सुरु भयो ३५ करोड लगानीमा वाटरपार्क

लगानी बढाउँदै जाँदा भारतीय साझेदार पनि भित्र्याइँदै

बाँकेको कोहलपुर–१४ हवल्दारपुरमा वाटरपार्क निर्माण कार्य सुरु गरिएको छ । नेपालगन्जलाई महानगरपालिकाका रुपमा प्रस्ताव गरिरहँदा त्यसलाई मध्यनजर हवल्दारपुरमा बृहत लगानीको वाटरपार्क निर्माण कार्य सुरु गरिएको हो । सोमबार शुभ मुर्हुत मानसरोबर होलिडे इन प्रालिले भूमि पुजन गरेको छ । ‘तीन महिनाभित्रै एम्युजमेन्ट पार्क सञ्चालनमा ल्याउने’ गरी तयारी अगाडि बढाइएको सञ्चालक विजय भण्डारीले जानकारी दिए । ‘भूमि पुजन लगत्तै निर्माण कार्य अगाडि बढेको छ’, भण्डारीले दैनिक नेपालगन्जसँग भने, ‘तीन महिनाभित्र एम्युजमेन्ट पार्क सञ्चालनमा आइसक्ने छ ।’

 

सुरुवाती लगानी करिब ३५ करोड टार्गेट राखेको मानसरोबर होलिडे इन प्रा.लि.ले हवल्दारपुरमा १ सय २० कठ्ठा क्षेत्रफलको जग्गामा वाटर पार्कको योजना अगाडि बढाएको हो । धनगढीका प्रतिष्ठित व्यवसायी दिनेश राज भण्डारीको अध्यक्षतामा रहेको मान सरोवर होलिडे इन प्रा.लि.ले भारतीय साझेदार भित्र्याउन सफल भएको जानकारी दिंदै सञ्चालक निरज गौतमले भने, ‘तीन महिनामा एम्युजमेन्ट पार्क सञ्चालनमा ल्याए लगत्तै थप लगानी सहित अर्को तीन महिनामा वाटरपार्क सञ्चालन गरिनेछ ।’ गौतमका अनुसार, होलिडे इन प्रा.लि.ले ‘ह्याप्पी वर्ड वाटर एण्ड फनपार्क’ परियोजनाका रुपमा हवल्दारपुरमा ठूलो लगानी गरिरहेको हो ।
नेपालगन्जलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्यका रुपमा विकास गर्न हस्पिटालिटि क्षेत्रमा भैरहेको ठूलो लगानी बीच वाटर तथा फन पार्कका लागि निजी क्षेत्रले धमाधम लगानी गरिरहेको छ । नेपालगन्जका प्रतिष्ठित व्यवसायीहरुको लगानीमा स्थापना भएको मानसरोवर होलिडे इन प्रा.लि.ले सञ्चालनमा ल्याउने ह्याप्पी वल्र्ड वाटर फन एण्ड एम्युजमेन्ट पार्कलाई पश्चिम क्षेत्रकै नमूनाका रुपमा विकास गर्ने गरी तयारी भैरहेको सञ्चालक गौतमको भनाइ छ ।


‘यसले नेपालगन्जको गरिमालाई नै उचो पार्ने गरी आफ्नो परियोजनालाई स्तरीय बनाउने छ’, सञ्चालक गौतमले भने, ‘त्यसका लागि दिनेश भण्डारीको नेतृत्वमा रहेको कम्पनीले सकारात्मक अभिप्रायका साथ भारतीय लगानीकर्ता भित्र्याउँदै छौं ।’ नेपालगन्ज र कोहलपुरबाट दुवै सहरबासीले उपयोग गर्न सक्ने ह्याप्पी वल्र्ड ग्रामीण क्षेत्रका बासिन्दाका लागि पनि उत्तिकै लाभदायक हुने सञ्चालकहरुको तर्क छ । उनीहरुले महानगरका लागि आवश्यक पर्ने महत्वपूर्ण पूर्वाधारका रुपमा वाटरपार्कलाई विकास गर्ने बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया