मटेहियामा पुग्यो बैंकिङ्ग सेवा

२०५४ साल पछि नेपाली बैंकबाट टाढा हुन पुगेका राप्तीपारिका बासिन्दाले शनिवार पहिलो पटक आफ्नै घरदैलोमा बैंकिङ्ग सेवाहरु प्राप्त गरेका छन् । ‘सहकारी समेतले बैंकिङ्ग सेवा प्रवाह गर्न नसकेको ठाउमा हामी पुग्दा त ठूलै खुशीको सञ्चार पाइयो’, मेगा बैंक नेपालगन्जका प्रबन्धक शक्ति सिंह हमालले भने ।

मेगा बैंक लिमिटेड नेपालगन्ज शाखाको एउटा टोलीले राप्तीपारि बैंकको सम्भाव्यता अध्ययन संगै बैंकिङ्ग सेवाहरु बारे जानकारी दिएपछि नरैनापुर गाउँपालिका वडा नं.५ मटेहियाका १०० जनाले खाता संचालन गरेका छन् । ‘२ सय बढीले इच्छा देखाउनु भएको थियो’, प्रबन्धक हमालले भने, ‘हाम्रो एजेन्टले अब खाता खोल्ने कार्यलाई निरन्तरता दिनेछन् ।’

मटेहियामा मेगाले ब्रान्चलेश बैंकिङ्ग (बीएलबी) सेवा विस्तार गर्न लागेको हो । शनिबार दिन पनि नेपालगन्जका सबै कर्मचारी लिएर मटेहिया पुगेको मेगा बैंकले उक्त क्षेत्र बासिन्दाहरुका लागि पूँजी लगानी र निक्षेप सम्मका जानकारी प्रवाह गरेको छ ।

माओवादी द्वन्द्वको समयमा त्यस क्षेत्रमा रहेको नेपाल बैंक लिमिटेड विस्थापित भएपछि फत्तेपुर देखि कटकुईंया सम्म ७ वटा गाबिसका बासिन्दाहरु भारतीय बैंक प्रयोग गर्दै आएका थिए ।

‘मटेहियामा बीएलबी सेवा विस्तारको तयारी रहेको छ’, प्रबन्धक हमालले भने, ‘त्यस क्षेत्रका बासिन्दाहरु बैंक प्रति निकै उत्साहित भएको पाइएको छ ।’ ‘शनिवार भएको घरदैलो कार्यक्रममा स्थानीयहरुको उत्साह प्रशंसा योग्य रह्यो’, उनले भने, ‘गाउँमै बैंकिङ्ग सेवा भएपछि उक्त क्षेत्रमा आर्थिक उन्नती हुने अवस्थाहरु देखा परेको छ ।’

‘विभिन्न काम, कारोबार, ब्यवसाय गर्दा नेपालगन्ज आएर बैंकिङ्ग सेवा लिनु पर्ने बाध्यता हटाउने तयारी हुन लागेको हो’, हमालले भने, ‘एक महिना भित्र मटेहियामा बीएलबी सेवा सञ्चालन हुनेछ ।’ मेगाले यसअघि सम्शेरगन्ज र सितापुरको गाउ बस्तीमै ब्रान्चलेश बैंकिङ्ग सेवा उपलब्ध गराएको छ ।

‘ग्रामीण क्षेत्रमा रेमिट्यान्सको राम्रो सम्भावना रहेकाले पनि बैंकिङ्ग सेवा जरुरी महसुस गरिएको हो’, हमालले दैनिक नेपालगन्जस“ग भने, ‘मटेहियामा पनि रेमिट्यान्सको ठूलो सम्भावना देखिएको छ ।’ रेमिट्यान्सलाई खातामै पाइने भएपछि सेवाग्राहीले ठूलो लाभ लिनसक्ने हमालको भनाइ थियो । राष्ट्र बैंकले नै वाणिज्य बैंकहरुलाई ग्रामीण क्षेत्रमा बैंकिङ्ग सेवा उपलब्ध गराउन पटकपटक आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया