काठमाण्डौ, ४ पुष । परम्परागत बिषय भन्दा फरक बिषयमा नेपालमा पढाई सुरु हुने भएको छ ।
पोखरा बिश्वबिद्यालयले उद्यम बिकास बिषयको चार बर्षे स्नातक तहको पढाई सुरु गर्न लागेको हो । ‘उद्योग मन्त्रालयको सहयोगमा यही सालको चैत्र मसान्त भित्र पाठ्यक्रम तयार हुन्छ, अर्को शैक्षिक शत्रबाट नेपालभरिका बिश्वबिद्यालयमा सम्बन्धन प्राप्त बिद्यालयबाट पढाई सुरु हुनेछ ।’ पोखरा बिश्वबिद्यालयका डिन प्राध्यापक डा. इन्द्रप्रसाद तिवारीले बताए ।
सो सम्बन्धमा मंगलबार नेपाल सरकार उद्योग मन्त्रालय र पोखरा बिश्वविद्यालयबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मन्त्रालयका सह–सचिव प्रदीपकुमार कोईराला तथा बिश्वबिद्यालयका डिन प्राध्यापक डा. इन्द्रप्रसाद तिवारीबिच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
अष्ट्रेलिया सरकार र अन्य विकास साझेदारहरुद्धारा युएनडिपी मार्फत लघु उद्यम विकास कार्यक्रम संचालन गर्न नेपाल सरकार उद्योग मन्त्रालयलाई सहयोग प्राप्त भैरहेको छ । उद्योग मन्त्रालयले यस अघि नै लघु उद्यम बिकास कार्यक्रम मार्फत प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सिटिइभिटी) सँग मिलेर तयार गरेको उद्यमशीलता बिकास बिषयक ३ बर्षे डिप्लोमा तहको पाठ्यक्रम र १८ महिने प्राविधिक आधारभूत तहको पाठ्यक्रम बिभिन्न शैक्षिक प्रतिष्ठान मार्फत पढाई भै रहेको छ ।
यी पाठ्यक्रम अनुसारको तालीम लिई हालसम्म १,१९८ जना प्राविधिकहरु तयार भै सकेका छन् । यसरी नै, उद्योग मन्त्रालयको साझेदारीमा राष्ट्रिय शीप परिक्षण बोर्ड मार्फत शीप भएका तर प्रमाणपत्र नभएका प्राविधिकहरुका लागि उद्यमशीलता बिकास सम्बन्धी शीप परिक्षणको कार्यक्रम पनि सञ्चालनमा रहेको छ । पोखरा बिश्वबिद्यालयले यस अघि नै स्नात्तकोत्तर तहमा उद्यमशीलता बिकास तथा गरीबी निवारण बिषयमा पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याई सकेको जनाएको छ ।
स्नातक तहको पाठ्यक्रम निर्माण भएपछि विद्यालयको आधारभूत तह देखि स्नात्तकोत्तर तहसम्मको पाठ्यक्रम तयार हुने र सबै तहका प्राबिधिक जनशक्ति तयार हुने बिश्वास गरीएको छ । उक्त पाठ्यक्रम तयार गर्न लाग्ने खर्च उद्योग मन्त्रालयको लघु उद्यम बिकास कार्यक्रम (मेडेप) र सो विश्वविद्यालयले संयुक्त रुपमा व्यहोर्नेछ । सम्झौता पत्रमा भनिएको छ, पाठ्यक्रम निर्माण गरी लागू गर्दा आवश्यक पर्ने प्राविधिक सहयोग उद्योग मन्त्रालयले लघुउद्यम बिकास कार्यक्रम मार्फत उपलब्ध गराउनेछ । सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाले सबै स्थानीय तहमा लघु उद्यम विकास कार्यक्रम आन्तरिकीकरण गरिसके पनि दक्ष जनशक्तिको अभाव रहेको बताइन् । उनले यो पाठ्यक्रममार्फत गुणस्तरीय जनशक्ति उत्पादन हुने र औद्योगिककरणमा योगदान पुर्याउने आशा व्यक्त गरिन् ।
युएनडिपी नेपालका उप राष्ट्रिय निर्देशक सोफी केमखाज्देले यसवाट गुणस्तरीय जनशक्ति उत्पादन हुने जसले दिगो विकास लक्षलाई समेत योगदान पुर्याउने कुरा उल्लेख गरिन् भने अष्ट्रेलियन राजदुत पीटर वडले उद्यमशीलतालाई संस्थागत गर्न मन्त्रालयको यस प्रयासलाई मेडपा रणनीतिक योजना दोस्रोमा समेत निरन्तरता दिएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा उद्योगमन्त्री सुनिलबहादुर थापाले यो पाठ्यक्रम विकास समय सापेक्ष भन्दै पाठ्यक्रमलाई व्यवहारिक बनाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने धारणा व्यक्त गरे ।