‘घरघरमा दुध पुर्याउन सकिन्छ भने तरकारी किन नसकिने ?’, सोमबार एकाविहानै खजुरा–२ सीतापुर गौघाट स्थित घरछेउ लगाइएको विशाल नेट मूनि बनाइएको टनेल छेउ उभिएर टिएस ठकुरीले दैनिक नेपालगन्जसँग भने, ‘सीतापुरले नेपालगन्जका लागि ताजा र अर्गानिक तरकारी उत्पादन गर्दैछ ।’
लामो समयदेखि पत्रकारितामा सक्रिय उनी मेन स्ट्रिम जर्नलिज्ममा रमाउन छोडेर काठमाडौंबाट गतबर्ष नेपालगन्ज फर्किएदेखि कलम र कोदालो दुवै चलाउँदै आएका छन् । ‘तरकारी खेतीमा कहाँ तपाई फेरि अक्षरको खेती जोड्नुहुन्छ ?’, पत्रकारितामा रमाउन छोडेर किन यति कष्टको काम रोजेको भन्ने प्रश्न टुङ्ग्याउन नपाउँदै ठकुरीले एक सिजनको तरकारी खेती बजार पुर्याइसकेको सुनाउन भ्याए ।
मौलाकाली एग्रोफार्म मार्फत दुई विगाह बढी जग्गामा ठकुरीले तरकारी खेती व्यवसायिक रुपमा अगाडि बढाएका छन् । ‘नेट भित्र भएकाले त्यसैपनि हाइजेनिक छ’, नेपालगन्जमा भारतबाट आउने विषादीयुक्त तरकारी खानु भन्दा गाउँबाट सोझै तरकारी लगेर खानु स्वस्थकर हुने देखेर आफु यतातिर आकर्षित भएको सुनाउँदै ठकुरीले भने, ‘किटाणुजन्य संक्रमण भैहाल्यो भनेपनि हामी सकभर जैविक औषधी मार्फत निर्मलिकरण गर्दै आएका छौं ।’ ठकुरीका अनुसार, सकभर विषादी प्रयोग नगर्ने प्रतिबद्धता सहित अगाडि बढिएको छ ।
खजुरामा तरकारी खेती बिस्तारै व्यवसायिक आकार लिंदै छ । त्यसमा पनि सितापुर गौघाट क्षेत्रमा धेरैले व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेको देखिन्छ ।
सीतापुरमै लाल बहादुर खत्री, गेहेन्द्र धिताल लगायतका कृषि उद्यमीहरुले १० कठ्ठादेखि ३ विगाहसम्म क्षेत्रफलमा तरकारी खेती लगाएका छन् । ‘त्यसैले मैले भनेको यहाँको हाइजेनिक र ताजा तरकारी संकलन गरेर नेपालगन्जमा खुलेका ठूलाठूला तारे होटलदेखि उपभोक्ताका घरघरसम्म पुर्याउन सकिन्छ’, ठकुरीले व्यवसायिक सम्भावना औंल्याउँदै भने ।
यतिबेला उनको मौलाकाली एग्रोफार्ममा गोलभेडा, काँक्रा, भान्टा, लौकी, भेडे खुर्सानी तयार अवस्थामा छ । पहिलो लटमा काँक्रा बेचेका ठकुरीले गाजर, मुला लगायतका उत्पादनहरु नियमित बिक्री गर्दै आएका छन् । ‘टिपेको एक घण्टामा भान्सामा पुर्याउन सकिन्छ भने यो जतिको सुविधा नेपालगन्जका तारे होटलका लागि के हुन सक्छ’, बजारको सुनिश्चितता भए सीतापुर गौघाट तरकारी उत्पादनको हबका रुपमा विकास गर्न सकिने सम्भावना देखिएको औंल्याउँदै ठकुरीले भने ।
