कोहलपुर/कृष्ण चौधरी
मानसरोवरको प्रतिकात्मक स्मारक पार्कका विषयमा तीन स्थानीय तहबीच रस्साकस्सी चलिरहेका बेला बैजनाथ गाउँपालिका स्थित गाभरका स्थानीयले सक्रियता देखाएका छन् । गाभर क्षेत्रका अगुवाहरूले झण्डै तीन सय बिघामा फैलिएको रारा राधा रानी वन क्षेत्रमा पार्क निर्माण गर्नुपर्ने मागसहित विभिन्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरूले यस विषयमा मुख्यमन्त्री र पर्यटनमन्त्रीलाई भेट गरेर ध्यानाकर्षण गराए ।
बैजनाथ गाउँपालिकालाई रारा राधा रानी वन क्षेत्र उपयुक्त रहेको लिखित जानकारीसहित प्रदेश सरकारलाई यहाँ पार्क बनाउनका लागि सिफारिस गर्न अनुरोध गरिएको छ । कोहलपुरदेखि ८ किलोमिटर उत्तर सुर्खेत रोडमा पर्ने सो वन क्षेत्रमा स्मारक पार्क बनाउँदा उपयुक्त हुने स्थानीयको तर्क छ । बाँके राष्ट्रिय निकुञ्जसँग नजोडिएको र पाटेबाघलगायत अन्य वन्यजन्तुको पनि बासस्थान नभएकाले उक्त वन क्षेत्रलाई पार्कका लागि पहल गरिनुपर्ने स्थानीय युवराज शाह बताउँछन् ।
बाँके र बर्दिया निकुञ्ज बाघ पर्यटनको हब बनिरहेका बेला यसलाई असर नहुने गरी पार्क बनाउनुपर्ने रारा राधा रानी महिला मध्यवर्ती सामुदायिक वनकी अध्यक्ष जयलक्ष्मी शाहले बताइन् । रानी वन निकुञ्जसँग नजोडिएको र समुदायबीचमा अवस्थित उक्त वन क्षेत्रको भौगोलिक बनावट पनि उपयुक्त भएकाले प्रदेश सरकारलाई सिफारिसका लागि बैजनाथ गाउँपालिकालाई अनुरोध गरेको उनले बताइन् ।
यहाँ कर्णाली प्रदेशबाट स्थानान्तरण गरिएका समुदायसमेतको बसोबास रहेको छ । यहाँ कर्णाली संस्कृतिको झ–झल्को आउने गर्छ । स्थानीयस्तरमा सामुदायिक होमस्टेको व्यवस्थापन गरिएको छ । वन क्षेत्रमा स्मारक पार्क बनाउँदा जैविक विविधताको दृष्टिकोणले सूक्ष्म अध्ययन गरिनुपर्ने स्थानीय गंगादत्त जैशीले बताए । पाटेबाघ र यसको बासस्थानलाई असर नपर्ने गरी उत्तम विकल्पको रूपमा रहेको क्षेत्रमा स्मारक पार्क बनाउन सकिने उनको भनाइ छ ।
चिसापानी क्षेत्रमा मानसरोवर स्मारक पार्क निर्माण गर्ने प्रदेश सरकारको अवधारणाले पर्यटन क्षेत्रमा नयाँ आयाम थपिएको चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति अध्यक्ष भीम केसीले बताए । उनले पार्कका लागि गाभर क्षेत्र पनि एउटा उपयुक्त स्थान हुन सक्ने बताए ।
बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले बैजनाथका सम्भावित स्थानहरू पहिचान गरेर प्रदेश सरकारलाई पठाएको बताए । उनले १, ३ र ४ नम्बर वडाका पार्क बनाउन सकिने सम्भावित विभिन्न सामुदायिक वन क्षेत्र छनौट गरी सिफारिस गरिएको बताए । ‘विज्ञहरूद्वारा अध्ययनअनुसन्धान गरी उपयुक्त स्थान छनौट गरिदिन प्रदेश सरकारलाई अनुरोध गरेका छौं,’ उनले भने ।
प्रदेश ५ सरकारले बाँकेमा मानसरोवरको प्रतिकात्मक स्मारक बनाउने योजना बनाएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले बाँकेमा मानसरोवर स्मारक पार्क बनाउने योजना बनाएको हो । मानसरोवर जाने यात्रु नेपालगन्ज विमानस्थल हुँदै जाने भएकाले पनि यहाँ स्मारक पार्क बनाउन थालिएको हो । यसका लागि कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाबीच रस्साकस्सी चलेको छ ।
प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले यसअघिनै भौगोलिक र प्राविधिकरूपमा उपयुक्त स्थान छनौट हुने बताएका थिए ।