झण्डै २ सय उद्योगका लागि नौबस्तामा बन्न लागेको औद्योगिक क्षेत्रले सम्भाव्यता अध्ययन गरिरहेको छ ।
बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्तामा औद्योगिक क्षेत्र निर्माणको डिपिआर तयार भएको छ । औद्योगिक क्षेत्रका लागि विस्तृत मूल्यांकन प्रतिवेदन ९डिपिआर०को काम सकिएको हो ।
‘वातावरण प्रभाव मूल्यांकन र उद्योग स्थापनाबारे सर्वेक्षण भइरहेको छ’, सोमबार कार्यालयमा भेटिंदा आशयपत्रबारे सेवाग्राहीसँग छलफलमा व्यस्त नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयका प्रमुख कृष्णबहादुर पुनले दैनिक नेपालगन्जसँग भने, ‘झण्डै सय जनाले उद्योगका लागि चासो राख्दै आशय पत्र भरिसक्नु भएको छ ।’ उनका अनुसार, उद्योग स्थापनाका लागि उद्योगीसँग आशयपत्र माग गरिएको हो । आशयपत्र मागको प्रक्रिया पूरा भएपछि औद्योगिक क्षेत्र निर्माणको काम सुरु हुने जानकारी दिंदै पुनले त्यसको महत्वका बारे कोहलपुर उद्योग वाणिज्य संघको संयोजनमा कोहलपुर र नेपालगन्ज उद्योग वाणिज्य संघको संयोजनमा नेपालगन्जमा बृहत छलफल गरिसकिएको छ । ‘जति धेरै उद्योगका लागि माग आयो सरकारलाई निर्माणका लागि दबाब बढ्छ’, पुनले खुलेरै भने ।
नौवस्ताको ३३८ बिगाह क्षेत्रफलमा स्थापना हुने सो औद्योगिक क्षेत्रमा करीब २०० ठूला र मझौला उद्योग स्थापना गरिने योजना छ । झण्डै ६ अर्ब लागतमा निर्माण हुने औद्योगिक क्षेत्रका लागि सरकार या वैदेशिक सहयोगको विकल्प नरहेको पुन बताउँछन् ।
हाल नेपालगन्ज औद्योगिक क्षेत्रमा ३३ वटा ठूला साना उद्योग सञ्चालनमा छन् । २०३० सालमा २ सय ३३ रोपनीमा बनाइएको नेपालगन्ज स्थित औद्योगिक क्षेत्रमा झण्डै १ हजारलाई रोजगारी र ४ सय करोड बार्षिक उत्पादन हुने गरेको तथ्यांक औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।