‘मानिसहरु म क्रिकेटर बन्छु भन्दा पनि हाँसेका थिए र प्रधानमन्त्री बन्छु भन्दा पनि हाँसेका थिए । तर म मेरो सपनाप्रति गम्भीर थिएँ ।’ पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कतै भनेका छन् । सन् १९८२ देखि ९२ सम्म क्रिकेट कप्तानका रुपमा अन्तर्राष्ट्रिय मञ्चमा देशको नेतृत्व गरेका क्रिकेट लिजेन्ड इमरान खान अन्ततः पाकिस्तानको २२औं प्रधानमन्त्री चुनिन सफल भए । शान्ति, सदभाव र एकतामा विश्वास गर्ने उनी यतिबेला पाकिस्तानको सरकार प्रमुखका हैसियतमा दक्षिण एशियाली एकता र समृद्धिको यात्रामा जोड दिइरहेका छन् ।
खजुरा गाउँपालिका उपप्रमुख एकमाया बिकले एकल महिलाका पक्षमा आवाज मुखरित गर्दाखेरि पनि अधिकांसले खिसिट्युरी गरे होलान् । हाँसे होलान्, निधार खुम्च्याए होलान्, ओठ लेप्राए होलान् । किनकी मुद्दा अपत्यारिलो झैं लाग्थ्यो । विधवा महिलालाई रातो रंङ दिलाउनु चानचुने बिषय थिएन । विधवा महिलाका लागि चुरापोते, रातो टीका र रातो पहिरन त्यतिबेलाको समाजमा अघोषित प्रतिबन्ध जस्तै थियो ।
समतामुलक समाज निर्माणमा यी एकमायाहरुले धेरै संघर्ष गरेका छन् । के गरेनन् एकमायाको टिमले ? एकमाया, सबैभन्दा पहिले महिला, त्यसमा दलित, अझ त्यसमा विधवा । समाजको हेर्ने दृष्टिकोण हरेक चरणमा चिर्दै चिर्दै अघि बढ्नु उनको रहर नभइ बाध्यता थियो । आफैं विधवा हुनु नाताले समाजसँग धेरै बिषय र प्रसंगमा प्रस्ट हुनुथियो स्वयं आफैंलाई । बिभिन्न धर्मावलम्बीका धर्मगुरुसँग भेट गरे । धर्मशास्त्रमा विधवा महिलाले रातो पहिरनमा नहुनुपर्ने कहींकतै उल्लेख नभएको धर्मगुरुहरुले बताएपछि यिनीहरुको आन्दोलनले सार्थक रुप लिएको हो । ‘हामीले सबै धर्मका गुरुहरुलाई सोध्यौं, कहाँ लेखिएको छ ? सबै नाजवाफ हुनुभयो ।’ उनले भनिन्, ‘समाजले बनाएको चलन मात्र हो भन्ने गुरुहरुबाट थाहा पायौं ।’ श्रीमान गुमाएकी एक महिला त्यसैदिन निर्धो निर्बल भइसकेकी हुन्छे, फेरि यो समाज त्यही महिलालाई बारबार पीडा दिन थाल्छ । विधवा महिलाले मिठो खान नहुने, राम्रो लुगा लगाउन नपाइने, राम्री भएर बस्न नपाइने जस्ता कुरिती विरुद्ध लड्नैपर्ने थियो, र त एकमायाहरुले लडे ।
यो त्यही समाज हो, जहाँ विधवा महिलाहरुले अपहेलित भएर बस्नुपरेको पीडा कसैलाई सुन्न फुर्सद थिएन । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका भाषण फलाक्नेहरुले पनि यसतर्फ ध्यान दिएका थिएनन् । पति वियोगको पीडाले छटपटिएको विधवा मन शान्त पार्ने कुनै विधि र प्रक्रिया भेटिएका थिएनन् । सेतो पहिरनमा कालो मनको गिद्धे दृृष्टिसँग सामना गर्नु धौधो थियो, एकखालको सामाजिक असुरक्षा थियो । यस्तै अनेकन घुम्ती र मोडहरुबाट एकमायाको जीवनको खास यात्रा आरम्भ भएको थियो ।
२०५७ चैत २४ गते । दैलेखको नौमुले प्रहरी चौकी तत्कालीन सशस्त्र माओवादीको निसानामा पर्यो, दर्जनौं प्रहरी हताहत भए । त्यसमा एकमायाका श्रीमान पनि थिए । उनी नेपाल प्रहरीमा सेवारत थिए । तत्कालीन विद्रोही माओवादीसँगको भिडन्तमा उनी मारिए । यो दुखद खबर नेपालगन्जमा सुन्नासाथ उनी मुर्छित बन्न पुगिन्, जब होसमा आइन् उनले दुई छोरीको अनुहार सम्झिन् । ठुली सात बर्ष र कान्छी दुई बर्षका थिए । दुवैलाई काखमा लिइन्, र संकल्प गरिन्, ‘अब मैले रोएर बस्नुहुँदैन, केही गर्नुपर्छ ।’ तेस्रो दिनमा शव आइपुग्यो । दाहसंस्कार गरियो, १३ दिने काजक्रियाको काम पुरा भयो । ‘म अब विधवा भएकी थिएँ, हरेक कुरामा बार बन्देज हुँदै थियो । मिठो खान नहुने, राम्रो लुगा लगाउन नपाइने, राम्री हुन नपाइने ।’
दैनिक नेपालगन्जका लागि महानगरगाथाका संवादको क्रममा आइतबार उनी नोस्टाल्जिक भइन्, ‘दुई छोरीको लालनपालन, शिक्षा दीक्षाका लागि जिम्मेवारी त मेरै काँधमा थियो, यो पनि मैले बुझेकी थिएँ ।’ अब उनका संघर्षका कठिन दिन सुरु हुँदै थिए । उनी दुई छोरी गोंदमा लिइ संघर्षको मैदानमा पाइला टेकिन् निर्धक्क तथा निडरताका साथ । समकालीन समाजलाई उनले नजिकैबाट नियालिरहेकी थिइन्, समाजलाई राम्रोसँग बुझेकी थिइन् । सेतै पहिरनमा रहनुपर्ने बाध्यात्मक स्थिति आइसकेको थियो । उनले जेनतेन जीवन अगाडि बढाउने प्रयत्न गरिन् । मनमा भने अनेक तर्कना आउँथ्यो–‘सधुवालाई सेता पहिरन जायज, विधवालाई रातो बन्देज र नाजायज किन ?’ यसले सामाजिक विभेदलाई चित्रण गरेको उनले महसुस गरिन् । २१औं शताब्दीको समाजमा विभेदको प्रताडना पक्कै सह्यै थिएन । सेतो पहिरनलाई यात्राका क्रममा धेरैसँग स्पष्टीकरण दिंदै हिंड्नुपर्ने बाध्यता थियो । सेतोको अर्थ सफा हुन्छ, तर सेतोलाई फोहोर देख्ने दुखी आत्मासँग लड्नुपर्ने अवस्था जिवितै थियो ।
अझ संकटकालको समय थियो । राज्य र विद्रोही दुवै पक्षबाट जोगिनुपर्ने चुनौति थियो । सेतो पहिरनमा देख्नेबित्तिकै धेरैका मनमा उब्जिने आशंकाका कारण महिलाहरु असुरक्षित अनुभुति गर्दथे, जुन एकमायाले पनि गर्थिन् । पुरुषहरुको कुदृष्टि अर्को समस्या थियो । यौनहिंसाको शिकार हुनुपर्ने त्रास पनि छँदैथियो । स्वयं एकमाया एकपटक बर्दियाको गुलरियाबाट बसमा आउँदैथिइन् । बसमा यात्रु चढ्ने र उत्रने क्रम थियो । हरेक स्टेशनमा उनीसँगैको सिटमा बसेको मान्छे उत्रन्थ्यो, अर्को चढ्थ्यो र उनीसँगैको सिटमा बस्थ्यो, हरेकको प्रश्न यिनका कानमा ठोक्किन्थ्यो, सेतो पहिरन किन? विधवा कसरी भयो, कहाँ कहिले भयो आदि आदि । ‘एक त पतिवियोगको पिडा बिर्सन खोज्थ्यौं, फेरि सोधीसोधी घाउलाई आलो बनाइदिन्थे ।’ उनी भन्छिन्–‘अनि सबैको निस्कर्ष आउँथ्यो कठै बिचरा आदि शब्द ।’ उनकै विचारमा सहानुभुतिका शब्दले कमजोर मनलाई बलियो बनाउनुको साटो झन्झन् थिलथिलो बनाइदिएको आभाष हुन्थ्यो । कसैको दया र मायामा कति दिन रहने? मनमा यस्ता अनगिन्ती जिज्ञासा आइरहन्थे । तर यात्रा सहज थिएन । कठिन थियो । तैपनि चुनौतिका पहाड छिचोल्नैपर्ने थियो ।
पासाङ ल्हमु शेर्पाले सगरमाथाको चुचुरो चढिन्, एकमाया लगायत विधवा एकल महिलालाई जीवनको चुचुरो चढ्नु थियो । चितवनबाट ३२ सालमा बसाइसराइका क्रममा बाँकेको खजुरा आएकी एकमायाको चेतनाको स्तर पहिलेदेखि नै फराकिलो थियो । त्यसैले चुलोचौकामा सिमित हुनका साटो समाजका विविध गतिविधिमा समाहित हुँदै गइन् । महिला समुहहरुमा आवद्ध हुँदै गइन्, सहकारी लगायत बिभिन्न संघसंस्थामा प्रवेश बढाइन् । सशस्त्र द्वन्द्वका क्रममा मारिएका परिवारका सदस्यहरुसँग पनि भेट हुन थाल्यो । यसले उनीहरुलाई साझा समस्या पहिचान गर्न सहज बनाइदियो ।
सशस्त्र द्वन्द्वमा मारिएका परिवारमा पनि आपसी दुखसुख साटासाट गर्ने मौका पनि मिल्दै गयो । यसले उनीहरुलाई संगठित हुन प्रेरित गर्यो । २०५९ सालमा एकल महिला सञ्जाल गठन गरे । त्यसलाई विधिवत रुपमा २०६३ सालमा बाँके जिल्ला प्रशासनमा दर्ता गरे । त्यसलाई जिल्लाका २५ गाविसमा समुह बिस्तार गरेर क्षमता अभिवृद्धि र सशक्तिकरणका काम हुनेक्रममा थिए । एकातिर अभियान छेड्ने हुटहुटी चलेको थियो । अर्कोतर्फ कमजोर तुल्याउन खोज्ने, आलोचना गर्नेहरुको संख्या पनि त्यत्तिकै थियो ।
आलोचना त हरेक काममा हुन्छ । त्यसैले आलोचनासँग डराएर काम नगर्नु भनेको मुर्खता हो । आलोचनालाई बुझ्नुभन्दा पहिले आफ्नो लक्ष्यलाई आत्मसात गर्नु र आफुमा हिम्मत भर्नु सही बाटो पहिल्याउनु हो । एकमायाले यो राम्रोसँग बुझेकी थिइन् । बाटोमा धेरै तगारो तेर्सिनेछन्, छिचोल्दै जानुपर्नेछ भन्ने उनलाई भेउ थियो । त्यसैले द्वन्द्वग्रस्त बिभिन्न जिल्लाबाट नेपालगन्ज आएका महिला दिदीबहिनीलाई संगठित गर्ने कार्यमा यिनको सक्रियता ह्वात्तै बढ्यो । उता काठमाडौं जिल्लामा प्रशासन कार्यालयमा मानव अधिकारका लागि एकल महिला सञ्जाल दर्ता भइ क्रियाशील रहेछ । लिली थापा त्यसको संकल्पकर्ता थिइन् । उनका श्रीमान पनि नेपाली सेनामा कार्यरत थिए । शान्तिसेनामा गएका बेला लेबनानमा वीरगति प्राप्त गरेका रहेछन् । उनले यसरी एकल महिलाका पक्षमा आवाज बुलन्द पार्न थालिसकेकी थिइन्, एकल महिलालाई संगठित गर्न थालिसकेकी थिइन् ।
