डा. राजकुमार सुवेदी
बागीश्वरीदेवीको उत्पत्ति : नेपालगन्ज नं. पा. वार्ड नं.२ मा अवस्थित वागेश्वरी मन्दिर यस क्षेत्रकै हिन्दू धर्मावलम्वीहरूको महत्वपूर्ण तथा पवित्र धार्मिक तीर्थस्थल हो । यहाँ हिन्दू समुदायका मानिसहरू दैनिक रूपमा पुजाआजा गर्न आउछन् । हिन्दू धर्मावलम्वीहरूको अलावा अन्य धर्म मान्ने मानिसहरू पनि वागेश्वरी मन्दिर आउने गर्दछन् । बुद्धिष्ठ र शिखहरू सहजै मन्दिर भित्र पसि पूजाआजा गर्ने गर्दछन भने मुस्लिम र क्रिश्चियनहरू मन्दिरको ढोकासम्म आई फूल प्रसाद भित्र पठाउँछन् । कतिपय गैह् हिन्दूहरू भने मन्दिरमा मेला लागेको बेला घुम्न र फोटो खिच्न आउने गर्दछन् । केही वर्ष पहिले एक जना क्रिश्चियन पुरूष र हिन्दू महिला मन्दिर भित्र अन्तर धार्मिक बिवाह गरेका थिए । भेषभुषाबाट अन्य धर्मका मानिसहरूलाई चिन्न नसकिने हुँदा छुट्याउन गाहे भएकोले सवैका लागि मन्दिर खुला भएको भनाई वागेश्वरी मन्दिरका मूल महन्त हरिहरनाथ योगीको छ ।
बागीश्वरी देवीको उत्पत्ती सम्बन्धमा विभिन्न जनश्रुतिहरू छन् । पहिलो जनश्रुतिअनुसार बागीश्वरी देवीको सम्बन्ध डोल्पा जिल्लाको कोटगाँउको कोटगडीमा अवस्थित त्रिपुरा सुन्दरी भगवतीसँग रहेको देखिन्छ । यसअनुसार वि.सं. १४११ सम्म कोटगडीको उच्च टाकुरामा एउटा साधारण ढुङ्गाको ओखल थियो । गाँउबाट केही टाँढा भए पनि मानिसहरू उक्त ओखलमा जति धान कुट्यो त्यति धेरै चामल आउँछ भन्ने विश्वास गर्दथे । उक्त तथ्यको रहस्य पत्ता लगाउन एक जना कुमाई विष्टले ओखल खन्न थाले । पहिलो दिन ओखलको पिंध छिचोल्न नसकी घर फर्की आए । भोलिपल्ट खनेको ठाँउ जस्ताको तस्तै देखियो । अब रात दिन उक्त ओखल खन्ने निधोका साथ खन्दा अर्को दिन विहान ओखलको पिंध मुनि सिंहासनमा बसेकी श्री भगवती त्रिपुरा सुन्दरीका ९ वटा मूर्ति र मूर्तिको शिरमा भरिपूर्ण घडासहित दर्शन पाउने सुअवसर कुमाई विष्टले पाय । यस्तो दृश्य देखे पछि कुमाई विष्टले घ्युको घडा झिकी पर सारे । तत्काल ९ वटै भगवतीका मूर्तिहरू अलप भई ९ वटा पुतलीको रुपधारण गरी उडेर गए । तीमध्ये पहिलो, बाजुरा जिल्लाको बडिमालिका भगवतीको नामले प्रसिद्ध भइन् । दोश्रो, जुम्लाको हाटसिजा गाउँमा पुगेर कनिका सुन्दरी भगवतीको नामले प्रसिद्ध भइन् । तेश्रो, जाजरकोटको तल्लुमा पुगिन् । चौथो, सल्यानको खैरावाङ्ग भुवनेश्वरी भगवतीको नामले प्रसिद्ध भइन् । पाँचौ, अर्घाखाँची पुगिन् । छैटौं, नेपालगन्ज पुगेर बागीश्वरी भगवतीको नामले प्रसिद्ध भइन् । बाँकी तीन बहिनी बाला, त्रिपुरा र सुन्दरी उडेर भाग्न खोज्दा कुमाई विष्टले समात्यो । त्यस पछि ऊ बेहोस भएर लड्यो र देवी चढी हामी ९ बहिनी भगवती हौं । अरु विभिन्न ठाउँमा गएर बसे हामी बाला, त्रिपुरा र सुन्दरी भगवती हौं । तिमी कुमाई विष्टले हाम्रो पुजाआजा गर्दै राम्रो तरह सँग सुरक्षित गरि राख्नु भनी बोले। यसरी बाला, त्रिपुरा र सुन्दरी डोल्पामा रही एकै शक्ति भई बाला, त्रिपुरा र सुन्दरीको नामले प्रसिद्ध भए ।
दोश्रो कथन अनुसार भारतको तुलसीपुरमा रहेको पाटनदेवीको मन्दिरमा एउटा बाघ देखिएछ । उक्त बाघले त्यहाँका मानिसहरूलाई दुःखः दिएकोले त्यहाँका मानिसहरूले लखेट्दै हाल बागीश्वरी मन्दिर भएको ठाउँमा आई पुग्दा बाघ गुफा भित्र पसी त्यहाँ रहेको एउटा प्वालमा पसेछ । मानिसहरूले बाघको पत्तो लगाउन उक्त प्वालमा बाँस घुसारे तर बाघको पत्ता लागेन । पछि बाँस झिक्दा बाँसको टुप्पोबाट रगत चुहियो र प्वालबाट पनि रगत निस्की बागीश्वरी मन्दिरको पुर्व पट्टि पोखरी भरियो। मानिसहरूले त्यही प्वाललाई देवी मानि स्थापना गरे ।
तेश्रो कथन अनुसार प्राचीन समयमा बागीश्वरीको आसपासमा जंगल भएकोले आसपासका गोठालाहरू भंैसी चराउने, डोरी बाट्ने काम गर्दथे । त्यहाँ रहेको एउटा ढुङगामा खर पिटने काम पनि गर्दथे । एकदिन एउटा गोठालाले उक्त ढुङ्गामा अलौकिक शक्तिरहेको विश्वास गरी पुजाआजा गर्न थाले । कालान्तरमा उक्त ठाउँमा नै बागीश्वरी देवीको स्थापना भएको अनुमान गरिएको छ ।
चौथो कथन अनुसार हाल बागीश्वरी मन्दिर भएको ठाँउमा सतीदेवीको जिब्रो पतन भएको थियो । त्यसैले शुरुमा यसको नाम बाक्येश्वरी, त्यसपछि बाग्येश्वरी हुँदै बागीश्वरी भयो । दुर्गासप्तसती देव्याकवचको ३३ श्लोकमा “रोम कुपेषु कौवेरी त्वच बागेश्वरी तथा “ लेखिएबाट यस कुराको पृष्टि हुन्छ । जहाँ–जहाँ सतीदेवीको अङ्गहरू पतन भएका छन् । त्यहाँ त्यहाँ खाल्डाहरू बनेका छन् । किनकी सतीदेवीको अङ्ग पृथ्वीले धान्न नसक्दा खाल्डो हुन गयो । यहाँ पनि जिब्रो पतन हुँदा पृथ्वीले धान्न नसक्दा खाल्डो हुन गयो, जुन खाल्डो आज पनि बागीश्वरी मन्दिरको भित्र देवीको मुर्ति मुनि छोपेर राखिएको छ । यो खुल्ला दर्शनमा मात्र देख्न सकिन्छ । भारतीय उपमहाद्विपमा यस्तो खाल्डो भएको बागीश्वरीको मन्दिर कहीं पनि छैन । यसले गर्दा पनि यस ठाँउमा सतीदेवीको जिब्रो पतन भएको कुरालाई नकार्न सकिदैन । तर प्राचीन धार्मिकसाहित्यहरूमा सतीदेवीका अङ्ग पतन भएका ठाउँहरूको सुचीमा नेपालगन्जको कतै उल्लेख छैन । तर त्यस बेलामा यो ठाउँ घनघोर जङ्गलको बीचमा भएको हुदां स्थानको नामाकरण नभएको र त्यहाँ सिद्धपीठ बागीश्वरी देवीको उत्पत्ती भएको धेरै समय पछि मात्र यस स्थानको नामाकरण भएको हुन सक्दछ ।
पाँचौ कथन अनुसार आज भन्दा २००० वर्ष अगाडि यो ठाउँ घनघोर जङ्गलले ढाकिएको थियो । नेपाल र भारत तिर्थ यात्रा गर्ने तिर्थ यात्री र तपस्वीहरू यहि ठाँउको बाटो भएर आउने जाने गर्दथे । त्यसैक्रममा नेपालबाट भारत जान लागेका २ जना महात्मा (गुरु र चेला) यस ठाँउमा बास बस्न पुगे छन् । देवीको स्थान भएको नजिकै सुतिरहेको बखत गुरु महाराजलाई सपना भयो । जगदम्बा देवीको दर्शन भई मेरो स्थान यतै कतै छ भन्ने वाणी भयो, गुरु महाराज ब्युँझे । चेलालाई उठाए र देवीको स्थान खोज्न थाले । दिनभरको परिश्रमपूर्ण अन्वेषण पछि साँझ सुर्यास्तको समयमा एउटा गहिरो खाल्डो भेटियो जो देवीको स्थान थियो । त्यस पछि गुरु र चेलाको सल्लाह बमोजिम त्यस ठाँउमा मन्दिरबनाउने निधो भयो । उक्त स्थान नजिकै पूर्व तिर एउटा ठुलो पोखरी थियो । त्यँहाको पानी, माटो ल्याई मन्दिर बनाउन थाले, गुरु र चेला दिनभरी मन्दिर बनाउँथे । राति मन्दिर भत्किन्थ्यो । मन्दिर भत्किने