आजबाट दशैंका लागि ‘सस्तो बजार’

एकै छातामूनि सहुलियत दरका झण्डै ३ हजार उपभोग्य सामाग्री उपलब्ध गराउने व्यवस्था मिलाइएको छ

आज बुधबारबाट नेपालगन्जमा दशंैका लागि ‘सस्तो बजार’ लाग्दैछ । नेपालगन्ज वितरक संघले आज घटस्थापनाको अवसर पारेर दशैं सस्तो बजार सञ्चालन गर्न लागेको हो । ‘उपभोक्ता हितका लागि यो अहिलेसम्मकै ठूलो अवसर हो’, मंगलबार राती बागेश्वरी मन्दिर परिसरमा दशैं बजारको अन्तिम तयारीमा जुटेका वितरक संघका अध्यक्ष अमित कुमार बस्नेतले दैनिक नेपालगन्जसँग भने ।

 
नेपालगन्ज उद्योग वाणिज्य संघले दशैं सस्तो बजारको प्रवद्र्धन गरिरहेको छ । नेपालगन्ज उपमहानगरपालिका र वाणिज्य कार्यालयले सरकारी साथ दिएको दशैं सस्तो बजारका लागि नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघ र मदिरा व्यवसायी संघ बाँकेले सहयोगी हातको भूमिका निर्वाह गरिरहेको वितरक संघले जनाएको छ ।

 
‘स्वदेशको पूँजी स्वदेशमै खर्च गरौं, खुशी नेपाली समृद्ध नेपाल बनाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ आजबाट फुलपातिसम्म सञ्चालन हुने दशैं सस्तो बजारमा झण्डै तीन हजार दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध हुनेछन् । ‘उपभोक्ताहरुले एकै ठाउँमा यतिधेरै सामाग्री अहिलेसम्मकै सस्तो दरभाउमा प्राप्त गर्नेछन्’, कम्प्युटर बिलिङ सिष्टमबाट व्यवस्थित बनाउन जुटिरहेका संघका कोषाध्यक्ष उपकार टण्डनले भने, ‘यसबाट उपभोक्ताले जति लाभ उठाउन सक्छन् त्यसका आधारमा आगामी बर्ष पनि अझ भव्य र बृहत सहभागितामा दशैं सस्तो बजार सञ्चालन गरिनेछ ।’

 
उपभोक्तालाई सहज र सस्तो दरमा राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीका उत्पादन स्थानीय बजारमै उपलब्ध गराउने उद्देश्यले सस्तो बजार सञ्चालन गर्न लागेको संघले खासगरी सीमापारी रुपैडिहा जाने बहुसंख्यक उपभोक्तालाई नेपालगन्जमै रोक्न विशेष अभियान थालेको हो । ‘रुपैडिहामा सस्तो पाइन्छ भन्ने भ्रम सस्तो बजारमा आउने हरेक उपभोक्ताले महसुस गर्नेछ’, संघका संस्थापक अध्यक्ष ललित कुमार रौनियारले भने । सस्तो बजार व्यवस्थापनमा सक्रिय जुटिरहेका रौनियारले दैनिक नेपालगन्जसँग भने, ‘अहिलेको तुलनामा आगामी बर्ष अझ धेरै उपभोग्य वस्तुहरु यहाँ राख्न सकिनेछ ।’

 
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय कुमार टण्डनदेखि मदिरा व्यवसायी संघ बाँकेका पदाधिकारीहरुसम्म सस्तो बजार सिगार्नमा व्यस्त भेटिए । ‘हामी वस्तुगत सहयोगीका दृष्टिले यो बजारलाई साथ दिइरहेका छौं’, मदिरा व्यवसायी संघका अध्यक्ष राजेशराज श्रेष्ठले दैनिक नेपालगन्जसँग भने । उनीसँगै महासचिव मिम बहादुर सिंह ठकुरी पनि सस्तो बजार तयारीमा भेटिए । यद्यपी संघले मदिराजन्य पदार्थहरु सस्तो बजारमा उपलब्ध गराएको छैन । ‘सबैको साथमा सस्तो बजारलाई भव्यता दिन खोजिएको हो’, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व महासचिव समेत रहेका मदिरा व्यवसायी संघका सल्लाहकार विष्णु लामिछानेले भने ।

 
‘वास्तवमा नेपाली उपभोक्ताका लागि यो सन्देशमूलक अभियान हो,’ वितरक संघका महासचिव माधव प्रसाद अर्यालले सीमापारी जाने स्वदेशी उपभोक्ताहरुलाई नेपालगन्ज बजारमै रोक्न जागरण अभियान सुरु गरिएको जानकारी दिंदै भने, ‘आम नेपाली उपभोक्ताले यो बुझ्न जरुरी छ कि बहुराष्ट्रिय कम्पनीका अधिकांश उत्पादनहरु रुपैडिहा भन्दा नेपालगन्जमा सस्तो छ ।’ ‘भारतीय कम्पनीकै उत्पादनहरु पनि नेपालमा सस्तो पाइने कुराको जानकारी हामी उपभोक्तालाई यही दशैं सस्तो बजारबाट गराउँदैछौं’, कोषाध्यक्ष टण्डनले भने ।

 
नेपालगन्ज वितरक संघका अनुसार, दैनिक उपभोग्य सामाग्रीहरु सबै एकैठाउँबाट खरिद गर्ने व्यवस्था मिलाइएको सस्तो बजारमा कतिपय उत्पादनमा कम्पनीले सोझै विभिन्न अफरहरु पनि गरेका छन् । ‘बाँकेबासीले यो बजारबाट धेरै भन्दा धेरै फाइदा उठाउन् भन्ने हाम्रो चाहना हो’, अबेररातीसम्म तयारीमै भेटिएका वितरक संघका अध्यक्ष अमित बस्नेतले भने ।

प्रतिक्रिया

प्रतिक्रिया