महेन्द्र पुस्तकालयको साधारणसभाः नेतृत्व सर्वसम्मत

महेन्द्र पुस्तकालयको आगामी नेतृत्वका लागि गरिएको सर्वसम्मत पहल सफल भएको छ । तदर्थ समितिका अध्यक्ष बलराम यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयनको पहल सफल भएको हो ।

समितिको उपाध्यक्षमा पंकज कुमार श्रेष्ठ, सचिवमा मणि अर्याल र सहसचिव धनमाया लुइटेल (ऋचा) निर्वाचित भएका हुन् । महिला सदस्यमा मिना ढकाल र अस्मिता कुमारी शाह सर्वसम्मत भए ।

कोषाध्यक्षमा अजय कुमार टण्डन र कृष्णादेवि पाण्डेको उम्मेदवारी परेको थियो । पाण्डेले फिर्ता लिएपछि कोषाध्यक्षमा टण्डन सर्वसम्मत भए । सदस्यहरुमा हरिप्रसाद तिमिल्सिना, अजयकुमार चौबे, श्यामबिहारी गुप्ता र कृष्ण प्रसाद श्रेष्ठले फिर्ता लिएका छन् । वीरेन्द्र प्रसाद जैसी, जमिल अहमद सिद्दिकी, वृजेश बहादुर सिंह, मो. आरिफ अन्सारी, सुनिल भण्डारी, जीवराज बम, मो. असफाक संघर्ष, अजय सिंह सिजापति, घनश्याम कुमार वैश्य लगायतले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिका सदस्य पूर्णलाल चुकेका अनुसार, सदस्य बाहेकका पदहरुमा चाहिएको जति उम्मेदवारी परेको छ । ‘कतिपयले फिर्ता पनि लिनुभएकाले सर्वसम्मत चयन प्रक्रियामा सफलता मिलेको छ’, निर्वाचन समिति सदस्य चुकेले दैनिक नेपालगन्जसँग भने, ‘कार्यसमिति सदस्य पदका लागि पनि फिर्ताको समय रहेकाले सर्वसम्मतको सम्भावना कायमै छ ।’

दुई दशकपछि नेतृत्व परिवर्तनका लागि भएको अधिवेशनबाट पहिलो पटक ठूलो संख्यामा थपिएका आजिवन सदस्यहरुले नेतृत्व परिवर्तनका लागि साधारणसभामा सहभागिता जनाएका थिए ।

आज बुधबार दुई बजेसम्मबाट मतदान शुरु गरिदैछ । ‘सर्वसम्मत हुन सकेन २–४ बजेको समय मतदानका लागि तोकिएको छ’, चुकेले भने ।

त्यसअघि मंगलबार नगर प्रमुख प्रशान्त विष्टले पुस्तकालयको १७औं साधारणसभा उद्घाटन गरे । तदर्थ समितिका अध्यक्ष बलराम यादवको अध्यक्षतामा भएको अधिवेशनको बन्दसत्रमा दुई दशकदेखि हरहिसाब फरफारक नभएको अघिल्लो सञ्चालक आलोचना भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया