बाँकेका ६ सय ७८ टोल पढाई समुहमा विदाका दिन पढाई शुरु

नेपालगन्ज, १५ चैत / बाँके जिल्लामा गठन गरिएका टोल पढाई समुहहरुले बिद्यालय विदाको दिन कक्षा १ देखि ३ सम्मका बिद्यार्थिहरुले पठनपाठन शुरु गरेका छन् । जिल्लामा गठन गरिएका ६ सय ७८ वटा टोल पढाई समुहमा शनिवार र अन्य बिदाका दिनमा बालबालिकाहरुले गएर पढाई शुरु गरेको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ ।

सामुदायिक विद्यालय र मदरसामा कक्षा १ देखि ३ सम्म अध्ययन गर्दै आएका बालबालिकाको सिकाइ सिप बढाउन बाँकेमा ६ सय ७८ वटा टोल पढाई समुह गठन गरिएको जनाउँदै ती समुहमा बालबालिकाहरूको सहभागिता उत्साहजनक देखिएको बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापाले बताउनु भयो ।

सहायक जिल्ला शिक्षा अधिकारी थापाका अनुसार बालबालिकाको पढाई सिपमा सुधार ल्याउनको लागि शुरु गरिएको प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत गठन गरिएका टोल पढाई समुहमा विदाका दिन पढाई शुरु गरिएको हो ।

शनिवार लगायत अन्य विदाका दिन दिनभरी खेलेर बिताउने बालबालिकाहरु अहिले टोल पढाई समुहमा आएर रमाई रमाई पढ्न थालेको राप्ती सोनारी गाउँ पालिका वडा नम्बर ५ आलिनगर टोल पढाई समुहका संयोजक मैती खड्काले बताउनु भयो । उहाँले टोल पढाई समुह गठनपछि बालबालिकाको पढ्ने बानीमा सुधार हुन थालेको जनाउनु भयो ।

राप्ती सोनारी गाउँपालिकाकै चाचरफर्कास्थित बालकशान्ति प्राविको सुनटेपरी टोल पढाई समुहका संयोजक राजकुमारी थारुले टोल पढाई समुहमा हरेक शनिवार र अन्य विदाको दिनमा पनि २० देखि २५ जना बालबालिकाहरु आएर २ घण्टा भन्दाबढी पढ्ने र खेल्ने गरेको बताउनु भयो ।

टोल पढाई समुह गठन पश्चात अभिभावकले पनि बालबालिकाको पढाईका ध्यान दिन थालेको र बालबालिकाले पनि शनिवार मन लगाएर पढ्न थालेको राप्ती सोनारी गाउँपालिका ४ बैजापुर जनभावना प्राविको माहु टोल पढाई समुहका संयोजक सुन्दर कली थारुले जनाउनु भयो । शुरुमा घरघरमा गएर बालबालिकालाई बोलाउनु परेपनि अहिले आफै सबै आउन थालेको उहाँले बताउनु भयो ।

पढाई शिपमा सुधारका लागि टोल पढाई समुहहरुले स्थानीय पढाई सामाग्री समेत निर्माण गरेका छन् । जसले गर्दा पढाइमा निकै सहजता भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया