कोहलपुर/समाचारदाता
दैनिक नेपालगन्ज
कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उद्योगी, व्यवसायीहरुबाट संकलित गरिएको करको रकमबाट विकास निर्माणका लागि मात्र खर्च गरिने बताएका छन् । कोहलपुर उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको एकीकृत सम्पत्ति करबारेको अन्तरक्रियामा नगर प्रमुख रावतले कर संकलन विकासका लागि भएकाले सबैले सहयोग गर्न अपिल गरे ।
संघका अध्यक्ष चक्र बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका वरिष्ठ अधिकृत खिमानन्द अर्यालले एकीकृत सम्पत्ति कर लगायतका विभिन्न करहरुबारे सहभागी उद्योगी, व्यवसायीहरुलाई सहजीकरण गरेका थिए । संघका महासचिव तेज प्रसाद अधिकारीका अनुसार, स्थानीय ७५ जना उद्योगी, व्यवसायीहरुलाई एकीकृत सम्पत्ति कर बारे प्रशिक्षित गरिएको छ । नगर सरसफाईको विषयलाई समेत अन्तरक्रियामा गम्भीरतापूर्वक छलफल गरिएको महासचिव अधिकारीले जानकारी दिए ।
संघका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्माले कोहलपुरको विकास र सरसफाई बारे संघले गरिरहेको प्रयास जानकारी दिए । कार्यक्रमका लागि कोहलपुर नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको संघले जनाएको छ ।