नेपाली व्यवसायीले भारतीय अधिकारीलाई भने ‘भन्सार अपग्रेड गर’

नेपाली व्यवसायी तथा सरकारी अधिकारीहरुले भारतीय अधिकारी समक्ष भारतीय भन्सार ‘अपग्रेड’ गर्न आग्रह गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघमा बिहीबार भएको छलफल कार्यक्रममा भारतीय राजदुतावास काठमाडौंका प्रथम सचिव (वाणिज्य) प्रभजित सिंह गुलाटीसँग नेपाली पक्षले सामान आयात गर्दा भन्सारमा प्रक्रियागत ढिलाई भैरहेको भन्दै भन्सार अपग्रेड गर्न माग गरेका हुन् ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख उमेश कुमार श्रेष्ठले बर्षौदेखि विद्यमान रहेको आयात, निर्यातका समस्या समाधान हुन नसकेको उल्लेख गरे ।

 

‘समस्या समाधानमा दुतावासले ठोस पहल गरिदिनु पर्यो’, भन्सार प्रमुख श्रेष्ठले भने । नेपाल आयाल निगम, इन्धन डिपो नेपालगन्जका प्रमुख अविशेष ठाकुरले भारतीय भन्सारमा छिटो काम नहुँदा पेट्रोलियम पदार्थ नेपाल भित्र्याउन दिनभर भारतीय भन्सारमा नै बिताउनु पर्ने गरेको बाध्यता सुनाए । ‘यसले पेट्रोलियम पदार्थको वितरणमा ढिलाई हुने गरेको छ’, निगमका प्रमुख ठाकुरले भने, ‘दुतावासले दु्रत गतिमा काम हुने व्यवस्था मिलाउनु पर्यो ।’
‘१० लाख भन्दा बढीको इन्भ्वाइस रुपैडिहा स्थित कष्टमबाट पास हुँदैन’, छलफलमा व्यवसायीहरुले भने, ‘इमेल गरिएको डकुमेन्ट लखनउमा बस्ने कष्टमका असिस्टेन्ट कलेक्टरले कतिखेर पास गरिदिन्छन् भनेर कुर्नुपर्छ ।’ ‘अस्टिस्टेन्ट कलेक्टर नै रुपैडिहामा हुने हो भने धेरै समस्या समाधान हुनेथियो’, भारतीय दुतावासका सचिव गुलाटीसँग व्यवसायीहरुले भने, ‘नेपाली आयातकर्ताले ब्यहोरिरहेको झन्झट समाधान गर्न पहल गरिदिनु पर्यो ।’ ‘आयात, निर्यात बढ्दै गएको छ तर भारतीय कष्टम समयानुकुल अपग्रेड भएको छैन’, व्यवसायीहरुले भने ।
जडिबुटी व्यवसायीहरुले नेपालमा गरिएको ल्याब टेष्टको मान्यता भारतले दिनुपर्ने बताएका थिए । उनीहरुले नेपाली ल्याब टेष्टको मान्यता भारतमा नहुँदा भारतको लखनउ ल्याब टेष्टका लागि पुग्नुपर्ने बाध्यता रहेको बताएका थिए । व्यवसायीहरुले नेपालको ल्याब टेष्टको मान्यता दिन वा सीमावर्ती क्षेत्रमा ल्याब स्थापना गर्ने व्यवस्था गर्न सचिव गुलाटीसँग आग्रह गरेका थिए । प्रिभिलेन्स फुड टेष्ट (पिएफए) पनि लखनउमा नै गर्न जानु पर्ने बाध्यता रहेको व्यवसायीहरुको भनाइ थियो ।
व्यवसायी गोपि वर्णवालले नेपाली नम्बर प्लेटका गाडी रुपैडिहासम्म निर्वाध पुग्ने व्यवस्था मिलाउन आग्रह गरे । ‘सामान सानो परिणाममा आयात गरिएको सामानले ट्रक भरिंदैन’, उनले भने, ‘सानो ट्रक रुपैडिहामा पाउन मुस्किल छ, यसले गर्दा व्यवसायीको सामान हप्तौं ट्रान्सपोर्ट मै राख्नुपर्ने बाध्यता छ ।’ वर्णवालले भारतीय कष्टममा सर्भर डाउनमा हुँदा कुरेर बस्नुपर्ने बाध्यता सुनाउँदै त्यहाँको सिष्टम अपग्रेड गर्न तथा जनशक्ति पनि थप्न दुतावासका सचिव सँग आग्रह गरेका थिए ।
छलफलमा नेपाली आयात, निर्यातकर्ताका समस्याबारे संघका महासचिव अजय टण्डनले दुतावासका सचिव समक्ष ज्ञापन पत्र बुझाएका थिए । त्यसक्रममा उनले नेपालगन्ज २४ जिल्लाको केन्द्र रहेको उल्लेख गर्दै आयात, निर्यात सहजीकरणका लागि नेपालगन्जमा कन्सल्टेन्ट कार्यालय स्थापना गर्न माग गरेका थिए । उनले आयात, निर्यात सहज पार्न रुपैडियाको रेल्वेलाई स्तरवृद्धिका लागि पहल गर्न आग्रह गरेका थिए ।
भारतीय राजदुतावासका सचिव गुलाटीले आयात, निर्यातमा भैरहेका समस्या व्यवसायीहरुसँग प्रत्यक्ष भेटेर सुन्न र त्यसलाई समाधानका लागि पहल गर्न नेपालगन्ज आएको बताए । उनले आफ्नो तर्फबाट नेपाली व्यवसायीहरुको माग सम्बोधनका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
‘भारतीय सवारी साधनले नेपालमा जसरी प्रवेश पाउँछन् त्यसरी नै नेपाली सवारी साधन भारतमा प्रवेश पाउने व्यवस्था मिलाउनका लागि प्रक्रिया सुरु भैसकेको छ,’ सचिव गुलाटीले भने, ‘यसले ट्रान्सपोर्ट सम्बन्धी समस्या धेरै हल हुनेछ ।’
व्यवसायीहरुका समस्या सुनेका सचिव गुलाटीले समाधानका लागि आज शुक्रबार रुपैडिहामा छलफल राखिएको जानकारी दिए । ‘तपाईहरुको समस्या सुनेको छु, मेरो कार्यक्षेत्रभित्र पर्ने समस्या समाधानका लागि भोलि (शुक्रबार) रुपैडिहामा छलफल राखेको छु,’ उनले भने । छलफलमा नेपालगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधि, इन्डियन आयाल कर्पाेरेसनका प्रतिनिधि, कष्टमका अस्टिस्टेन्ट कलेक्टर लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहने सचिव गुलाटीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया