हिमाल गैरे
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई दु्रत गतिको इन्टरनेट सेवा प्रदान गर्नका लागि ‘फाइबर टु द होम’ (एफटिटिएच) सेवा नेपालगन्जमा पनि सुरु गरेको छ । सहरी क्षेत्रका ग्राहकहरुका लागि लक्षित गरी टेलिकमले भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यका साथ भदौं ११ गतेबाट नेपालगंजको भृकुटिनगरबाट सेवा आरम्भ गर्न लागिएको दुरसंचार कार्यालय नेपालगन्जले जनाएको छ । दुरसंचार कार्यालय नेपालगन्जका सहायक लेखा अधिकृत नेपाल टेलिकमका मुक्तिनाथ ज्ञवालीका यस प्रविधीले ग्राहकको मागलाई सहजै संबोधन गर्न सक्ने अनुमान राखिएको छ ।
एफटिटिएच भनेको द्रुत गतिमा डाटाहरु पठाउन तथा प्राप्त गर्न सक्ने क्षमता सहितको सुचना आदान–प्रदान गर्न सकिने माध्यम हो । यसको माध्यमबाट ग्राहकहरु मग बमोजिमको द्रुत गतिको इन्टरनेट, टेलिभिजन एंव हाई डेफिनेसन (एचडी) भिडियोहरु प्राप्त गर्न सकिने प्रविधी हो ।
सुचना अधिकारी समेत रहेका ज्ञवालीका अनुसार, यस प्रविधिमा १ एमबिपिएस देखि १०० एमबिपिएस गतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा लिन सकिने तथा टेलिफोन सेवा समेत संचालन गर्न सकिन्छ । उनका अनुसार, भृकुटीनगर पश्चात विस्तारै नेपालगन्ज नगरक्षेत्र, बसपार्क क्षेत्र, खजुरा रोड लगायतमा छिट्टै विस्तार गरिने छ ।
‘प्रारम्भिक चरणमा आएका प्रतिक्रियाहरुबाट अहिले सम्म हामी सन्तुष्ट छौं,’ सुचना अधिकारी ज्ञवालीले थपे । नेक्स जेनेरेसन नेटवर्क टेक्नोलोजीमा आधारित यो सेवा निनकै राम्रो भएको र अन्य सेवा प्रदायकको भन्दा ‘लो प्राइस इन हाइ स्पीड इन्टरनेट’ अर्थात सस्तो मुल्यामा तिव्र गतिको इन्टरनेट सेवा हुने दुरसंचारको दावी छ ।
पछिल्लो पुस्ताको प्रविधि भएकाले इन्टरनेट सेवा प्राप्तत गर्न सकिने अन्य प्रविधि भन्दा सस्तो तथा तिव्र गतिको रहने बताइएको छ । यो प्रविधी काठमाडौं उपत्यका पछि हाल भरतपुर, पोखरा, वीरगन्ज, विराटनगर, बुटवल विस्तार गर्र्दैैैछ । दुरसंचार कार्यालयका मध्य पश्चिमाञ्चल क्षेत्रिय प्राविधिक प्रमुख एंव उपप्रबन्धक शिव खनालका अनुसार हाल भृकुटिनगरबाट परिक्षण आरम्भ गरिएको यस सेवा क्रमश नेपालगन्ज नगरक्षेत्रका साथै खजुरा, कोहलपुरका साथै मध्यपश्चिमका अन्य शहरी क्षेत्रमा समेत विस्तार गरिने छ ।
यो प्रविधीबाट उच्च गतिको इन्टरनेट प्राप्त गर्न सकिने आइपी प्रविधीमा आधारित टेलिफोन सेवा तथा मल्टिमिडिया सेवा जस्ता सेवा सुविधाहरु उपलब्ध एउटै तारको माध्यमबाट उपलब्ध गराउन सकिन्छ भने ग्राहकले इन्टरनेट, टेलिभिजन तथा टेलिफोन छुट्टा–छुट्टै सेवा प्रदायक मार्फत लिनुपर्ने बाध्यता रहदैन् ।
‘यो प्रविधि नेपालगन्जमा धेरै पहिले नै आउनुपर्ने भए पनि विविध कारणले आउन सकेन तर अब एकै पटक गर्न नसकिए पनि हामी दु्रत गतिमा यसको बिस्तार गर्ने छौं,’ एकिन समय बताउन नसके पनि उपप्रबन्धक खनालले इन्टरनेट माध्यमबाट टेलिभिजन हेर्न सकिने इन्टरनेट प्रोटोकल टेलिभिजन (आइपीटिभि) सेवा पनि यस क्षेत्रमा ल्याइने बताए । ‘अप्टिकल फाइबर खरिद प्रक्रिया अगाडी बढाएर पहिले एफटिटिएचको परिक्षण छिट्टै आइपीटिभी पनि विस्तार गर्नेछौं तर यसका लागि हामी केन्द्रको बाटो हेर्नुपर्ने हुन्छ,’ खनालले थपें ।
परम्परागत तामाको तारलाई विस्थापन गरि ग्राहकहरुको लागि यो सेवा प्रभावकारी हुने भएकाले पनि यसलाई क्रमशः सुर्खेत, दाङ लगायतका शहरी क्षेत्रहरुमा विस्तार गरिने दुरसंचार कार्यालय नेपालगन्जका कार्यालय प्रमुख भाष्कर कुमार पोखरेलले दैनिक नेपालगन्जलाई जानकारी दिएका छन् । ‘यस प्रविधिले इन्टरनेटलाई निकै सकरात्मक परिणाम ल्याउने हामीले विश्वास दिएका छौं,’ नेपालगन्ज प्रमुख पोखरेलेले थपें, ‘सेवाग्राहीको रेस्पोन्सलाई मनन गरी अगाडी बढ्नेछौं ।’
हाल ८ हजारमा १ वर्षका लागि ८ एमबिपिएस डाटा प्याकेज प्रदान गरेको दुरसंचारले फाइबर सेवामा भ्वाइस सेवाका अतिरिक्त डाटा सेवा र १ सय मिटरको जडान तार सोही प्याकेज अन्र्तगत रहेको बताइएको छ । त्यसका साथै अन्य भ्यालु एडेड सेवा समेत उपलब्ध गराउने टेलिकमले जनाएको छ । हाल परिक्षण अवधीमा रहेको यो प्रविधिबाट नेपाल टेलिकम भित्र जति फोन गरे पनि निशुल्क रहेको टेलिकमले जनाएको छ । योे सेवा नेपालगन्ज काउन्टरबाट आवेदन संकलन गरेको र सेवा शुल्क विभिन्न प्याकेज र अवधीको आधारमा तोकेको नेपाल दुरसंचार नेपालगन्जले जनाएको छ । यसको प्रतिपर्धामा अन्य सेवा प्रदायक आउन नसक्ने उनीहरुको दावी छ ।