पर्यटन प्रवद्र्धनमा सरकारी अवरोध

निःसन्देह हाम्रो मुलुकको आर्थिक विकासका लागि पर्यटन मुख्य स्रोत हुनसक्ने सम्भावना नकार्न सकिन्न । तर, यसको त्यो पर्याप्त सम्भावनामा न त राज्यलेनै काम गरेको छ, नत निजी क्षेत्रलेनै राज्यप्रति हस्तक्षेपकारी वकालत गरेर सकारात्मक परिणाम दिन सकेको छ ।

सामान्य ढंगलेनै पर्यटनको विकासमा आफ्नो निरन्तर गतिमा राज्य अगाडी बढेको देख्न सकिन्छ । यसले पर्याप्त सम्भावना रहेरपनि नतिजामुखी कार्य गर्न नसकेकै कारण पर्यटकीय क्षेत्रले अपेक्षित उपलब्धी गुमाउनु परिरहेको अवस्था विद्यमान छ । परिस्थितिका कारण भएको समस्यालाई नकार्न सकिन्न, तर मनस्थितिका कारण भइरहेको समस्या चाहिं विडम्बना हो । यस विरुद्ध त हस्तक्षेपकारी भूमिका पर्यटनका क्षेत्रबाट आवश्यक देखिन्छ ।

प्रहरी, प्रशासनकै नकारात्मक व्यवहार र भूमिका पर्यटनको विकास तथा प्रवद्र्धनमा बाधक भएको गुनासो सम्बद्ध व्यवसायीहरूले गरेको समाचार प्रकाशमा आएको छ । पर्यटन प्रहरीको वकालत गर्दै आएका सम्बन्धित क्षेत्रका व्यवसायीहरूले त्यसतर्फ राज्यको ध्यानाकर्षण गर्नुको साटो पर्यटकहरूलाई गरिने अनावश्यक चेकजाँच, धरपकड र छापामारीले सिंगो पर्यटन व्यवसाय नै निरुत्साहित भएको उनीहरुको गुनासालाई तत्निकायले के–कसरी लिए होलान् भन्ने जिज्ञासा स्वाभाविक हो ।

तर, जिम्मेवार उनीहरुको भूमिका त्यतिबेलामात्रै गैर जिम्मेवार रहँदैन जतिबेला यसखालका असन्तुष्टि सम्बोधनका लागि सरोकारवालालाई डाकेर सम्बद्ध सवालमा चर्चा परिचर्चा र समाधानका उपायमा मन्थन गरिन्छ । खासगरि, जिल्लाको प्रशासन प्रमुखसँग यसखालको अपेक्षा पनि अस्वाभाविक पनि होइन । परिणाम नआउन्जेल यसतर्फ यत्तिमात्रै भनौं ।

नेपालगन्जमा भेला भएका पोखरा र बाँकेका होटल तथा पर्यटन क्षेत्रका व्यवसायी प्रतिनिधिहरूले आर्थिक मन्दीको चपेटोमा परेको मुलुकलाई माथि उठाउन पर्यटन क्षेत्रको पुनरुत्थान आवश्यक हुनेमा एकमत छन् । व्यवसायीका यी मतलाई राज्यले कसरी र कहिले सम्बोधन गर्ला त्यसतर्फ आशलाग्दो संकेत पाइदैन । किनकी राज्यका कुनै निकाय पनि यसतर्फ गम्भीर नदेखिंदा व्यवसायीहरूले गुनासो राख्नु स्वाभाविक हुन्छ ।

खासगरी नेपालका लागि दक्षिण छिमेकी राष्ट्र भारतीय पर्यटक निकै महत्वपूर्ण हिस्सा बनेका देखिन्छन् । उनीहरू नेपाल प्रवेश गर्दा सीमा क्षेत्रमा गरिने दुव्र्यवहारले हतोत्साहित हुनुपरेको व्यवसायीको गुनासोलाई बेलैमा सम्बोधन गर्न सुरक्षा चुनौतीबाहेकका अवस्थालाई सहजीकरण गर्न जरुरी छ । व्यवसायीले माग गर्दै आएको पर्यटन प्रहरीको व्यवस्था र प्रवेशद्वारमै कडा चेकजाँच गरि अन्य ठाउँमा सहज आवागमनको सुनिश्चिततालाई नियमन गरिनु बाञ्चनीय हुन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया