बजेट र नीति तथा कार्यक्रम ल्याइने
बुटवल\समाचारदाता
दैनिक नेपालगन्ज
प्रदेश ५ प्रदेश सभाको दोस्रो अधिवेशन आज सोमबारदेखि सुरु हुँदै छ । बैशाख २५ गते संसदको पहिलो अधिवेशन २२ पटक बैठक बसेर सकिएको थियो । विभिन्न ८ विधेयक प्रस्तुत भएको पहिलो अधिबेशनबाट बाँकी रहेको तीनवटा विधेयक दोस्रो अधिवेशनले पारित गर्नेछ ।
दोस्रो अधिवेशनले आर्थिक बर्ष ०७५\०७६ का लागि बार्षिक बजेट, नीति तथा कार्यक्रम समेत ल्याउनेछ । दोस्रो अधिवेशनको पहिलो बैठकमा ५ वटा विषयहरु प्रस्तुत हुने कार्यसूचि रहेको छ । बैठकमा प्रदेश प्रमुख उमाकान्त झाबाट प्रदेश सभाको आव्हान भएको पत्र सभामुख पुर्ण बहादुर घर्तिले पढेर संसदमा सुनाउने छन् । त्यसपछि प्रदेश सभा निमावली, ०७४ को नियम १ सय २१ को उपनियम २ बमोजिम विधेयक सरकारका मन्त्रीले प्रदेश नं. ५ प्रदेश अन्तर्गत स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संग सम्बन्धित विधायन समितिको प्रतिबेदन सहितको विधेयक माथि छलफलका लागि बैठकमा प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ ।
उक्त विधेयक चैत १५ गते नै संसदमा छलफलका लागि प्रस्तुत भई विधायन समितिमा गएको थियो । उक्त विधेयक विधायन समितिबाट पुनः प्रदेश सभामा फिर्ता आएपछि ७२ घण्टा संशोधनका लागि समय हुने गर्दछ । उक्त विधेयकलाई सभामुख पुर्ण बहादुर घर्तिले सभामा निर्णयार्थ पेश गर्नेछ । बैठकमा सहभागी सांसदहरुले बहुमतले पारित गरे उक्त विधेयक संसदबाट पास हुनेछ ।
आजको बैठकमा प्रदेश सभा निमावली, ०७४ को नियम १३३ को उपनियम २ बमोजिम प्रदेश नं.५ प्रदेश सरकारले आव ०७५÷०७६ का लागि तयार गर्न विनियोजन विधेयकका लागि सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस भनी मुख्यमन्त्री शंकर पोखरेल तथा आर्थिक मामिला तथा योजना मन्त्री कुल प्रसाद केसी मध्ये एक जनाले संसदमा प्रस्ताव पेश गर्ने तयारी छ । त्यसपछि उक्त विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल हुने समय निर्धारण गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव डा. मान बहादुर विकेले जानकारी दिए ।