समाचारदाता
दैनिक नेपालगन्ज
बाँकेकै अर्काे गाउँपालिका जानकीले आर्थिक वर्ष २०७५/०७६ का लागि ३१ करोड १७ लाखबढीको वजेट प्रस्ताव गरेको छ । आइतवार नीति तथा कार्यक्रम सँगै अनुमानित आयव्यय प्रस्तुत भएको हो ।
गाउँपालिका प्रमुख रामनिवास यादवले आर्थिक वर्ष २०७५/०७६को लागि नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरे भने उपप्रमुख भूमिसरा धितालले वजेट प्रस्ताव गरिन् । गाउँपालिका प्रमुख यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबारनै पास भएको जानकारी दिइएको छ ।
गाउँसभामा उपप्रमुख धितालले आर्थिक वर्ष २०७५/०७६ को लागि ३१ करोड १७ लाख २ हजार रुपैयाको अनुमानित बजेट प्रस्तुत गरेकी छिन् । जसमध्ये विकासतर्फ २३ करोड ९ लाख ६९ हजार ८ सय ९३ छ भने बाँकी साधारणतर्फको खर्चमा विनियोजित गरिएको छ । आगामी आ.ब.मा गाउँपालिकाले एकीकृत सम्पत्ति कर मार्फत १ करोड आम्दानी गर्ने लक्ष्य लिएको छ ।
यसैबीच, बैजनाथ गाउँपालिकाका प्रमुख मान बहादुर रुचालले आर्थिक वर्ष २०७५÷०७६को लागि नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरे । उपप्रमुख शारदा विश्वकर्माले आर्थिक वर्ष २०७५÷०७६को लागि अनुमानित आयव्यय प्रस्तुत गरेकी थिइन् ।
अध्यक्ष रिजालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम गाउँसभाले पास गरेको छ । गाउँसभामा उपप्रमुख विश्वकर्माले आर्थिक वर्ष २०७५/०७६ को लागि ४७ करोड २५ लाख ७६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् । जसमध्ये चालु खर्चतर्फ रु २५ करोड २१ लाख ३१ हजार १ सय रहेको छ भने पूँजीगततर्फ २२ करोड ४ लाख ४४ हजार ९ सय बजेट विनियोजित गरिएको छ ।