कारकादोमा सडकबत्ती, उज्यालो अभियानमा वडाध्यक्ष

सुकुम्वासी वस्तीमा सौर्य उर्जा मार्फत उज्यालोको व्यवस्था गरेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ ले वडा क्षेत्रमा सडक उज्यालोको अभियान थालेको छ ।
त्यसका लागि शुरुवातमा वडाक्षेत्रको सुर्खेतरोडका दुई स्थानमा हाईमास्ट जडान गर्ने भएको हो । त्यसका लागि वडाको बजेटबाटै कारकाँदो चोक र सिक्टा सिंचाई कार्यालय अगाडीको चोकमा हाइमास्ट जडानको काम अगाडी बढाइएको छ । वडा अध्यक्ष दीपक कुमार बर्माका अनुसार, शुरुमा दुई हाईमास्ट जडानका लागि १६ लाख रुपिया खर्च गर्न लागिएको छ ।


नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ अन्तर्गतका सबैजसो सडकमा बत्ती जडान गरिने वडाध्यक्ष बर्माको योजना छ । वडा कार्यालयको आफ्नै पहलमा वडालाई उज्यालो बनाउने योजना छ, आइतवार कारकादो चोकमा हाईमाष्ट लाइट जडान काम शुरु गर्दै वडाध्यक्ष बर्माले दैनिक नेपालगन्जसँग भने, वडाका सुकुम्बासी वस्तीलाई पनि उज्यालो पार्न सौर्य उर्जा सहयोग गरिसकिएको छ । उनका अनुसार, नेपालगन्ज १८ स्थित सुकुम्बासी, दलित र मधेसी समुदायको बसोबास रहेको क्षेत्रमा २५० घरधुरीमा सोलार प्यानल जडान गरिसकिएको छ ।
वडाले विभिन्न धार्मिक संस्थामा पनि सोलार प्यानल जडान थालेको छ । कुनैपनि कारणले टोलवस्तीमा अँध्यारो नहोस् भन्ने हाम्रो जोड हो, वडाध्यक्ष बर्माले ९ वटा सोलार प्यानल विभिन्न धार्मिक संस्थामा जडान गरिएको जानकारी दिंदै भने, सुरक्षा र सुन्दरताका लागि उज्यालो वडा अभियान थालिएको होे ।

वडा सदस्य दिग्विजय ढुंगानाले विकास निर्माणका कामसँगै जनचासो र आवश्यकतालाई हेरेर वडाले योजना बनाइरहेको बताए । यसअघि नेपालगन्जमा उपमहानगरपालिकाले दर्जनबढी ठाउँमा हाइमास्ट जडान गरिने जनाएकापनि विपी चोकबाहेकमा सफल हुन सकेको छैन । नगरका विभिन्न ९ स्थानमा हाइमास्ट जडान गर्ने काम अगाडी बढेपनि ठेकेदारका कारण अलपत्र छ ।

प्रतिक्रिया

प्रतिक्रिया