अठार वर्ष देखि कक्षा दोहोर्याउँदै युवती

नेपालगन्जन्यूज/संवाददाता बाँकेकाे खजुरा गाँउपालिकाकाे रनियापुर चमकदारपुरमा कक्षा ४ सम्म संचालित जामिया अरविया मदिनतुल उलुम मदरसामा एक २३ वर्षिय विद्यार्थी अध्ययन गरिरहेकि छिन् । ५ वर्षकाे उमेरबाट मदरसा जान लागेकी ति युवतीले कक्षा दोहोर्याउँदै गर्दा उमेर २३ वर्ष पुगेको पाइएको हाे ।

४ जना शिक्षक र १०६ जना विद्यार्थी रहेको मदरसामा रनियापुर बस्ने गुलाबा पठानिन् कक्षा दोहोर्याउँदै पढ्दै आएकी छन् । अरु विद्यालयमा जाने अनुमति परिवारबाट नपाएपछि कक्षा १ देखि ४ सम्म पढिसकेपनि, पुनः फर्केर त्यही कक्षामा नाम लेखाउँदै पढ्दै आएकी हुन् । १५ वर्षिय अफसाना खातून र १६ वर्षिय रुवी खातूनको स्थिति पनि एउटै किसिमको छ । गाँउमा मावि तहकाे मदरसा छैन । परिवारले अन्य स्कुलमा भर्ना गर्न दिदैनन् ।  कक्षा दोहोर्याउनुको विकल्प छैन  प्रधानाध्यापक रासिद अहमद मनिहार भन्छन्, सबै कक्षाबाट हरेक वर्ष ३, ४ जना विद्यार्थी मात्र बाहिर जान्छन् ।

बालकहरु बाहिर जाने गरेपनि बालिकाहरु थोरै मात्र बाहिर जान्छन् प्रअ मनिहारले भने, प्रायः घरकार्यमा लाग्छन वा विहे भएर पढाई छाड्छन् ।

शिक्षित परिवारहरुमा धेरै सुधार पाइएको छ, खाँले भने, उनीहरु अन्य विद्यालय, निजी स्कूलहरुमा पनि भर्ना गरेका छन् । उनले भने, साक्षरता नभएका परिवारहरु धेरै संकुचित अवस्थामा हुन्छन् । मुस्लिम समुदायका किशोरी र किशोरहरुलाई अधिकाँशतः शिक्षा प्राप्त गर्नका लागि मदरसा बाहेकको संरचनामा बाधा छ ।

गाउँमा कक्षा ५ सम्म मदरसामा अध्ययन गरेपनि, त्यसपछि पुनः कक्षा १ बाट वा पाँच कक्षा भित्रै विवाह नहुँदा सम्म पढ्नु पर्ने बाध्यता छ । बालिकाहरुको चाहना अन्य विद्यालयमा वा मदरसामानै उच्च शिक्षा सम्म भएपनि सामाजिक र पारिवारिक डरले माथिल्लाे कक्षा जान बन्चित गराएको पाइएको छ ।

नेपालगन्जन्यूज संग कुरा गर्दै बाँकेका जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदले भने, विद्यार्थीले कक्षा दोहोर्याउनु शैक्षिक क्षति सरह हो । यसरी एउटै कक्षामा विद्यार्थी दोहोरिँदा विद्यार्थीको मानसिकतामा नकारात्मक असर पर्ने र पछि त्यस्तो विद्यार्थीले हिनताबोध महसुस गरि पढाई छाड्ने सम्भावना बढि हुने गरेको जिशिअ साउदले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया