आन्तरिक पर्यटनका लागि गन्तव्य खोज्दै बाँके
पर्यटकीय गन्तव्यको खोजिमा कस्सिएका बाँकेका पर्यटन व्यवसायीले राप्ती नदीको अगैयादेखि सिधनिया घाटसम्म व्यवसायिक रुपमा जलयात्रा (¥याफ्टिङ) को सम्भावना अध्ययन गर्ने भएका छन् ।
राप्तीमा ¥याफ्टिङ सञ्चालनको तयारीका सम्भाव्यता अध्ययन गर्न लागिएको हो । त्यसका लागि यसैसाता काठमाडौंबाट प्राविधिक टोली नेपालगन्ज आइपुग्दैछ ।
विहीवार नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलको नेतृत्वमा ¥याफ्टिङ एसोसिएसनका महासचिव शिशिर खनाल, पर्यटन प्रबद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र हान बाँकेका सदस्य अनिल झासहितका पर्यटन व्यवसायीको टोलीले राप्तीमा ¥याफ्टिङ सञ्चालनको स्थलगत अध्ययन गरेको छ ।

त्यसक्रममा राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुलाई ¥याफ्टिङको सम्भाव्यता अध्ययनका लिखित प्रस्ताव पेश गरिएको नाट्टा बाँकेका अध्यक्ष सिग्देलले जानकारी दिए । ‘गाउँपालिकाले ¥याफ्टिङ सुरु गर्न सघाउने प्रतिबद्धता जनाएको छ,’ अध्यक्ष सिग्देलले दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्जलाई अब ट्रान्जिट होइन आकर्षक गन्तव्यका रुपमा विकास गर्न प्रयास गरिएको हो ।’
पछिल्लो एक महिनायता नेपालगन्ज– पोखरा– नेपालगन्ज चार्टर विमान सञ्चालन गरिरहेको नाट्टा बाँकेले बर्दिया ठाकुरद्वारका पर्यटक बस नियमित सञ्चालन गरिरहेको छ । नरैनापुरस्थित बाबा बर्फानी आश्रमलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने सम्भावना अध्ययन गरिरहेको नाट्टाले अब राप्तीमा जलयात्राको सम्भावना खोजेको हो । ‘सबैले हातेमालो गर्नुभयो भने बाँके पर्यटकीय गन्तव्य बन्नसक्छ,’ प्रसिद्ध शक्तिपीठ बागेश्वरीदेखि बाबा बर्फानी आश्रम सम्म धार्मिक पर्यटनका योजना बनाएको जानकारी दिंदै नाट्टा बाँकेका अध्यक्ष सिग्देलले भने, ‘पर्यटकीय पूर्वाधारसँगै आकर्षक गन्तव्यको खोजीमा लागेका छौं ।’ सिग्देलले आफ्नो प्रयासमा स्थानीय सरकारको सहयोग आवश्यक भएको बताए ।