सहकारीको नीतिगत सुधारमा उदासिनता

नेपालगन्ज उपमहानगरपालिकाले सहकारी संस्थाको नीतिगत सुधारका लागि सम्बद्धहरुको उदासिनता औंल्याएको छ । शनिबार वेष्टर्न बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारणसभा समुद्घाटन गर्दै नगर उपप्रमुख उमा थापामगरले उक्त कुराको खुलासा गर्दै भनिन्, ‘स्थानीय तहले कानुन बनाउन सम्बद्धहरुको तत्परता देखेन ।’

 

 
उपप्रमुख थापाका अनुसार, डिभिजन सहकारीले नेपालगन्ज उपमहानगरपालिकालाई दायरा भित्रका १ सय ९ वटा सहकारी संस्थाको जिम्मेवारी हस्तान्तरण गरेको छ । ‘फाइल मात्रै हस्तान्तरण भयो’, उपप्रमुख थापाले भनिन्, ‘अन्य सबै विषयहरुको ज्ञान अभावले पछिल्लो एक बर्ष कुनै काम हुन सकेन ।’ कानुन नबनाइ नहुने अवस्थामा केन्द्रबाट भएको सहजीकरणका आधारमा कानुन बनाइएको जानकारी दिंदै उपप्रमुख थापाले नयाँ व्यवस्था अनुसार, सहकारी संस्थाहरुको नीतिगत सुधारका लागि कुनै पनि व्यक्ति वा संस्थाले अग्रसरता नदेखाएको बताइन् । ‘सहकारीसँग सहकार्य गरेर स्थानीय सरकार अगाडि बढ्न तयार छ’, उपप्रमुख थापाले सहकारीकर्मीहरुलाई सम्बोधन गर्दै भनिन्, ‘तर, त्यसका लागि कहींकतैबाट कुनै कार्ययोजना, सुझाव वा दिशा निर्देशन प्राप्त हुन सकेन ।’ अन्तिम अवस्थामा केन्द्रको निर्देशन बमोजिम अगाडि हिड्नु परेकाले नीतिगत जटिलता फुकाउन थप सुधारका लागि आफुहरु तयार रहेको उपप्रमुख थापाको भनाइ छ ।

 

 
उपप्रमुख थापाले सहकारीहरुले आम जनताको विश्वास आर्जन गर्न अझै आफुलाई व्यापक सुधार गरेर अगाडि बढ्नु पर्ने आवश्यकता पनि औंल्याइन् । ‘तुलनात्मक रुपमा सुधार हुँदै गएपनि अझै विश्वासको वातावरण बनाउन सहकारीहरुले धेरै मेहनत गर्नुपर्छ’, उपप्रमुख थापाले सहकारीहरुको सशक्तिकरणका लागि क्षमता वृद्धि र नियमन दुवैमा उपमहानगरपालिकाले आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताइन् ।

 

 
वेष्टर्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इश्वर पोखरेलले सहकारी संस्था यतिबेला अभिभावकविहीन अवस्थामा रहेको टिप्पणी गरे । उनले वेष्टर्न अब बचत तथा ऋण मात्रै नभई बहुउद्देश्यीय सोंचका साथ अगाडि बढ्न लागेको जानकारी दिंदै आम जनतालाई सहुलियत खाद्यान्न उपलब्धताका लागि ‘सस्तो पसल’ सञ्चालन प्रक्रियामा अगाडि बढ्न खोजेको बताए । ‘त्यसका लागि स्थानीय सरकारको सहयोग आवश्यक छ’, अध्यक्ष पोखरेलले भने । कार्यक्रममा वेष्टर्न विजनेश गु्रपका अध्यक्ष संजय थापाले सहकारीका माध्यमबाट आर्थिक विकासको क्षेत्रमा धेरै काम गर्न सकिने औंल्याए । ‘त्यसका लागि वेष्टर्न बचत तथा ऋण सक्षम छ’, कार्यक्रममा सम्मानितहरुका तर्फबाट अध्यक्ष थापाले भने ।

 

 
साधारणसभामा थापासँगै डा. बद्री चापागाई, डा. प्रकाश थापा, झलक गैरे, पूर्ण प्रसाद गौतम, विनय शर्मा, अवनिश अग्रवाल, भीम सुवेदी, जीव नारायण वेल्वासे लगायतलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख नवराज पराजुली, शेयर सदस्य अञ्जनी निरौला, जीवन चौधरी, उमा शर्मा, सुमन गौतम, लक्ष्मी शर्मा, अञ्जली ढकाल, रामकृष्ण पन्थी, रेखादेवी आत्रेय, मो. इब्राहिम दर्जी, ज्ञानेन्द्र रेग्मी, जयदेव अवस्थी, अतिकुर्र रहमान, पवन वानिया, सरिफ हलवाई, अशोक अग्रवाल लगायत छन् । प्रमुख अतिथि नेपालगन्जका उपप्रमुख उमा थापामगर, संस्थाका अध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष निरज गौतम, सचिव इश्वरी ज्ञवाली, कोषाध्यक्ष अजय कुमार शर्मा लगायतले कदर पत्र तथा उपहार प्रदान गरेका थिए । सञ्चालक श्याम बहादुर केसी, गिरिराज पौडेल, कोशल राज नेपाल, शिक्षा तथा तालिम उपसमितिका संयोजक प्रकाश लामिछाने, सदस्य ऋषिराम सापकोटा, शशी स्वाँर, लेखा सुपरिवेक्षण समितिका प्रदिप कुमार शर्मा, ऋण उपसमितिका सदस्य दुर्गा भण्डारी लगायतले पनि कदर पत्र प्रदान गरेका थिए ।

 

 
साधारणसभाको दोस्रो सत्रमा प्रगति प्रतिवेदनदेखि संस्थाको आगामी कार्ययोजना समेत सर्वसम्मत पारित भएको संस्थाका उपाध्यक्ष निरज गौतमले जानकारी दिए । २०६७ साउन ११ गते २५ जना सेयरधनीबाट सुरु गरिएको वेष्टर्नमा यतिबेला १ हजार बढी शेयर सदस्य पुगिसकेको जानकारी दिंदै संस्थाका प्रबन्धक थानिश्वर पाण्डेयले शेयरपूँजी ४ करोड ३७ लाख ७२ हजार पुर्याइएको बताए ।
‘अघिल्लो बर्षको तुलनामा यो ४७.३६ प्रतिशतले बचत वृद्धि हो’, प्रबन्धक पाण्डेय भने, ‘३५ करोड २ लाख बढी रकम लगानी गरेर ४५ लाख बढी रकम मुनाफा गर्न संस्था सफल भएको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया