असार १ गते नीति तथा कार्यक्रम पनि ल्याइने
बुटवल/समाचारदाता
दैनिक नेपालगन्ज
प्रदेश ५ मा २० अर्ब बढीको बजेट ल्याउने तयारी गरिएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ का लागि रु २० अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको हो । केन्द्र सरकारले १५ अर्ब ४२ करोडको बजेट सिलिङ तोकिएको छ । तर, प्रदेश सरकारले आन्तरिक स्रोतबाट झण्डै ५ अर्ब जुटाउने गरी २० अर्बको बजेट ल्याउने तयारी गरेको छ ।
प्रदेश सरकारले आगामी असार १ गते बजेट ल्याउनु पर्ने प्रावधान छ । त्यसको तयारीका लागि प्रादेशिक योजना आयोगले प्रदेश ५ का विभिन्न जिल्लामा पुगेर योजनाहरु बारे बुझिरहेको छ । ‘जिल्लाका अतिआवश्यक र मुख्य योजनाहरु बारे बुझ्न जिल्ला–जिल्ला पुगेका हौं’, प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा प्रकाश श्रेष्ठले भने, ‘प्राप्त योजनाहरुलाई प्राथमिकिकरण गरेर अगाडि बढाइनेछ ।’ बाँकेका योजना बारे बुझ्न गत बिहिबार नेपालगन्ज आएको योजना आयोजको टोलीले बजेट र योजना बीच तालमेल हुनुपर्ने बताएका थियो ।
आगामी असार १ गते प्रदेश सरकारले बजेटसँगै नीति तथा कार्यक्रम पनि सार्वजनिक गर्नेछ । प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा प्रकाश श्रेष्ठले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा आगामी आर्थिक वर्षका लागि सरकारले केन्द्रबाट रु १५ अर्ब ४२ करोड अनुदान पाउने र प्रदेशको आफ्नै स्रोतलाई थप गरी बजेट ल्याउन गरी छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘प्रदेशलाई करको अधिकार दिइएको छैन र सेयरिङ गर्ने मोडालिटी पनि बनेको छैन ।’
उपाध्यक्ष श्रेष्ठले पाँच वटा करमध्ये कृषि आयमा लाग्ने कर मात्रै प्रदेशको अधिकार भएको उल्लेख गर्दै अन्य करका विषयमा स्थानीय तहसँग छलफल भइरहेको बताए । ‘प्रदेशको अधिकारभित्र घरजग्गा रजिष्ट्रेसन, सवारीसाधन कर रहेकाले त्यसैका आधारमा राजश्व स्रोतको अध्ययन भइरहेको छ’, उनले भने, ‘प्रदेशमा राजश्वको नयाँ क्षेत्र र केन्द्रबाट आउने रकमसमेतका आधारमा बजेटको सिलिङ तोकिने छ ।’ प्रदेश सरकारले असार १ गतेसम्म बजेट ल्याउनुपर्ने प्रावधान छ । (रासस)