बाँकेका उद्यमी महिलाहरुले महिला उद्यमशीलता विकास कोषको ऋण सीमा बढाउन माग गरेका छन् । महिला उद्यमी महासंघ बुधबार नेपालगन्जमा आयोजना गरेको महिला उद्यमशीलता विकास कोष बृद्धि सम्बन्धी वकालत सचेतना सबलीकरण र वित्तिय साक्षरता सम्बन्धी गोलमेच छलफलमा बोल्दै उद्यमी महिलाहरुले कोषको सीमा बढाउन माग गरेका हुन् ।
सरकारले उद्यमशीलतामा महिलाहरुलाई प्रोत्साहन गर्नका लागि महिला उद्यमशीलता विकास कोष मार्फत ब्याज अनुदान तथा विना धितो ऋण प्रवाह गर्दै आएको छ । हाल उक्त कोषबाट ५ लाखसम्म ऋण लिन सकिने व्यवस्था गरिएको छ ।
अन्तरक्रियामा महिला उद्यमीहरुले महिलाहरुलाई उद्यमशिलतामा प्रेरित गर्न ऋणको सीमा बढाउन आवश्यक रहेको बताएका हुन् । ‘ऋणको सीमा कम भएकाले बढाउनु पर्छ भन्ने उद्यमी महिलाहरुको माग हो’, महिला उद्यमी संघ बाँकेका महासचिव सावित्रा बस्नेतले भनिन्, ‘ऋण सीमा १० देखि २५ लाखसम्म पुर्याइनु पर्छ ।’
उद्यमी महिलाहरुलाई कोषबारे जानकारी दिन र कोषबाट ऋण प्राप्त गर्ने विधिबारे जानकारी दिन आयोजना गरिएको अन्तरक्रियामा सहभागी उद्यमी महिलाहरुले व्यवसायमा लगानीका लागि भोग्नु परिरहेको समस्याबारे धारणा राखेका थिए ।
देश संघीयतामा गएकाले अब स्थानीय तहले महिलाहरुलाई उद्यमशीलतामा उत्प्रेरित गर्ने खालको नीति तथा कार्यक्रम ल्याउनु पर्ने धारणा अन्तरक्रियामा महिला उद्यमीहरुले राखेका थिए । उनीहरुले आर्थिक रुपमा महिलाहरुलाई बलियो बनाउन स्थानीय तहले पनि त्यसकिसिमको नीति बढाउन आवश्यक रहेको धारणा राखेका हुन् ।
कार्यक्रममा सहजीकरण गर्दै सिचन श्रेष्ठले विना धितो र ब्याज अनुदान भएकाले सोही परियोजना देखाएर अर्को बैंकबाट कर्जा लिन नहुने तर्फ सचेत गराए । अन्तरक्रियामा उद्यमी महिलाहरुले कर्जा सरलीकरण नरहेको र कोषबारे उद्यमी महिला अनभिज्ञ रहेको व्यापक प्रचारको खाँचो औंल्याए । अन्तरक्रियामा आज बिहीबार कोषबाट ऋण लिने प्रक्रियाको बारेमा व्यवहारिक अभ्यास गराउने आयोजकले जानकारी दिएको छ । वीन बाँकेको सहआयोजनामा भएको कार्यक्रम महिला उद्यमी महासंघका अध्यक्ष शारदा रिजालको अध्यक्षता र बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको प्रमुख आतिथ्यतामा भएको हो ।