नेपालगन्ज – बडादशैंको आज नवौं दिन घर–घरमा नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूजाआराधना गर्दै महानवमी मनाइँदैछ । पूर्ण निष्ठाका साथ साधना गर्नेहरूमा सिद्धिदात्रीको आशिर्वाद प्राप्त हुने विश्वास छ ।
भगवान शिवले उनकै आराधना गरेर सिद्धि प्राप्त गरेको धार्मिक विश्वास छ । सोही कारण उनको आधा शरीर देवीको भएको र उनी अर्धनारिश्वर नामबाट प्रसिद्ध भएको धार्मिक मान्यता पनि छ ।
दायाँतर्फको तल्लो हातमा चक्र, माथिल्लोमा गदा, बायाँतर्फको तल्लो हातमा शंख, माथिल्लोमा कमल बोकेकी सिंहमा सवार देवीलाई सिद्धिदात्रीका रुपमा चिन्ने गरिन्छ । चामुण्डादेवीले रक्तबिज असुरको संहार गरेको दिनका रूपमा पनि महानवमीलाई लिइन्छ ।
नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।
नेपालगन्जको बागेश्वरी मन्दिरमा समेत पुजा आराधना गर्नेको भिड रहेको थियो । बागेश्वरी शक्तिपिठमा फुलपाती देखि सुरु भएको पशुबली दिनेको भिड आज पनि उस्तै देखिन्छ ।
त्यस्तै , घटस्थापनासँगै आइतबारबाट नेपालगन्जमा सुरु गरिएको रामलीलाले नेपालगन्जमा रौंनकता ल्याएको छ । नेपालगन्जका हरेक क्षेत्र , टोलबाट रामलीला हेर्नैकै लागि रामलीला मौदानमा पुग्ने संख्या दिनानुदिन बढ्दै गएको छ । प्रत्येक वर्ष झैं यसबर्ष पनि रामबाग स्थित रामलीला मैदानमा रामलीला मञ्चन सुरु गरिएको थियो ।
दशैको आज नवौ दिन बागेश्वरी मन्दिरको केही दृश्य :