अनौपचाकि शिक्षा संयन्त्र स्थानीय सरकारमा

सिराज खान

नेपालगञ्ज, ६ जेठ ः अनौपचारिक शिक्षा प्रणालीको सयन्त्र तथा हालसम्मका सबै अभिलेख स्थानीय सरकारहरुलाई हस्तान्तरण गर्ने कार्य बाँकेबाट शुरु गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, अनौपचारिक शिक्षा केन्द्रले देशमै पहिलो पटक नेपालगन्जमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर बाँकेका ८ वटै स्थानीय सरकारलाई अनौपचारिक शिक्षा प्रणालीको सयन्त्र तथा अभिलेख हस्तान्तरण गरेर हस्तान्तरण कार्यको शुरुवात गरेको छ ।

 

 

बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्जमा आयोजना गरिएको हस्तान्तरण समारोहमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज वराल र अनौपचारिक शिक्षा केन्द्रका निर्देशक चुडामणी शर्माले बाँकेका ८ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई सयन्त्र र अभिलेख हस्तान्तरण गरे ।

 

 

सो अवसरमा नेपालगन्ज उपमहानगरका उपप्रमुख उमाथापा मगर, बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल, जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादव, नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहीदा बानु, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनी कुमारी खत्री र कोहलपुर नगरपालिकाका वडा अध्यक्षलाई सो सयन्त्र र अभिलेख हस्तान्तरण गरिएको थियो ।

 

 

अनौपचारिक शिक्षा प्रणालीको सयन्त्र तथा अभिलेख हस्तान्तरण गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज वरालले ७० बर्षदेखि अनौपचारिक शिक्षा केन्द्रले संचालन गर्दै आएको साक्षर बनाउने अभियानलाई अब स्थानीय सरकारले निरन्तरता दिनु पर्ने बताए ।

 

उनले देशका ७७ जिल्ला मध्ये ४७ वटा जिल्ला मात्र हालसम्म साक्षर जिल्ला घोषणा भएको र ११ वटा जिल्लालाई यस बर्ष साक्षर घोषणा गरिने जनाउँदै अब बाँकेले पनि छिटै आफुलाई साक्षर घोषणा गर्नु पर्ने बताए । हालसम्म अनौपचारिक शिक्षाले गर्दै आएको सबै काम अबदेखि स्थानीय सरकारले नै गर्नु पर्ने जनाउँदै अनौपचारिक शिक्षा केन्द्रका निर्देशक चुडामणी शर्माले सोही बारेमा जानकारी गराउने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको बताए । उनले हस्तान्तरण अभियानलाई बाँकेबाटै शुरुवात गरिएको जनाउँदै अब देशभरीकै स्थानीय सरकारलाई हस्तान्तरण गरिने बताए । सो अवसरमा उपस्थित बाँके जिल्लाका अधिकांश स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरुले अनौपचारिक शिक्षाको अभियान र कार्यलाई स्थानीय तहले अगाडी बढाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

 

 

सो कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले स्थानीय सरकारको जिम्मामा धेरै काम आएकोले सबै कामलाई पुरा गर्न र राम्ररी बुझ्न अझै केही समय लाग्ने बताए । उक्त अवसरमा अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक शिव कुमार सापकोटा, बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापा, बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश शाही लगायतले साक्षरता अभियानलाई तिव्रताका साथ अगाडी बढाउनु पर्नेमा जोड दिए । सो हस्तान्तरण कार्यक्रममा स्थानीय सरकारका प्रमुख, उपप्रमुख, प्रमुख कार्यकारी अधिकृत, शिक्षा हेर्ने वडा अध्यक्ष, शिक्षा प्रमुख, सामुदायीक सिकाई केन्द्रका अध्यक्षहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया