सिसिटिभीलाई स्रोत जुटाउँदै समिति

समाचारदाता
दैनिक नेपालगन्ज

नेपालगन्ज नगरमा सिसिटिभी, क्यामेरा जडानका लागि गठित समितिले स्रोत जुटाउनका लागि पहल तिव्र पारेको छ । त्यसक्रममा विभिन्न संघ, संस्थाहरुसँग भेट गरी आर्थिक स्रोत जुटाउन पहल गरिएको समितिका संयोजक नन्दलाल वैश्यले जानकारी दिए ।

 

नगरको सुरक्षाका लागि समितिले नगरका १४ स्थानमा ५६ वटा क्यामेरा जडानका लागि बोलपत्र आव्हान समेत गरिसकेको छ । २५ लाख खर्च अनुमान गरिएको योजनाका लागि ५ लाख जुटिसकेको जानकारी दिंदै संयोजक वैश्यले भने, ‘बैंक, व्यवसायी तथा व्यवसायिक संघ, संगठनबाट क्यामेरा जडानका लागि प्रतिबद्धता आइसकेकाले आवश्यक जुट्छ भन्ने विश्वास छ ।’ प्रभावकारी र तत्काल काम सुरु गर्न आवश्यक बजेट जुटाउने सम्बन्धमा समितिको बजेट सोमबार बसेको छ । बैठकमा समिति सदस्यहरुले सहयोगको प्रतिबद्धता जनाएका संघ, संस्थाहरुबाट रकम संकलनका लागि सक्रिय हुने बताएका छन् ।

 

सिसिटिभी जडान समितिले सदस्यहरुबाट २ लाख ७५ हजार, नेपालगन्ज उद्योग वाणिज्य संघबाट २ लाख ५० हजार संकलन भैसकेको छ । ‘बैंकहरुबाट ५ लाख सहयोगको प्रतिबद्धता अनुसार थप केही रकम संकलन भैरहेको छ’, अध्यक्ष वैश्यले भने । नगर सुरक्षाको विषय भएकाले सबै सहयोग गर्न तत्पर देखिएको उनले बताए ।

 

‘भोलि (मंगलबार) टेण्डर खोलिंदैछ’, अध्यक्ष वैश्यले भने, ‘तत्काल दु्रत गतिमा काम अगाडि बढाइनेछ ।’ सिसिक्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिने अध्यक्ष वैश्यले जानकारी दिए । ‘सिसिक्यामेरा जडान पछि सहरमा अवाञ्छित गतिविधिहरु नियन्त्रणमा आउँछन्, सहर सुरक्षित हुन्छ भन्ने हाम्रो विश्वास हो’, अध्यक्ष वैश्यले भने ।

प्रतिक्रिया

प्रतिक्रिया