क्रम छैठौं दिनसम्म चल्यो । सातौं दिनको विहानी पक्षमा गुरुलाई स्वप्न भयो कि देवीको स्थानमा बली नचढाएर मन्दिर बन्दैन । यस कुराले गुरु आत्तिए धार्मिक तपस्वी गुरु तिर्थ यात्रा गर्न भनेर हिडेंको व्यक्तिले जङ्गली जनावरको बली दिन चाहेनन् । उनले स्वंयम आफैं देवीको लागि जीउंदै समाधि दिने विचार गरे यस कुराले गुरु र चेलाको मतभेद भयो । चेलोले आफु समाधि लिने कुरा गुरुलाई भन्यो । गुरुले मानेनन् अन्तमा गुरु नै देवीको लागि जिँउदै समाधिमा बसे । चेलाले उनलाई माटोले पुरिदियो ।
त्यसको भोलिपल्ट देखि चेलाले मन्दिर बनाउन थाल्यो र मन्दिर पनि बन्यो । ती गुरु महाराजको समाधि आज पनि बागीश्वरी मन्दिरको पुर्वमा रहेको पिपलको बोटको पुर्वी छेउमा अवस्थित छ । त्यस पछिको समयमा चेलाले देवीको पुजाआजा गर्दै आयो । अनि उसका छोराहरूले पुजाआजा गरे । यो क्रम पछि सम्म पनि चलिरह्यो । ती चेला पुजारीका २४ औं पुस्तामा हालका बागीश्वरी मन्दिरका मुलमहन्त हरिहरनाथ योगी र चन्द्रनाथ योगीले देवीको पुजाआजा गर्दै आएका छन् ।
बागीश्वरी मन्दिरको प्राचीन स्वरुप : प्राचीन बागीश्वरी मन्दिर हालको स्वरुपमा थिएन । धार्मिक शक्तिले मान्यता पाएपछि जनश्रुतिअनुसार यो ठाउँमा माटोले बनाइएको सानो मन्दिर थियो । उक्त मन्दिर एउटा गुफा जस्तै थियो । जमिन सतहदेखि ८ फिट तल पुगेपछि मात्र देवीको दर्शन गर्न मिल्दथ्यो । भनिन्छ, बन्द प्रदक्षिणा पथ रहेको उक्त मन्दिरमा प्रवेश गर्न ज्यादै डर लाग्दथ्यो । मन्दिरको प्रवेशद्वार पूर्वतिर थियो । जङ्गलमा पाइने काठ र खरद्धारा छाइएको उक्त मन्दिर घनघोर जङ्गलको बीचमा भएकोले पनि यो डर लाग्दो हुनु स्वाभाविकै हो ।
सन् १२६७ भाद्र सुदी ५ का दिन तत्कालीन भारत बलरामपुरका महाराजा दीर्घविजय सिंह अनेक ठाउँको शक्ति पीठहरूको दर्शन गर्ने क्रममा यहाँ पनि आएका थिए । यो क्षेत्र तत्कालीन समयमा बलरामपुर राज्यअन्तर्गत पर्दथ्यो । यिनको निर्देशनमा जनसाधारण, साधु, सन्त, महन्तको सहयोगमा पहिले बनेको प्राचीन मन्दिरलाई नयाँ स्वरुप दिइयो । खरले छाएको उक्त प्राचीन मन्दिरलाई सुर्की चुनाको छाना हाली एक तले बनाइयो । त्यस पछिका दिनहरूमा मन्दिरको पुनर्निर्माण र जीर्णोद्धारका कार्यहरू भई नै रहे ।
बागीश्वरी मन्दिरको वास्तुकला
हालको बागीश्वरी मन्दिर उत्कृष्ट कलाकृतिमा निर्माण भएको छ । पगौडा शैलीमा निर्मित तीन तले यो मन्दिर पशुपति नाथको मन्दिरको शैलीमा बनेको जस्तो देखिन्छ । मन्दिरको आधार तह वर्गाकार परिधिमा बनेको छ । ाधारतह चारै दिशामा ११ मि. ९० से.मि. को परिधिमा बनाइएको छ । आधार तहको चार दिशामा मन्दिर प्रवेशको लागि सिढिहरू बनाइएका छन । चारै दिशामा प्रवेशद्वारहरू बनाइए पनि पूर्व, उत्तर र दक्षिणको प्रवेशद्वारहरू खुला रहन्छन् भने पश्चिमको बन्द रहन्छ । सिढिको दायाँबायाँ धातुद्वारा निर्मित सिंहहरू स्थापित गरिएका छन् । जुन नेपालगंज १५ निवासी मथुराप्रसाद दबगरले निर्माण गराएका हुन् । मन्दिरको बाहिरपट्टि खुला प्रदक्षिणा पथ छ, जसको चारैतिर सिमेन्टद्वारा निर्मित २४ वटा गोला र ४ वटा चौकोण खम्बाहरू छन् । खुला प्रदक्षिणा पथको वरिपरि फलामे रेलिङ्गमा १०८ वटा फलामका पालाहरू बनाइएको छ । नवदुर्गा र अन्य यस्तै अवसरहरूमा यी पालाहरूमा बत्ती बाल्ने गरिन्छ । प्रदक्षिणापथको चारैैतिर ठूला–ठूला घण्टहरू झुन्डाइएका छन् । जसलाई भक्तजनहरूले मन्दिर प्रवेशको क्रममा बजाउने गर्दछन् । मन्दिरको दोश्रो तह जुन २५ मि. वर्गाकार परिधिमा बनाइएको छ । यस मन्दिरमा चारवटा प्रवेशद्वारहरू बनाइएका छन् । प्रायः देवीको मन्दिरमा एउटामात्र प्रवेशद्वार हुन्छ । सूर्यको प्रकाश कम आउने ठाउँमा देवीको दर्शन गरिन्छ । यहाँ चार प्रवेशद्वार बनाउनुमा तत्कालीन मन्दिर निर्माताहरू मन्दिर निर्माण कार्यमा अनभिज्ञ रहेको, केवल धार्मिक विश्वास मात्रै राख्ने भएकाले यस प्रकारको बनाइएको हुनुपर्छ ।
मन्दिरको छानाहरूलाई अड्याउनका लागि कलात्मक टुँडालहरू बनाइएका छन् । दोश्रो र तेश्रो तलामा राखिएका आँखीझ्यालहरूले मन्दिरको शोभा बढाएका छन् । मन्दिरका दुईवटै छानाहरू धातुद्वारा निर्माण गरिएका छन् । मन्दिरको सबभन्दा माथि पञ्चधातुद्धारा निर्मित कमलको फूलमाथि गजुर बनाइएको छ । मन्दिरको वरिपरि घण्टहरू झुण्डाइएका छन् । मन्दिरको पूर्वी प्रवेशद्धारको दायाँबायाँ नेपालको राष्ट्रिय झण्डा स्थापित गरिएको छ । मन्दिरभित्र बीचमा बागीश्वरी देवीको गर्भगृह छ त्यसमाथि बागीश्वरी देवीको प्रतिमा स्थापित गरिएको छ । मन्दिरभित्र र बाहिर भित्ताहरूमा खोपा बनाई विभिन्न देवी देवताका मूर्तिहरू स्थापित गरिएका छन् । मन्दिरको ठीक अगाडि अग्निगर्भ र नजिकै साधुसन्तको बसोवासका लागि धर्मशालाहरू बनाइएका छन् ।
बागीश्वरी मन्दिरको धार्मिक पक्ष : बागीश्वरी मन्दिर हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । धार्मिक देवी देवताहरूमा बागीश्वरी देवीको स्थान महत्वपूर्ण मानिन्छ अध्ययन सुविधाको दृष्टिकोणले मन्दिरको धार्मिक पक्षलाई विभिन्न चरणमा विभाजित गरी अध्ययन गरिएको छ ।
पूजा–विधि : बागीश्वरी मन्दिरमा देवीको दैनिक नित्य पूजा–आजा गरिन्छ । यो पूजा मन्दिरको मूल महन्त पुजारीले गर्नु पर्दछ । बिहानको नित्य पूजा ३ बजे देखि ४ः३० बजेसम्म सकिनु पर्दछ । पूजा गर्दाको बखत पुजारीले मन्दिरको चारै ढोका बन्द गरी मुखमा पट्टि बाँधी तान्त्रिक र वैदिक योग्य विधिबाट पूजाआजा गर्दछन् । यस बखतमा राजा वा प्रजा कसैले पनि देवीको दर्शन गर्न पाउँदैनन् । मंगलवारको दिन देवीको विशेषरुपले पूजा–आजा गरी रोट चढाइन्छ । बेलुकाको पूजा सन्ध्या कालमा गरिन्छ । नित्य पूजामा डंका (दमाहा) र घण्टाहरू पूजा अवधिभर बजाइन्छ । ११ महाअष्टमी तथा महा–नवरात्रिमा यहा धुमधामका साथ पुजाआजा गरिन्छ । यी दुवै अवसरमा देवीको पुजाआजा धुमधामका साथ मनाउन नेपाल सरकारले साविक बमोजिम दिएको रकम रु. ३९६२÷–(वार्षिक) मालपोत कार्यालय बाँकेले दिन्छ । त्यस रकमबाट राष्ट्रकल्याण, जनकल्याण र राजकल्याणका लागि पञ्चवली दिने चलन छ ।
पुजारीको प्रचलन : बागीश्वरी मन्दिर र देवीको उत्पत्ति सँगसँगै नित्य पुजाआजा गर्ने परम्परा रही रहयो । स्थानिय बासिन्दा र बुढापाकाको भनाई अनुसार सबभन्दा पहिले यहाँ पुजारीको रुपमा यहाँका स्थानिय थारुहरू थिए । नेपालमा ‘नाथ’ सम्प्रदायको व्यापक प्रभाव भएपछि ‘नाथ’ सम्प्रदायका सिद्धयोगी ‘सिद्धनाथ’ ले बागीश्वरी मन्दिरका पुजारी थारुहरूलाई हटाई त्यँहा पुजा गर्ने सम्पुर्ण जिम्मा आफ्m्नो हातमा लिएका थिए । त्यस समय देखि आज सम्म पनि बागीश्वरी देवीको पुजाआजा गर्ने कार्य “नाथ” सम्प्रदायका ‘कनफट्टा’ योगीहरूले चलाई रहेका छन् । नाथ सम्प्रदायको हातमा बागी श्वरी देवीको पुजा गर्ने अधिकार श्री ३ चन्द्र शम्शेरको पालामा उनले सनद पत्र जारी गरी अधिकार दिएबाट सो कुराको पुष्टि हुन्छ ।
वागीश्वरी देवीको पुजा गर्ने पुजारीको मृत्यु भएमा तिनीहरूलाई मन्दिरको वरिपरि नै गाडिने चलन छ । यसरी गाडिने क्षेत्र मन्दिरको पूर्व तिर पिपल बोट नजिकै देब्रे पट्टि पर्दछ । पुजारीका शवहरू गाड्ने क्षेत्रलाई ‘समाधि क्षेत्र’ भनिन्छ । उक्त समाधि क्षेत्रमा रहेको सबभन्दा ठुलो र अग्लो समधि सिद्धयोगी सिद्धनाथको हो । उनले जिउँदै समाधि लिएका थिए । त्यसैले उनको समाधिलाई जिउदो समाधि भनिन्छ । मानिसहरू अहिले पनि उनलाई जिउदै छन भन्ने विश्वास गर्दछन् । उक्त समाधि कालक्रमको खण्डमा जीर्ण भएको थियो । राजा श्री ५ महेन्दले वि.स. २०१५ सालमा नेपालगञ्ज आँउदा श्री डा. योगीराज रामनाथ अघोरी बाबाले विन्ती पत्र जाहेर गरी स्थानिय व्यक्ति श्री भुवनेश्वरी शर्मा खनालले जीर्णोद्धार गरेका थिए । सिद्धयोगी सिद्धनाथको जिँउदो समाधि वरिपरि अरु २४ वटा स–साना समाधिहरू छन । ती समाधिहरूमा शिवलिङ्गहरू राखिएका छन् । जसले बागीश्वरी देवीको पुजा गर्ने कार्यमा ‘नाथ सम्प्रदाय’ ले प्रवेश गरी हालसम्म २४ जना पुजारीहरूले पुजा आजा गरी सकेको पुष्टि हुन्छ ।
देवी प्रति धार्मिक विश्वास: बागीश्वरी देवीको धार्मिक विश्वास उक्त मन्दिर मा दिन दिनै श्रद्धाको साथ दर्शन गर्न आउने यात्रुहरूको संख्याबाट नै बुझ्न सकिन्छ । प्रत्येक शनिवार त्यहाँ कुनै जात्रा विशेष पर्व जस्तो हुन्छ । बिहान देखि दर्शन गर्न आउनेहरूको लष्कर लागेको हुन्छ । त्यहाँ नेपालका विभिन्न भागहरूका साथै भारतको बहराईच, लखनऊ, कानपुर, हरियाणा आदि ठाँउबाट तीर्थ यात्रुहरू आउने गर्दछन ।
महाष्टमी र रामनवमीका दिनहरूमा यहाँ हजारौ मानिसको भीड एकत्रित हुन्छ । विभिन्न क्षेत्रबाट देवीको दर्शन गर्न र भाकल पुजा गर्न आएका श्रद्धालुहरू सर्वप्रथम पोखरीमा स्नान गरी देवीको दर्शन गर्दछन। सिद्ध हुन चाहने व्यक्तिहरूको केहि निश्चित धार्मिक क्रिया पुरा गरी अष्टमी र नवमीकोदिन सुईरोले जिब्रो छेडी सुईरो साथ बागीश्वरी देवीको परिक्रमा गर्दछन । कोही भने मन्दिरको बाहिरी गेट देखि हात खुट्टा दुवैले नटेकी घस्रिदै देवीको दर्शन गर्दछन । बागीश्वरी माथि अटुट श्रद्धा र भक्ति भएका भक्तहरू फलामको सुईरोले जिब्रो छेड्दा पनि पीडा अनुभव गर्दैनन् । पुजारीहरूको भनाई अनुसार एक पटक एकजना भक्तले आफ्नो जिब्रो नै देवीलाई चढाएको थियो । आफ्नो औला काटी रगत चढाउने कार्य भने धेरै जसो भई नै रहने जानकारी पनि पुजारीहरूले दिए । नवरात्रिको बेलामा ठुला–ठुुला विद्धानहरूद्धारा शतचण्डी महायज्ञ सम्पन्न गराउने गरिन्छ । चतुर्मास भरी विभिन्न पुराण एंव चतुर्मास महात्म्यको पाठ प्रवचनको व्यवस्था पनि त्यहाँ गरिन्छ । बेला बेलामा अरु धर्मावलम्बीका मानिसहरू पनि बागीश्वरी देवीको प्रसाद गेट बाहिर लिने कुरा त्यहाँका मुल महन्त योगीले बताए ।
मन्दिर प्रति आधुनिकताको प्रभाव : धार्मिक श्रद्धाका साथ मन्दिर जानु देवी देवताको दर्शन गर्नु मानव को आस्तिक परम्परा हो । तर आजभोली मन्दिर जाने फेसन बनेको छ । अरुको देखासिकी गरेर राम्रो कपडा र गहना–गुरिया प्रदर्शन गर्न पनि कतिपय मानिसहरू मन्दिर जाने गर्दछन । अझ शनिबारको दिन प¥यो भने त खास गरी १५ देखि २० वर्ष सम्मको केटा–केटीहरू प्रशस्त मात्रामा मन्दिर जाने गर्दछन । यी मध्ये ५० प्रतिशत भन्दा बढि धार्मिक आस्थाका लागि मात्र नभै अन्य कारणले पनि मन्दिर जाने गरेको पाइयो । गृहस्थ जीवनमा प्रवेश भैसकेका अधवैसेहरू, साथै बुढापाकाहरू भने बढि भन्दा बढि मन्दिर गै आफ्नो मनोकांक्षा पूर्ण होस् भनी बागीश्वरी देवीसँग प्रार्थना गर्दछन् । नवदुर्गा, महाष्टमी र रामनवमीमा मानिसहरूको खचाखच दर्शनको लागि भीड लाग्दछ । यस क्षेत्रमा पटक–पटक हुने गरेको धार्मिक दङ्गाहरूको कारण पनि यहाँका मानिसहरू हिन्दु धर्म र देवी–देवताप्रति अगाध श्रद्धा तथा भक्ति प्रकट गरेका होलान् ।
यहाँका स्थानीय बासिन्दाहरू धेरैको संख्यामा व्यापार गरी बसेको र व्यापार फस्टाउनका लागि देवी देवताको कृपा हुनु पर्ने विश्वासको मान्यताले पनि प्रायः बिहान बेलुका बागीश्वरीमातासँग आफ्m्नो व्यापार वृद्धि होस् भनी प्राथना गर्ने गर्छन् । वाक्यसिद्धि देवी बागीश्वरी माताले भक्तहरूको मनोकांक्षा पूर्ण गराउनु हुन्छ भन्ने विश्वासले पनि समाजमा राम्रै मान्यता पाएको छ । बेला बेलामा बच्चाहरूको छेवर, विवाह, ब्रतबन्ध गर्ने परम्पराले पनि आधुनिक समाजमा राम्रो स्थान ओगटेको छ ।
बागीश्वरी मन्दिरमा स्थापित मूर्तिहरू
बागीश्वरी मन्दिरमा विभिन्न देवी देवताको मूर्तिहरू स्थापित गरिएका छन्, जसलाई क्रमशः चर्चा गरिन्छ ः
(१) हनुमान ः– मन्दिरको पूर्वी प्रवेशद्धारको दाँया भित्तामा प्रस्तरद्धारा बनाइएको उभिएको अवस्थामा दायाँ
हातमा गदा र बायाँ हातमा द्रोणाचल पहाड उठाइएको देखाइएको छ ।
(२) गणेश ः– मन्दिरको पूर्वी प्रवेश द्धारको बायाँ भित्तामा प्रस्तर द्धारा बनाइएको कमलको फूलमाथि पद्मासनमा बसेको शिरमा मुकुट लगाएको मूर्ति स्थापित गरिएको छ ।
(३) भैरव ः– गणेशको मूर्तिसँग भैरवको पनि मूर्ति छ । प्रस्तर द्धारा निर्मित मुकुट लगाएको कानमा कुण्डल दाह्ी पालेको ६ हात मध्ये ३ हातमा तरवार, त्रिशुल र खप्पर लिएको र अन्य ३ हातमा ब्रम्हशिर, शंख र एउटा हात अभय मुद्रामा राखिएको छ ।
(४) विश्वकर्मा ः– मन्दिरको दक्षिण प्रवेशद्धार सँगै मुकुट लगाएको विश्वकर्माको दाह्ी, जुँगा, घाँटीमा माला
र गहना लगाएको, पिताम्बर धोती लगाएको, २ हातमा विश्वकर्मा पुराण र नाप जोख गर्ने साधन र अन्य २ हातमा स्केल र कमण्डलु समातेको देखिन्छ ।
(५) महाकाली ः– मन्दिरको उत्तर दिशामा प्रवेशद्धार बाहिर ५ फिट अग्लो मुण्डमाला लगाएको शंकरजी माथि
उभिएको महाकालीको मूर्ति बनाइएको छ । निधारमा टीका, कानमा कुण्डल, हातमा चुरा, खुट्टामा पाउजेब, बायाँका २ हातमध्ये तरवार र अर्को हात खाली, दायाँ २ हातमध्ये नरमुण्ड र खप्पड समातेको देखिन्छ ।
(६) बगलामुखी देवी ः– प्रवेशद्वारको बायाँतिर भित्तामा शिरमा मुकुट लगाएको, घाँटीमा माला, हातमा चुरा, गोडामा पाउजेब, दायाँ हातमा गदा, बायाँ हातले राक्षसको जिब्रो थुतिरहेको बगलामूखी देबीको मूर्ति प्रतिस्थापित गरिएको छ । देवीको नजिकै राक्षसको मूर्ति बनाइएको छ । राक्षस घुंडा टेकिरहेको अवस्थामा हातमा तरवार र ढाल समातेको देखिन्छ ।
(७) सरस्वती ः– मन्दिरको भित्र पूर्वी प्रवशेद्धारको दायाँतिर भित्तामा सरस्वतीको मूर्ति स्थापित गरिएको छ ।
शिरमा मुकुट, कानमा गहना, एक हातमा माला र अर्को हातले बिणा समातेको, हाँसमा आसिन सरस्वतीको मूर्ति कलात्मक बनाइएको छ ।
(८) अखण्ड दीप ः– मन्दिर भित्र दक्षिणतिर भित्तामा अखण्ड दीप माटोको पालामा कपासको बत्ती अखण्ड
रुपमा बाल्ने गरिन्छ । यो दीप निभेमा भारत तुलसीपुरस्थित पाटन देवीबाट बत्ती बालेर ल्याउनु पर्दछ भन्ने बिश्वास छ ।
(९) गर्भगृहस्थित देवीको मूर्ति ः– मन्दिरभित्र गर्भगृहमा करिब ४ मिटर ५० सेन्टीमिटर परिधि र ७० से.मि. उचाईमा अष्टकोण बनाइएको छ । अष्टकोणमाथि मध्य भागमा बागीश्वरी देवीको प्रतिमा राखिएको छ । मूर्तिलाई नाग र नागलाई छत्रावलीले ढाकिएको छ । यो मूर्तिको ठीक तल गहिरो खाडल छ । खाडलको केही तल ४, ५ वटा डण्डीहरू जालिको रुपमा राखिएको छ। त्यस जालि माथि ढुङ्गा राखिएको छ । अष्टकोणमाथि छाता भएको चाँदीको सिंहासन छ । सिंहासनको दुवै तिर सिंहहरू छन् । सिंहासन माथि देवीको शिला छ । शिला जिब्रो आकारमा उठेको छ । उक्त शिलालाई नै साक्षात बागीश्वरी देवी भनी पुजाआजा गरिन्छ ।
साक्षात बागीश्वरी देवीको दर्शन र पुजाआजा गर्ने प्रक्रियालाई खुला दर्शन भनिन्छ । खुला दर्शनका निम्ति सवागज रातो कपडा, द्रव्य, पूजा सामाग्रीका साथ गर्ने गरिन्छ । खुला दर्शन गर्दा मन्दिरका चारैवटा ढोकाहरू बन्द गरिन्छ ।
अष्टकोणमाथि पश्चिम भागमा धातुद्वारा बनाइएको सिंहमा चढेको देवीको मुर्ति छ । देवीका ८ हातहरू मध्य दायाँ ४ हातमा सुर्दशन चक्र, त्रिशुल, चक्र र एउटा हात अभय मुद्रामा छ भने बायाँ ४ हातमा शंख, धनुवाण, घण्ट र एक हातमा कमलको फूल समातेको देखिन्छ । देवीका हातमा बाला र गोडामा पाउजेब, शरीरमा बाक्लो कपडा, घाटीमा माला, कानमा कुण्डल, शिरमा मुकुट, लगाइएको छ, जसले मूर्तिको शोभा बढाएको छ ।
बागीश्वरी मन्दिरको आर्थिक पक्ष : धार्मिक र आध्यात्मिक प्रतिष्ठा बृद्धि गर्न पुगेको बागीश्वरी मन्दिरको आर्थिक पक्षसुदृढ देखिन्छ । झण्डै ८०० वर्ष अगाडि बलरामपुर राज्यका महाराजा दिर्घविजय सिंहले बागीश्वरी देवीको दर्शन गरी मन्दिरको लागि हालको कर्मोहना गाउँको ८ आना पंक्ति जमिन मन्दिरको पुजा आजा गर्नु भनी तत्कालीन पुजारीलाई जिम्मा दिएको सन् १२६७ भाद्र सुदी ५ को सनद्बाट थाहा हुन्छ ।
