संस्थानको गोदममै थन्कियो जापानी चामल, यस बर्ष थप आयो

दुर्गम पहाडी जिल्ला तथा हिमाली जिल्लाका उपभोक्ताका लागि जापानी अनुदानको चामल नेपालगन्ज आइपुगेको छ । जापान सरकारले आफ्ना जनता मार्फत संकलन गरी नेपालीहरुका लागि पठाउँदै आएको चामलको एउटा हिस्सा नेपालगन्ज आइपुगेको हो ।

 
‘फ्रम द पिपुल अफ जापान’लेखिएको जापानी झण्डा अंकित बोरामा झण्डै १० हजार क्वीन्टल धान नेपालगन्ज आइपुगेको हो । ‘यसबर्षका लागि २५ हजार क्वीन्टल चामल नेपालगन्ज र सुर्खेतका लागि छुट्याइएको छ’, नेपाल खाद्य संस्थान अञ्चल कार्यालय भेरीका नेपालगन्ज स्थित कार्यालय प्रमुख हरि प्रसाद जोशीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसमध्ये १२ हजार ५ सय क्वीन्टल चामल नेपालगन्ज स्थित गोदाममा राखिनेछ ।’ उनका अनुसार, त्यसमा मंगलबारसम्म झण्डै १० हजार क्वीन्टल चामल नेपालगन्ज आइसकेको छ ।

 
दैनिक नेपालगन्ज संवाददाता संस्थानको नेपालगन्ज स्थित गोदाममा पुग्दा मजदुरहरु ट्रकबाट धमाधम चामल अनलोड गर्दै थिए । जापानी झण्डा अंकित बोरामा रहेको चामल अनलोड गरिरहँदा गोदाममा ठूलो मात्रामा अघिल्लो बर्षको चामल स्टक देखियो । ‘अघिल्लो बर्षको चामल यो बर्ष बिक्री गरिनेछ’, चामल बिग्रिंदैन ? संवाददाताको प्रश्नमा कार्यालय प्रमुख जोशीले चामल देखाउँदै भने, ‘बिग्रिदैन ।’

 
केही महिना अघि मात्र नेपाल खाद्य संस्थानले जाजरकोट पठाएको जापानी चामल अपेक्षाकृत बिक्री गर्न सकेको थिएन । स्थानीय उपभोक्ताले चामल महंगो र नमिठो भन्दै नकिनेपछि संस्थानको जाजरकोट घोगी स्थित डिपोले एक बर्षदेखि ९ सय ३६ क्वीन्टल चामल थन्किएको जानकारी गराएका थियो । उक्त डिपोले बर्षमा ४ क्वीन्टल मात्रै धान बिक्री गरेको थियो ।

 
जापान सरकारले नेपाललाई सन् २०१० सम्म दिँदै आएको खाद्यान्न सहयोग बीचमा केही बर्ष रोकिएपनि गत बर्षबाट पुनः सुरु गरेको थियो । अघिल्ला बर्षहरुमा १ लाख क्वीन्टल चामल पठाउने जापान सरकारले पछिल्ला आधा कटौती गरी ५० हजार क्वीन्टल चामल पठाउन थालेको हो । त्यसमध्ये २५ हजार क्वीन्टल काठमाडौंमै राखेर सरकारले आधा चामल नेपालगन्ज र सुर्खेत पठाउने गरेको संस्थानले जनाएको छ । चामल माग अनुसार, भेरी र कर्णालीका विभिन्न दुर्गम तथा हिमाली जिल्लामा सरकारले तोकेको मूल्यमा संस्थानले डिपो मार्फत बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया