वाटरपार्क परियोजना भित्रका घडेरीहरुको मूल्य निर्धारण

कम्तिमा डेढ करोडका घडेरी बिक्री गर्ने तयारीमा नगर विकास समिति

नेपालगन्ज नगर विकास समितिले वाटरपार्क परियोजना भित्रका घडेरीहरुको मूल्य निर्धारण गरेको छ । समितिका बोर्ड सदस्य समेत रहेकी नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरको संयोजकत्वमा रहेको जग्गा मूल्य निर्धारण समितिले घडेरीको प्रारम्भिक मूल्य टुंगो लगाएको हो ।


प्रतिकठ्ठा झण्डै डेढ करोडसम्म प्रारम्भिक मूल्य तोकिएको वाटरपार्कमा नगर विकास समितिले तीन विगाह जग्गालाई घडेरीका रुपमा विकसित गरी बिक्रीको योजना बनाइरहेको छ । ‘अस्थायी लालपुर्जा वितरण सकिनासाथ घडेरी बिक्री सुरु हुन्छ’, नगर विकास समितिका बोर्ड सदस्य समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि आवश्यक प्रक्रिया पूरा भएको छ ।’


नेपालगन्ज वडा नं. १ र १८ को बीचमा पर्ने वाटरपार्क जग्गा एकीकरण परियोजना क्षेत्रभित्रको घडेरी मूल्य निर्धारण समितिमा उपप्रमुख थापा सँगै प्रवक्ता रिजाल, वडा नं. १८ का वडाध्यक्ष दिपक बर्मा, समितिका इन्जिनियर महेश थापा लगायत थिए । समितिले बिस्तृत अध्ययनपछि मूल्य निर्धारण गरेको जानकारी दिंदै वडा नं. १ का वडाध्यक्ष समेत रहेका रिजालले भने, ‘४ मिटर सडकदेखि २१ मिटरको मुख्य सडकसम्मको जग्गाका लागि घडेरीको अलगअलग मूल्य निर्धारण भएको छ ।’ उनका अनुसार, कम्तिमा ६ धुरदेखि एक कठ्ठासम्मको घडेरी विकसित गरिएको छ ।



प्रतिक्रिया

प्रतिक्रिया