भूकम्पको जोखिममा रहेका नेपालगन्जमा भौतिक संरचना प्रबलीकरण (रेट्रोफिटिङ)मा प्रोत्साहित गर्न थालिएको छ । त्यसका लागि पहिलो चरण जनस्तरमा सचेतना प्रबद्र्धन थालिएको हो ।
‘पुराना र कमजोर संरचनालाई भूकम्प प्रतिरोधी बनाउन पुनः मर्मत गरी जोखिम न्यूनीकरणका लागि प्रबलीकरण गर्न अभिप्रेरित गर्ने उद्देश्यले सचेतना प्रबद्र्धन थालिएको छ,’ नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर)ले त्यसका लागि काम गरिरहेको जानकारी दिंदै सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले भने ।
सुपरले नेपालगन्जमा भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ वर्षदेखि विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।
नेपालगन्जका पुराना संरचना भूकम्पको जोखिममा रहेको अध्ययनले देखाएपछि ती संरचनालाई बलियो र भूकम्पको जोखिमबाट जोगाउन प्रबलीकरणका लागि स्थानीयलाई अभिप्रेरित गर्न सुरु गरिएको हो ।
त्यसका लागि नमूनाका रुपमा नेपालगन्जको वडा नम्बर ३ स्थित इस्लामिक चिल्ड्रेन स्कूललाई नमुनाको रुपमा प्रबलीकरण गरिएको अधिकृत ज्ञवालीले बताए ।
‘पुराना संरचना जो भूकम्पको उच्च जोखिममा छन्, ती संरचनालाई भूकम्प प्रतिरोधी बनाउने उद्देश्यले प्रबलीकरण (रेट्रोफिटिङ) गर्न सकिन्छ भन्ने सन्देश समुदायस्तरमा प्रवाह गर्न नमुनाको रुपमा इस्लामिक स्कुललाई रोजेका हौं,’ युनिसेफका प्राविधिक अधिकृतका रुपले सुपरमा प्रारम्भदेखिनै सक्रिय सिभिल इन्जिनियर नरेश निदालले भने । उनका अनुसार, पुरानो संरचना भत्काएर नयाँ बनाउन नसक्ने अवस्थामा रेट्रोफिटिङ पनि गर्न सकिन्छ, जसले भूकम्पको जोखिमलाई धेरै हदसम्म कम गर्दछ ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा सुपरले काम गरिरहेको हो । सुपरले भूकम्प प्रतिरोधी संरचना निर्माण, पुराना संरचना प्रबलीकरण, आवास बीमा, विपद प्रतिकार्यका लागि दक्ष जनशक्ति उत्पादन, सचेतना प्रबद्र्धन लगायतका काम गरिरहेको इन्जिनियर निदालले बताए । सुपरले नेपालगन्ज उपमहानगरभित्र वडा नम्बर ३ र ७ लाई मुख्य कार्य क्षेत्र बनाएको छ । ‘यसको प्रभाव सहरभरिनै पर्छ,’ उनको भनाइ छ ।