खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले स्थानीय तह असफल भए संघीयता नै असफल हुने भन्दै करका नाउँमा स्थानीय तहलाई असफल पार्ने खेल भैरहेको बताएका छन् । खजुरा गाउँपालिकाका प्रत्येक नागरिकलाई करको दायरामा ल्याउन अभियान सुरु गरेका प्रमुख कक्षपतिले आइतबार कर सचेतनासम्बन्धी दुई दिने अभिमूखिकरण समापनलाई सम्बोधन गर्दै भने, ‘सही ढंगले करको कार्यान्वयन हुन सके ठूलो संख्यामा नागरिक करको भारबाट मुक्त हुनेछन् ।’ उनले ‘मुठ्ठीभर व्यक्तिले करको दायरामा आउन गरेको आनाकानीका कारण’ सामान्य करदातासमेत भ्रममा परेको टिप्पणी गरे ।
खजुरा गाउँपालिकालाई नमूना गाउँका रुपमा लक्ष्य अघि सारिएको भन्दै प्रमुख कक्षपतिले भने, ‘त्यसका लागि हामी पक्ष, प्रतिपक्ष भएर होइन सिङ्गो गाउँपालिका एकमना एकताका साथ लागि परेका छौं ।’ खजुराले प्रत्येक नागरिकलाई करका बारेमा प्रशिक्षित गरी उनीहरुकै समझदारीमा एकीकृत सम्पत्ति कर लागु गर्ने योजना अघि सारेको छ । त्यसका लागि दुई दिनसम्म सम्पत्ति कर सम्बन्धी अभिमूखिकरण गरिएको खजुरा गाउँपालिकाका प्रेस सल्लाहकार दुर्गा रोकायले जानकारी दिए ।
कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख कक्षपतिले कुनै पनि करदाताले विरोध नगर्ने गरी सम्पत्ती कर लागू गरिने बताए । उनले करबारे अहिले जनतामा ठूलो भ्रम फैलाइएको बताउँदै त्यो भ्रम चिरेर जनताकै सहमतिमा सम्पत्ती कर लागू गरिने उल्लेख गरे । भूमाफिया, दलाल तथा कर छली गर्नेहरुले करबारे बढी भ्रम फैलाए पनि जनता भने आफ्नो ठाउँको विकास र समृद्धिका लागि आवश्यक कर बुझाउन तयार रहेको बताइएको छ ।
प्रेस सल्लाहकार रोकायका अनुसार, अभिमूखिकरण पछि खजुरा क्षेत्रभित्र करबारे साझा धारणा आउन थालेको छ । खजुरा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा, विज्ञ समूहका सदस्यलगायत वीच नेपालगन्जमा भएको दुई दिने सम्पत्ति करसम्बन्धी अभिमुखीकरणपछि यस्तो धारणा बाहिर आएको हो ।
अभिमूखिकरणले गाउँपालिकाले लगाउने करबारे रहेको भ्रमहरु समेत चिरिएको र अब लगाउने सम्पत्ति करबारे पनि साझा धारणा बनेको सहभागीले बताएका छन् । दुई दिने प्रशिक्षणका क्रममा सहभागीले आफुहरुले खजुरा क्षेत्रका करदातालाई सम्पत्ति करबारे जानकारी दिने बताए । नागरिक अगुवा धनीराम वलीले अब कर तिर्नलाई विधि बनाएर जानु पर्ने बताए । उनले जनताको घरदैलोसम्म करका विविध पक्षबारे जानकारी दिन आफुहरु साझा धारणा बोकेर जाने बताए । अभिमूखिकरणमा सहभागी हजुरा बमले करबारे राखिएको प्रशिक्षण प्रभावकारी र महत्वपूर्ण रहेको बताइन् । राजनीतिकर्मी सज्जल थापाले करबारे धेरै भ्रम रहेको र खजुराले यस्ता भ्रमहरुलाई चिर्दै गएको बताए ।
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले करबारे भएको प्रशिक्षणले जनतामा फैलाइएको भ्रम हट्ने विश्वास व्यक्त गरे । करबारे जानकार कोपिला पोख्रेल र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव केशव पार्धेले सहभागीलाई प्रशिक्षण दिएको कार्यक्रममा उपप्रमुख एकमाया विकलगायतको सहभागिता रहेको थियो ।
एकीकृत सम्पत्ति कर लागु गर्न स्थानीय स्तरमा अवरोध उत्पन्न भएपछि खजुराले अभिमूखिकरण मार्फत कर सचेतनाका लागि अभियन्ता तयार गरेको हो । ‘अभिमूखिकरणबाट तयार भएका अभियन्ताहरु टोलटोलमा पुगेर करको महत्व र यसले पार्ने दुरगामी प्रभावपारे सचेतना फैलाउनु हुनेछ’, गाउँपालिका प्रमुख कक्षपतिले दैनिक नेपालगन्जसँग भने ।