पहिलो लटको उत्पादनमा फर्ममै गएर नेपालगन्जका व्यवसायीहरुले काँक्रा खरिद गरेका थिए । ‘डिमाण्ड यसरी बढ्यो कि मौसम नसकिंदै काँक्रा सकियो’, उत्पादनको सही मूल्यका लागि बिचौलिया व्यवसायीलाई भन्दा सोझै उपभोक्तालाई सहुलियतका साथ घरघरमै पुर्याइदिने सोंच पलाएको सुनाउँदै ठकुरी भन्छन्, ‘प्रत्येक नेपाली उत्पादनसँग नजोडिएसम्म समृद्धि कसरी सम्भव छ ।’ हुनपनि पत्रकारीतामा स्नातकोत्तर सकेर राजधानीको नामी ब्रडसिट दैनिक पत्रिकाको डेस्क सम्हालेका टिएस ठकुरी यतिबेला बाँकेको नेपालगन्जबाट बर्दिया जिल्लाको सीमा क्षेत्रमा पर्ने गौघाट पुगेर दैनिक कुटो, कोदालो सम्हालिरहेका छन् । ‘प्रत्येक आंैलाले माटो नछोएसम्म समृद्धिका गफ दिएर परिणाम आउँदैन’, राम्रा स्तम्भकार मध्ये गनिन थालेका पत्रकार ठकुरी आफुलाई कृषि उद्यमीका रुपमा चिनाउन उद्दत भैरहँदा नेपालगन्ज चिनाउने उनको अभियान अन्तर्गत नेपालगन्ज म्याराथन, प्रधानमन्त्री कप महिला भलिबल, नेपालगन्ज फिल्म फेस्टिबल जस्ता इभेन्टका लागि दैनिक ओहोरदोहोर गर्दा थाक्दैनन् ।
‘अब साधनस्रोतको प्रयोग गरेर सीतापुर गौघाटको तरकारी उत्पादनलाई नेपालगन्जका तारे होटल हुन् वा हाइजेनिक तरकारी खान चाहने उपभोक्ताका घरमा पुर्याउने योजना बनाउँदैछु’, क्रियटिभ बुक्स मार्फत पुस्तक प्रकाशनका दौडमा कुदिरहेका पत्रकार ठकुरीले माटोसँग जोडिएका योजना सुनाउँदै भने ।
बजारमा नेपालकै तरकारी
हिरिमिनियाका किसान भारततर्फ निर्यात पनि गर्न सफल
कुनै समय भारतबाट तरकारी नआउने हो भने बाँकेमा तरकारीको अभाव हुने गर्दथ्यो । तर, विस्तारै तरकारीमा परनिर्भरता हट्दै गएको छ । जिल्लाका विभिन्न ठाउँमा गरिएको तरकारी खेतीका कारण भारत तर्फको परनिर्भरतामा कमी आउँदै गएको छ । भने जिल्लाबाट अन्य जिल्लामा तरकारी निकासी समेत हुन थालेको छ ।
नेपालगन्जको रानी तलाउमा पुरानो तरकारी बजारमा छ । जुन भारतीय तरकारीकै भरमा चल्ने गर्दथ्यो । तर, पछिल्ला दिनमा भारतीय तरकारीलाई नेपाली तरकारीले विस्थापित गर्न सफल भएको छ । ‘दैनिक १५÷२० क्वीन्टल तरकारीको कारोबार हुन्छ’, कृषि उपज बजार सञ्चालक समिति रानी तलाउकी अध्यक्ष मोतिसरा थापा भन्छिन्, ‘बजार फष्टाउँदै गएको छ ।’
अहिले रानी तलाउ मात्रै होइन विपीचोकमा रहेको तरकारी मार्केट तथा साइकलमा बिक्री गरिने तरकारी अधिकांस नेपालकै उत्पादन हुने गर्दछन् । ‘रानी तलाउमा भारतीय तरकारी न्यून छ अहिले’, मोतिसरा भन्छिन्, ‘नेपालकै तरकारीले बजार धानिरहेको छ ।’
बाँकेको हिरमिनियामा सयौं हेक्टर जमिनमा तरकारी खेती हुन थालेको छ । हिरमिनियाका कृषक सहकारीमा आबद्ध भएर तरकारी खेती गर्दै आएका छन् । तरकारीले राम्रो बजार पाउन थालेपछि तरकारी खेती गर्नेहरुको संख्या बढ्दै गएको हो । कृषकहरु खानाका लागि पुग्ने धान रोपेर बाँकी जग्गामा तरकारी तथा मकै लगाउने गरेको बताउँछन् ।
‘स्थानीय उत्पादन हुन थालेपछि तरकारीमा परनिर्भरता घट्दै गइरहेको छ । स्थानीय किसान व्यावसायिक रुपमा तरकारी खेतीतर्फ आकर्षित हुँदै गएपछि तरकारी आयातमा कमी आएको पाइन्छ,’ स्थानीय अनन्त शर्मा भन्छन् ।
