रुपा गहतराज
नेपालगन्जको एकलैनी बजार । यो नयाँ बनाइएको बजार होइन । नेपालगन्जको इतिहाससँगै यसको इतिहास पनि जोडिएको छ । एकलैनी अर्थात्, एकै लाइनमा जोडिएका पसलहरु । पाइलैपिच्छे फरक फरक सामान पाइने पसल । कस्मेटिक देखि चुरा पसल, कपडादेखि जुत्ता र चप्पलका पसल एक लाइनमा छन् ।
नेपालगन्ज भित्रको साँघुरो गल्ली भित्रको बजार । नेपालगन्जको पुरानो बजार एकलैनी बजार एकनासको बजारले परिचित छ । जहा सस्ता र राम्रा सबै चिज पाइन्छन् । अनि किनमेल गर्नेको ताँती लाग्छ । जुन बजार नेपालगन्जको सबैभन्दा पुरानो बजार पनि हो । समान किन्न यहाँको पुरानो बजारको रुपमा एकलैनी बजारलाई मानिन्छ । त्यसै गरि प्रमुख बजारका रुपमा सदरलाइन, त्रिभुवन चोक, बि.पी. चोक, धम्बोजी चोक, घरबारी टोल तथा सुर्खेतरोडलाई मानिन्छ ।
एकलैनीमा बिशेष गरी कस्मेटिक अनि खाद्यान्नका सामानहरु पाइन्छ । एक हिसाबले गृहणीहरुको बजार भन्दा पनि फरक पर्दैन, एकलैनीलाई । सबै समान एउटै बजारमा पाइने भएकाले पनि सबैको रोजाइमा एकलैनी बजार पर्छ । जुत्ता चप्पल देखि खाद्यान्न कपडा समेत एकलैनी बजारमै पाइन्छ । एकलैनी बजारका ब्यापारी खासै फुर्सदिला हुँदैनन् । झन् चाडबाडको बेला खाना खाने फुर्सद हँुदैन ।
एकलैनीको पुरानो पसलको रुपमा रहेको निगम जनरल स्टोर २० बर्ष देखि आशिष निगम चलाइरहेका छन् । एकलैनीमा कस्मेटिक सामानको किनबेच नै बढि हुने उनले बताए । निगम भन्छन् ‘पहिलाको तुलनामा कस्मेटिक समानको प्रयोग भन्दा आर्युवेदिक सामाग्री प्रयोग बढेको छ ।’ एकलैनीमा सबै भन्दा बढि कस्मेटिकका पसल छन् । कस्मेटिक पसलका सन्चालक ५५ बर्षीय अनु सिद्धीकीका अनुसार, पसलहरु बढ्दै गएपछि ब्यापारमा प्रतिस्पर्धा पनि बढ्दै गएको छ । अर्काे चलेको पसल हो, राजु कस्मेटिक । राजुले आठ हजारको घर भाडा तिरेर करिब दश बर्ष देखि कस्मेटिक पसल चलाइरहेका छन् । बजार बढदै गए पछि ब्यापारीहरुले पसल पनि बढाएका छन । राजुले एक लाख बाट सुरु गरेको कस्मेटिक पसल दश लाखको लगानी थपिसकेका छन् ।
सुरुमा चप्पलको ब्यवासयले परिचित एकलैनीमा अहिले आएर चप्पलका पसलहरु थपिएका छन् । चप्पल जुत्ता ब्यवसाय अजिज अहमद सिद्दिकी ३० बर्ष देखि एकलैनीमा पसल चलाइरहेका छन । उनले भने ‘सुरुमा २० वटा जति पसल थिए । अब बिस्तारै २ सय भन्दा बढि पसलहरु थपिएका छन् ।’ एकलैनी बजारमा एक सय देखि २ हजार भन्दा बढीका चप्पल जुत्ता पाइने उनले बताए । उनले दैनिक नेपालगन्ज भने ‘सस्तोमा दिने प्रतिस्पर्धाले नै एकलैनीको मार्केट चलिरहेको छ ।’
नेपालगन्ज एकलैनीको एक जुत्ता पसलमा भेटिएकी नेपालगन्ज उपमहानगरपालिका १० की रस्मिता पौडेल सस्तो र राम्रो सामान पाइने भएकाले एकलैनी सामान किन्न आउने गरेको बताइन् । उनले दैनिक नेपालगन्ज सँग भनिन् ‘त्यही समान बाहिर किन्दा महँगो तर एकलैनीमा कम दाममा पाइन्छ । अनि रुपैहिडियामा जस्तो झन्भट पनि हँुदैन ।’ उपमहानगरपालिका १० आदर्शनगरकी मधु भुषालको बजारका लागि एकलैनीनै रोजाइमा पर्ने गरेको बताइन् । ‘सबै चिज एउटै ठाउमा पाइन्छ’ उनले भनिन् ‘पसल खोज्नुपर्ने झन्झट हुँदैन ।’
नेपालगन्जमा सल्यान, रुकुम, रोल्पा ,दैलेख, सुर्खेतलगायत जिल्लाबाट ठूलो संख्यामा मानिस सामान किनमेल गर्न आउँथे’, ६६ वर्षीय बलराम हेमकारले एकलैनीबारे अनुभव सुनाए, ‘सबै भन्दा बढी लत्ताकपडा, खानेकुरा, अनि अरु घरका लागि सबै सामानहरु पाइन्थ्यो त्यहाँ ।’ सबैभन्दा बढी किनमेल हुने सामान थियो, नुन र लत्ताकपडा केही वर्षलाई पुग्ने गरी ढिके नुन बोकेर लैजान्थे । यसरी सामान किन्न आउनेलाई स्थानीयले हटारु भन्थे । नेपालगन्जका व्यापारीले आफ्नो सामान बेच्न हटारुलाई बस्ने व्यवस्था पनि मिलाएका हुन्थे ।
पूर्व–पश्चिम राजमार्ग बनेपछि त नेपालगन्ज पश्चिम नेपालकै प्रमुख व्यापारिक केन्द्र नै बन्यो । होलसेल सामानका लागि नेपालगन्ज व्यापारिक हब बन्यो । जानकारहरुका अनुसार, एक सय ६० वर्ष अघि नै पश्चिम तराइको प्रमुख बजार नेपालगन्जलाई भारतको लखनउ शहर जस्तै व्यवस्थित र सुन्दर बनाउने कल्पना गरिएको थियो । तर, दीर्घकालीन योजना अभावमा नेपालगन्ज प्रतिदिन अव्यवस्थित बन्दै गयो । अहिले बिस्तारै ब्यबस्थित बन्दै छ ।
३ लाख बढी जनसंख्या रहेको नेपालगन्ज उपमहानगरको एकलैनी बजार भने अहिले केही अस्तव्यस्त बन्दै गएको छ । निकै साँघुरा सडक हिड्न लायक छैनन् । तर, पनि यो सदारबहार चलिरहने एकलैली बजार आफ्नै गतिमा छ । योजनाबद्ध विकास र विस्तारमा सरोकारवालाको ध्यान पुग्न सके एकलैनीले आफ्नो मौलिक छवि उजिल्याउँदै जानेछ ।