साधारणसभा गर्दै महिला उद्यमी महासंघ
देशभरीका उद्यमी महिलाहरु नेपालगन्ज आइपुगेका छन् । उनीहरुको प्रतिनिधिमूलक पेशागत संगठन, महिला उद्यमी महासंघको १५औं साधारणसभामा सहभागी हुन उनीहरु नेपालगन्ज आइपुगेका हुन् । आज शुक्रबार औपचारिक कार्यक्रम बीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले साधारणसभा उद्घाटन गर्दैछन् ।
३५ बढी जिल्लामा बिस्तार भैसकेको महिला उद्यमी महासंघ थप १३ जिल्लामा यसैबर्ष बिस्तार गरिने महासंघका जिल्ला च्याप्टर कोर्डिनेटर बासन्ती प्रधानले जानकारी दिइन् । ‘जिल्लाले यसखालको साधारणसभा अर्गनाइज गर्नुनै हाम्रो लागि गौरवको कुरा हो’, नेपालगन्जमा बार्षिक साधारणसभा गर्न लागिएको जानकारी दिंदै कोर्डिनेटर प्रधानले भनिन्, ‘महिला उद्यमीहरुको सशक्तिकरण र संगठित गर्ने कुरामा महासंघ क्रियाशिल छ ।’
देशभरीका उद्यमी महिलाहरुलाई नेपालगन्ज च्याप्टरले बिहीबार साँझ भव्य स्वागत गर्यो । महिला उद्यमी संघ बाँकेकी महासचिव सावित्री बस्नेतका अनुसार, औपचारिक कार्यक्रम बीच उद्यमी महिलाहरुको स्वागत गरिएको हो ।
कार्यक्रममा महिला उद्यमी महासंघका अध्यक्ष शारदा रिजालले उद्यमी महिलाहरुको सशक्तिकरणका लागि महिला उद्यमशीलता विकास कोष सक्रिय भएको जानकारी दिइन् ।
कोषमा रहेको २६ करोड मध्ये लगानी भैसकेको जानकारी दिंदै केन्द्रीय अध्यक्ष रिजालले ५ करोड ४६ लाख रुपैयाँ फिर्ता पनि भैसकेको बताइन् । ‘त्यसमा पनि थप ४ करोड बढी उद्योग मन्त्रालयबाट योगदान ल्याएर ९ करोड बढी रुपैयाँ डेढ महिनाभित्रै वितरण गरिंदैछ’, अध्यक्ष रिजालले देशभरीका उद्यमी महिलाहरुलाई सम्बोधन गर्दै भनिन् ।
कोषको रकमलाई ७७ वटै जिल्लामा पुर्याउने प्रयास भैरहेको जानकारी दिंदै अध्यक्ष रिजालले जिल्ला, जिल्लाबाट माग पनि आइरहेको बताइन् ।
यसैबीच, दुई दिनदेखि उद्यमी महिलाहरुका लागि सञ्चालित महिला उद्यमशीलता विकास कोष बृद्धि सम्बन्धी वकालत सचेतना सबलीकरण र वित्तीय साक्षरता सम्बन्धी गोलमेच छलफल बिहीबार सकिएको छ ।