सात वटा पीसीसी सडकका लागि ९० लाख बजेट
नेपालगन्ज उप–महानगरपालिका वडा नं १८ मा थप सात वटा भित्रि सडक निर्माण कार्य अगाडी बढ्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा वडाध्यक्ष दीपक कुमार बर्माले आफ्नो अग्रसरतामा बजेट व्यवस्था गरिएका सातवटा सडक निर्माण कार्यको शिलान्यास गरे ।
३० लाख लागतमा आरसीसी नाला सहित पीसीसी सडक निर्माणका लागि गरिएको शिलान्यास कार्यक्रममा वडाध्यक्ष बर्माले प्रदेश सरकारबाट रु ९० लाख बराबरको सात वटा पी सी सी सडकको बजेट यसै आर्थिक बर्ष साउन महिनामा नै ल्याउन सफल जानकारी दिए ।
‘उपमहानगरपालिकाबाट ठेक्का भइ सात वटा सडक निर्माणको एक मुष्ट रुपमा शनिबार शिलान्यास गरिएको हो,’ वडाध्यक्ष बर्माले एउटा पीसीसी सडकको निर्माण सम्पन्न भइ सकेको जानकारी दिंदै भने, ‘आज शनिबार शिलान्याससँगै भगवती टोलमा दुइवटा,उज्ज्वलनगर,शिवशक्ती टोल, शिवनगर, नागरिक टोल,विशाल चौक, मोडेल एकेडेमी टोलमा निर्माण भइरहेको छ ।’ उनले आफ्नो कार्यकालभित्रै विकासका अधिकाँश काम सक्ने गरि लागि परेको बताए । ‘वडाको विकासनै मेरो प्राथमिकता हो,’ उनले वडाबासीहरुबीच शिलान्यास कार्यक्रममा भने ।