मालपोत कार्यालयमा बाँकेमा सुरक्षित २०२५÷०३÷१९ ÷३ पत्र सँख्या २÷३२÷७९÷१६७८ को श्री ५ को सरकार श्री ३ नम्बर सर्वे गोश्वाराले श्री ५ नम्बर डोर टोलीलाई अवगत गराएको परिपत्रमा बागीश्वरी मन्दिरको सम्पुर्ण जमिन ९९–०५–१४ लेखिएको छ ।
त्यस्तै मिति २०४४÷०५÷२९÷२ को च. नं. ४२० को मालपोत कार्यालय बाँके जिल्ला पञ्चायत सचिवालय बाँके नेपालगंजलाई जानकारी दिनको लागि लेखिएको पत्रमा बागीश्वरी भगवतीको गुठी जग्गा र अन्य घर घडेरी तथा श्री सम्पत्ती बारे दर्ता श्रेष्ता भएको जमिनको उल्लेख गरिएको छ ।
(१) साविक कर्माेहना मौजा हाल ईन्द्रपुर गा.बि.स अन्र्तगत बागीश्वरी नाम जग्गा धनी र सञ्चालक चन्द्रनाथ योगी तथा हरिहरनाथ योगी समेत जग्गा विघाहा क्रमश ः ४४–११–७ र ४२–१०–१६ समेत जग्गा विघाहा ८७–०२–०३ नापी दर्ता भएको मोठमा मिति २०२८÷०७÷१४ भुमि प्रशासन कार्यालय बाँकेको निर्णय अनुसार सर्त पालन गर्ने गरी विभिन्न व्यक्तिको नाममा जग्गा कमाउने र जग्गा धनी बागीश्वरी गुठी भनी उल्लेख मोठ श्रेष्ता बाट देखिन्छ । केहि समय पछि उक्त जमिन मध्ये मन्दिरको नृत्य पुजाआजा गर्ने र सन्त महन्तहरूलाई हुन्डी दिने, बाँकी बचेमा बागीश्वरी महन्तका सन्तान दर सन्तानले खाने गरी हरिहर नाथ योगी को नाममा ईन्द्रपुर गा.बि.स वार्ड न. ३(क) को ज.बि.९–१९–५ र सोही कुराको चन्द्र नाथ योगीको नाममा ज.बि.९–१३–१२ दर्ता भएको देखिन्छ ।
(२) मिति २०१३÷०२÷१४ मा र.न. २३७ बाट शँकर प्रसाद उपाध्यायले बागीश्वरीले नृत्य पुजाआजा गरी बाँकी खाने गरी महन्त नरेन्द्र नाथ तथा प्यारेनाथको नाममा ज.बि. १–१५–३ दर्ता भएको देखिन्छ ।
(३) खजुराखुर्द गा.बि.स मा राम प्रसाद दबगरले जग्गा विघाहा ३– १६– २ बागीश्वरीको नाममा दान दिएकोदेखिन्छ। (४) मिति २०२९÷०८÷४÷१ मा भुवनेश्वर खनालले हस्ताक्षर गरेको एक पत्रमा बागीश्वरीको बहुमुल्य गरगहना मालपोत कार्यालय बाँकेका प्रमुखलाई बर बुमmारत पत्रबाट मन्दिरको जिन्सी सम्पत्ती बारे थाहा हुन्छ ।
(१) सिंहको मुर्ति बनेको डिब्बा चाँदी तोला ८३ को थान २ ।
(२) खम्बा बनाइएको चाँदी तोला १२० को थान २ ।
(३) भैरव गरुड चाँदी तोला १६५ को थान २ ।
(४) करवा चाँदी तोला ४७ को थान १ ।
(५) बत्ती बाल्ने पानस चाँदी तोला ४८ को थान १ ।
(६) बत्ती बाल्ने आरती तोला १३ को थान १ ।
(७) बाघको मुर्ति चाँदी तोला २३ को थान २ ।
(८) खम्बाको टुक्रा चाँदी तोला २८ को थान २ ।
(९) भगवतीको मुर्ति चाँदी तोला ९५ को थान ३ ।
(१०) छत्र थान ३, झण्डा, २ घण्टी अरु दुई ५ समेत जम्मा तोला ४७ । थान १२
वागीश्वरी मन्दिरमा वर्ष भरिमा लाग्ने खर्च
(१) कामकाज गर्नेलाई हुन्डी र अन्य खर्च वर्षभरिमा रु. ४,८००÷–
(२) साधु, सन्त, महन्तलाई स्वागत विदाई हुन्डी तथा दक्षिणा वर्षभरिमा अन्दाजी खर्च रु. ११,०००÷–
(३) दैनिक पुजाआजा, धुप, दिप आदिमा खर्च रु. २५,०००÷–
(४) बडा दशैं र चैते दशैमा लाग्ने खर्च रु ९,०००÷–
(५) श्री ५ को सरकार अर्थ मन्त्रालय मालपोत विभागको पत्र संख्या ०४०÷०४१ को च.न. १५१ को मिति २०४०÷०६÷२६ को निर्णय अनुुसार बागीश्वरी देवीको पुजाआजाको लागि छुटयाइएको रकम रु. ३,९६२÷– (डा. सुवेदीले गरेको अध्ययनमा आधारित)