तत्कालीन मध्य तथा सुदुरपश्चिमको सुरक्षित थलोका रुपमा नेपालगन्ज रहेको हुँदा दैलेख, रुकुम, जाजरकोट लगायत जिल्लाबाट द्धन्द्धपिडित महिलाहरु यहाँ आउँथे । एकमायाको टिमलाई संगठित गर्दै अघि बढ्न उर्जा मिलिरह्यो । उनीहरुले बाँके नेपालगन्जलाई काठमाडौंसँग लिंक गरे । यो अभियानलाई देशव्यापी बनाउन सजिलो भयो । ‘एक महिलाको सवालमा हुने बहस र गोष्ठी जहाँ जहाँ आयोजना हुन्थ्यो, हामी त्यहीं पुग्थ्यौं । महिनामा तीन पटकसम्म काठमाडौं पुगेका छौं ।’ उनले सुनाइन्–‘संघर्षका ती दिन सम्झिदा अहिले पनि कहाली लागेर आउँछ, दिनभर अभियानमा जुटेर बेलुकी घर पुग्दा साना छोरीहरुका निन्याउरा अनुहार देखेर थप पिडाबोध हुन्थ्यो, तर हाम्रो लक्ष्य र उद्देश्यमा पुग्न हाम्रो त्यो दौडधुप त्यत्तिकै जरुरी थियो ।’
एक विद्धानले भनेका छन् नि, तिमी जति अप्ठ्यारो परिस्थितिबाट गुज्रिन्छौ, जति जोखिम उठाउँछौ, तिमी भित्र त्यति नै धेरै आत्मविश्वास र शक्ति बढ्दै जान्छ । एकमायाको संघर्षशील जीवनमा पनि यो लागु हुन्छ ।
एकमाया संगठनका काममा पोख्त हुन थालिसकेकी थिइन् । द्वन्द्व पीडित महिलाहरुलाई संगठित गर्ने काममा उनको लगाव देखेर आफन्तजनले सक्रिय राजनीतिमा लाग्न प्रेरित गरे, सुझाए । तत्कालीन नेकपा एमालेको जनवर्गीय संगठनमा ६० सालदेखि संगठित भएर काम गर्न थालिसकेको भएपनि अब पार्टी राजनीतिमा होमिन सुझाव आइरहेको थियो । यतिबेला यिनले रातो टीका सुरु गरिसकेकी थिइन् । उनलाई सम्झना छ, खजुरामै एक कार्यक्रम आयोजना भएको थियो । त्यसमा उनी लगायत दर्जनौं विधवा महिलालाई रातो टीका दिने कार्यक्रम थियो । त्यसमा उनले आफ्नो विचार प्रकट गरिन् । रातो पहिरनले विधवा महिलालाई कसरी सुरक्षा प्रदान गर्छ भन्ने आम मानिसलाई बुझाउन पर्यत्न गरिन् । महानगर गाथाका लागि रातो सलवार कुर्ता र रातो टीकामा आएकी उपप्रमुख एकमाया संवाद जति लम्बिदै गयो, उति खुल्दै गइन् । करिब दुई घण्टाको बसाइमा लाग्यो, यिनी आफ्नो विधामा पारंगत भइसकेकी रहिछन् । बेला बेला मुसुक्क मुस्काउँदै जवाफिने एकमायाको आँखामा अब दुखका आँशु छैनन् । दुख संघर्ष अभियान, आन्दोलनलाई नजिकबाट नियालेकी छिन् । हरेक मुद्दा अभियानबाट स्थापित हुँदो रहेछ भन्ने हेक्का पनि उनलाई छ । यो उनको आफ्नै अनुभव हो। एक महिलाको आन्दोलनले संविधानमै स्थान पाएको छ । एकल महिलालाई सामाजिक सुरक्षाको ग्यारेन्टी गरेको छ । ‘एकल महिलाका बिषयमा अझै बाझिने सवालहरु छन्, त्यसका लागि अझै हामी लडिरहेका छौं ।’ उनले अथ्र्याइन्–‘एकल महिलाले जति अधिकार, सेवा र सुविधा पाएका छन्, त्यो हाम्रो आन्दोलनका कारण पाएका छन् । यो भन्दा मलाई गर्व लाग्छ । कैयौं दिन प्रहरीका हिरासतमा बिताएका छौं, प्रहरीका लाठी खाएका छौं । तर न्यायको पक्षमा हाम्रो अभियान सार्थक बनेको छ ।’
एकल महिलाको आन्दोलनले उनलाई आन्दोलनको अग्रमोर्चामा रहन सिकायो । जीवनमा जति नै दुख परेपनि कहिल्यै नआत्तिनु किनकी बिहान हुनको लागि उषाका किरण सँगै शितका थोपा झर्नुपर्छ अनि खुशी हुनका लागि दुई नयनबीच आँशुका थोपा बग्नुपर्छ ।
त्यसैले २०६२÷६३ सालको जनआन्दोलनमा समेत उनले सक्रिय सहभागिता जनाइन् । आन्दोलनको अग्रमोर्चामा उनको उपस्थिति रहन्थ्यो । उनमा उच्च मनोबल, निडरता, निर्भिकता र दृढ इच्छाशक्ति छँदैथियो । उनको सक्रियताले नेतृत्वको नजरमा परिसकेकी थिइन् । यसरी दलगत राजनीतिमा उनको सक्रियता बढ्दै गयो । उनी २०६९÷०७०मा जिल्ला कार्यसमितिमा स्थान पाइन् । ७० को संविधान सभा निर्वाचनमा उनको नाम पनि सिफारिश भएको थियो । अन्तिममा सफल भएन । हाम्रो संवादका क्रममा उनले नेकपाका नेताहरु केपी ओली, माधव नेपाल, वामदेव गौतम, इश्वर पोखरेल र शंकर पोखरेलको नाम सम्झिइन् । कुनै गुट वा उपगुट भन्दा पनि जनताको न्यायका पक्षमा आफ्नो अभिमत रहेको उनले बताइन् ।
‘जतिसुकै अप्ठ्यारो आओस्, जतिसुकै दुख होस्, आफ्ना पाइला नरोक । त्यो अप्ठ्यारो, त्यो दुख सधैभरि रहन्न । ’ पाकिस्तानी प्रधानमन्त्री इमरान खानका यी भनाइ आत्मसात गर्ने हो भने एकमायाले यी सबै अप्ठ्यारो र दुखमा पाइला अगाडि बढाइरहिन् । त्यसैले त अहिले स्थानीय सरकार उपप्रमुखको जिम्मेवारीमा छिन् । जनतालाई न्याय दिने तहमा छिन् । जनताका बिचमा छिन् । विधवा, असाहय, निर्धा, निर्बलियाका पक्षमा न्याय दिलाउन लबिङ गरिदिने तहमा छिन् ।
एक विद्वानले भनेका थिए–‘मानिसहरु तब मात्र तिम्रो हात समाउँछन् जब उनीहरुलाई थाहा हुन्छ कि तिमी एक्लै पनि अगाडि बढ्न सक्छौ ।’ हो, एकमाया एक्लै पनि अगाडि बढ्न सक्ने भएपछि उनी जनताको पनि रोजाइमा परेकी हुन् । निष्ठा, त्याग र संघर्षले एक्लै हिंड्न सक्ने बनाएपछि खजुरेलीले उनलाई रोजे उपप्रमुखका रुपमा । उनको यात्रा लामो छ । यो यात्रा तय गर्न उनको दृढ इच्छाशक्ति र इमान्दारिता काफी छ । अब त दुई सन्तानलाई हुर्काइसकिन्, ठुली छोरीले बिएससी नर्सिङ गरिसकिन्, कान्छी पनि बिएचएम गरिरहेकी छिन् । त्यसैले त भन्छिन् –‘दुखका आँशु सँगाल्दै गएको भए समुन्द्र बन्थ्यो होला, अब त दुखका आँशु रित्तिसक्यो, बाँकी छन् त केवल खुशीका आँशु ।’