खजुरा (बाँके)/समाचारदाता
दैनिक नेपालगन्ज
खजुरा गाउँपालिकाले दुई वटा विधेयक गाउँसभाका लागि पारित गरेको छ ।
शुक्रबार भएको गाउँ कार्यपालिका बैठकले आर्थिक विधेयक २०७५ र त्यसका लागि आवश्यक विनियोजन विधेयक २०७५ पारित गरेको हो । ‘दुवै विधेयकलाई सोमबार हुने गाउँसभा दोस्रो बैठकमा पेश गरिनेछ’, गहन छलफलपछि विधेयक पारित गरिएको जानकारी दिंदै खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले भने ।
बैठकमा बजेट कार्यक्रमबारे पनि छलफल गरिएको छ । ‘यसपटक केही महत्वपूर्ण योजनाहरु अघि सारेका छौं’, गाउँपालिका प्रमुख कक्षपतिले पाँच सय क्षमतको बहुउद्देश्यीय सभागृहदेखि झण्डै १० किलोमिटर सडक पिचका योजनासम्म अघि सारेको जानकारी दिंदै भने, ‘सरकारसँग म्युचुअल फण्डबाट अनुदान लिनपनि बजेट छुट्याएका छौं ।’
खजुराले लक्षित वर्गका लागि तालिम आदी सञ्चालन गर्ने सभाकक्षदेखि बहुउद्देश्यीय सभाहलसम्मको योजना अघि सारेको छ । त्यसका लागि ३ करोड बजेट अनुमान गरेको खजुराले ६० लाख रुपैयाँ प्रदेश सरकारबाट प्राप्त हुने जानकारी पाएको गाउँपालिका प्रमुख कक्षपतिले जानकारी दिए ।
सडक पिचका लागि ४ करोड बजेट छुट्याएका खजुराले म्युचुअल फण्डका लागि २ करोड राखेको छ । ‘सरकारले ६० प्रतिशत बजेट थप दिनसक्छ’, म्युचुअल फण्डबारे कक्षपतिले भने, ‘हाराहारीमा ५ करोड पनि सडक पिच गर्नमै लगाउने साेंचमा छौं ।’
नीति तथा कार्यक्रम अनुमोदन गरिसकेको खजुराको तेस्रो गाउँसभाले गत मंगलबार गाउँसभा तोकेपनि बर्षात्ले डुबानको अवस्था आएपछि सोमबारलाई गाउँसभाको दोस्रो बैठक डाकेको जनाएको छ । ‘बजेट लगायतका सबै प्रस्तावहरु अब बस्ने गाउँसभा बैठकबाट टुङ्ग्याउँदै छौं’, प्रमुख कक्षपतिले भने । खजुराले आर्थिक बर्ष २०७५÷०७६ का लागि झण्डै ६० करोडको बजेट बनाएको छ ।