई सफल बनाउने तयारीसँगै व्यवसायिक हितका पक्षमा सक्रिय भएर लाग्न सक्ने कार्यसमितिका लागि सर्वसम्मत प्रयास गरिने बताएका छन् । ‘व्यवसायीहरु बिचको आपसी एकता नटुट्ने गरि निर्वाचनमा जानु आजको आवश्यकता हो,’ अधिवेशन तयारीमा जुटेका अध्यक्ष थापाले दैनिक नेपालगन्ज सँग भने, ‘यो प्यानल त्यो प्यानल भन्दा सक्षम कार्यसमिति सबैको साझा बनोस् भन्ने हाम्रो चाहना हो ।’
अर्काे तर्फ वर्तमान कार्यसमितिका महासचिव भीमलाल कंडेल र वरिष्ठ सदस्य रंगबहादुर खड्का बीच एक जनाको कमाण्डमा प्यानल तयारी भइरहेको सम्बद्ध व्यवसायीहरुले जनाएका छन् । ‘सकभर सर्वसम्मत बनोस् भन्ने चाहनाले टिम बनाएका छैनौं,’ प्रगतिशील पक्षका अगुवा समेत रहेका संघका पूर्व अध्यक्ष भाष्कर काफ्लेले दैनिक नेपालगन्ज सँग भने, ‘हामी व्यवसायिक एकता चाहन्छौं, व्यवसायी बिच निर्वाचनका नाममा ध्रुविकरण होइन ।’