समाचारदाता
स्मृति देवकोटा/दैनिक नेपालगन्ज
पर्याप्त मात्रामा सुन खरिद गर्न नपाउँदा सुनचाँदी व्यवसाय प्रभावित भएको सुनचाँदी व्यवसायीले बताएका छन् । मंगलबार नेपालगन्ज सुनचाँदी व्यवसायी संघ नेपालगन्ज बाँकेको दोस्रो साधारणसभाका वक्ताहरुले सरकारसँग पटकपटक माग अनुसार आयात गर्न अनुरोध गरे पनि वेवास्ता गरिएको आरोप लगाए । ‘सुन पसलमा सुनकै अभाव हुने हो भने व्यवसाय कसरी गर्ने ?’, व्यवसायीहरुले भने, ‘सिजनमा त कारोबार नै बन्द गर्नुपर्ने अवस्था आउँछ ।’
कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासघंका केन्द्रीय अध्यक्ष मोहन सुनारले सुनको अभावमा व्यवसाय नै धराशयी हुँदै गएको बताए । उनले देशमा शासन, व्यवस्था परिवर्तन भएको उल्लेख गर्दै वर्तमान सरकारले पनि आफ्ना मुद्दाहरु सम्बोधन नगरे आन्दोलित हुन बाध्य हुने बताए । अध्यक्ष सुनारले व्यवसायिक सवालमा सबै व्यवसायीहरु एक भएर अगाडि बढ्नु पर्ने धारणा राखे ।
महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मणिक रत्न शाक्यले हाल २० केजी आयातको सीमाले नेपालको सुन बजारलाई थेग्न सक्ने अवस्था नरहेको बताए । ‘बजारको माग धान्न नसक्ने परिणाममा आउने सुनले कारोबारलाई नकारात्मक प्रभाव पारिरहेको छ’, उनले भने, ‘हाम्रा समस्यालाई सरकारले सम्बोधन गरोस् भन्ने हाम्रो माग हो ।’ उपाध्यक्ष शाक्यले कसैले बेचेको सुनमा व्यवसायीले अनाहक चोरी मुद्दाको झन्झट व्यहोर्नु पर्ने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता जनाए ।
नेपालगन्ज सुनचाँदी व्यवसायी संघका अध्यक्ष सलाउद्दिन जसगढले नेपालगन्जका व्यवसायीहरुका लागि कम्तिमा आधा किलो सुन दैनिक उपलब्ध गराउनका लागि पहल गर्न केन्द्रको ध्यानाकर्षण गराएका थिए । अध्यक्ष जसगढले व्यवसायीहरुलाई जस्तोसुकै समस्या परेपनि संघ एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणा, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायतले बोलेको कार्यक्रममा व्यवसायीहरु सम्मान समेत गरिएको थियो । नेपालगन्जका १ सय ५९ व्यवसायी संघमा आबद्ध छन् ।