‘उत्पादनको बजारीकरणमा कुनै समस्या छ’, महातरकारी उत्पादन सहकारी संस्था लिमिटेड हिरमिनियाका अध्यक्ष निरञ्जन सिंह सोडीले दैनिक नेपालगन्जसँग भने । उनी हिरमिनियामा उत्पादित तरकारी जिल्ला बाहिर मात्रै नभएर भारतीय बजारमा समेत बेच्ने गरेको बताउँछन् ।
हिरमिनियामा उत्पादित तरकारीको माग बर्दिया, सुर्खेत, दाङ लगायतका जिल्लामा पनि छ । ‘ग्राहकसँगको सम्पर्कमा सिधै बाहिरी जिल्ला तकारी पठाउने गरेका छौं’, सोडी भन्छन् । बेमौसमी तरकारी खेती हुने गरेपछि लौकी, भिन्डी, करेला र सागसब्जी जस्ता तरकारीहरु भारतको रुपैडिहा स्थित सब्जीमण्डिमा समेत लगेर बेच्ने गरिएको छ । ‘भारत सरकारले कृषकलाई धेरै सुविधा दिएकाले प्रतिस्पर्धा गर्न चाही समस्या हुने गरेको छ’, सोडी भन्छन् । ‘तरकारी खेतीले भारतीय तरकारीलाई विस्थापित मात्रै गरेको छैन अर्थोपार्जनमा पनि सघाएको छ’, सोडी भन्छन्, ‘तर, स्थानीय तहबाट सहयोग पाउन सकेका छैनौं ।’ जिल्ला कृषि विकास कार्यालयले तरकारीको बिउमा अनुदान दिने गरेको उल्लेख गर्दै सोडीले भने, ‘स्थानीय तहसँग आलुको बिउका लागि हालै गरिएको अनुरोध स्वीकार गरिएन ।’ उनी तरकारी खेती बढाउँदै लैजाने हो र भारतीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने हो भने सरकारले मल, बिउमा अनुदान दिनु पर्ने धारणा राख्छन् ।
हिरमिनिया गाउँलाई जिल्ला कृषि विकास कार्यालयले तरकारी उत्पादनका लागि पकेट क्षेत्र बनाएपछि तरकारी उत्पादन ह्वात्तै बढेको हो । बाँकेका कृषकले करेला, आलु, मुला, भान्टा, परबल, कोसेबाली (सिमी, बोडी, मटर), फर्सी, काउली, बन्दा, काँक्रो, भेडेखुर्सानी, हरियो खुर्सानी, गोलभेडा, भिन्डी, प्याज, लसुन, काउली, बन्दा खेती गर्दै आएका छन् । बाँकेमा झण्डै ७ हजार हेक्टरमा तरकारी खेती भैरहेको अनुमान छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बाँकेमा स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषि गाउँ छनोट गरी प्रवद्र्धनको योजना रहेको बताए । हरेक प्रदेश निर्वाचन क्षेत्रमा एउटा गाउँलाई प्रदेश सरकारले कृषि गाउँ छनोट गर्ने ढकालले जानकारी दिए । ‘छनोट गरिएका गाउँमा प्राविधिक तथा पूर्वाधार विकासमा सहयोग गरिनेछ’, उनले भने । प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एक वटाका दरले आगामी आर्थिक वर्ष प्रदेश स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गर्न रु २६ करोड रकम विनियोजन गरेको छ । यसबाट कृषि क्षेत्रतर्फ युवा वर्गको आकर्षण बढ्न गई कृषि क्षेत्रको उत्पादकत्व बढ्ने अपेक्षा गरिएको छ ।