‘बृहत खजुरा सम्मेलन’ भोलिबाट , भविष्य निर्माणको गुरुयोजनामा जनसहभागिता अभ्यास

नेपालगन्ज – खजुराको बृहत्तर विकासका लागि गर्न लागिएको सम्मेलनमा सहभागिताका लागि विभिन्न देशबाट विशेषज्ञहरु आइपुगेका छन् । हाम्रो खजुरा राम्रो खजुरा, समृद्ध खजुरा हाम्रो चाहना नारा बोकेर खजुराको समुन्नत विकासका लागि गाउँपालिकाले गरेको आव्हानमा ऐक्यबद्धता जनाउँदै विभिन्न देशमा रहेका विशेषज्ञहरु खजुरा आइपुगेका हुन् ।


बाँकेको खजुरा गाउँपालिकाले भोलि बुधवार र पर्सी विहीवार विकासका लागि ‘बृहत खजुरा सम्मेलन’को आयोजना गर्दैछ । ‘विभिन्न देशमा विशेषज्ञका रुपमा रहेका खजुरावासी सम्मेलनका लागि आइपुग्नु भएको छ,’ विभिन्न देशबाट आएका २ सय ५० बढी विशेष प्रतिनिधिहरुबीच प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिन सोमवार आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले उत्साहित हुँदै भने, ‘सम्मेलनले दिएको निष्कर्षका आधारमा खजुरा विकासको १५ वर्षे गुरुयोजना बन्नेछ ।’ उनले खजुरावासीका सपनालाई गुरुयोजनाले समेट्ने विश्वास व्यक्त गरे ।


खजुरा समृद्धिका आधार, अवसर र सम्भाव्यतालाई पहिल्याउँदै खजुरा गाउँपालिकाको नीतिगत प्राथमिकता तय गर्न सहज वातावरण बनाउन सम्मेलनले सहयोग पु¥याउने आशा गाउँपालिका प्रमुख कक्षपतिको छ । ‘सहभागितामुलक, लोकतान्त्रिक तथा समावेशी आर्थिक विकास गर्न, खजुरा गाउँपालिकाको योजना निर्माणका लागि मार्गरेखा तय गर्न, दीगो र समतामुलक विकासको आयम र प्रवद्र्धनका अभ्यास यसको प्रभावबारे सिकाई आदानप्रदान गर्न र खजुरा क्षेत्रका विषय विज्ञ, प्राज्ञिक सामाजिक तथा आर्थिक विकासमा अभ्यासरत व्यक्तित्वहरुबाट पृष्ठपोषण ग्रहण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो,’ कक्षपतिले भने ।


आयोजकका अनुसार, सम्मेलनमा विषय विज्ञहरुले तयार पारेको आर्थिक विकास, विकासमा जनसहभागिता, योजनावद्ध खजुरा शहर, लैंगिक र महिला सशक्तिकरणमा खजुरा, खजुरामा कृषि ः समृद्ध खजुराको आधार, गुणस्तरीय र प्राविधिक शिक्षाको मार्गरेखा, गुणस्तरीय स्वास्थ्य सेवा र खजुरा, समावेशी खजुरा, खेलकुद र सिर्जनशील खजुरा विषयमा कार्यपत्र प्रस्तुत र त्यसमाथि टिप्पणी हुनेछ । ‘कार्यपत्र एक्सन रियालिटी बेसमा हुनेछन्,’ सम्मेलन आयोजक समितिका सदस्य किरण ढकालले भने ।


आयोजनाको मोडेल अनुसार, हरेक कार्यपत्रको अध्यक्षता छुटाछुटै हुनेछ । ‘कार्यपत्रमाथि विशेष छलफलसहित कार्यपत्र पारित गरिने छ,’ गाउँपालिका प्रमुख कक्षपतिले भने, ‘खजुरामा पहिलो पटक हुन लागेको सम्मेलनमा खजुरा गाउँपालिकाका जनप्रतिनिधि, खजुरा क्षेत्रबाट संघीय तथा प्रदेशमा प्रतिनिधित्व गर्ने सदस्य, विषय विज्ञ, प्राज्ञ तथा विभिन्न पेशामा लागेका पेशाकर्मीहरुको समेत सहभागिता हुनेछ ।’ गाउँपालिकाका विज्ञ समूह सदस्य समेत रहेका ढकालले देशमै यो नयाँ अभ्यास भएको दावी गरे । ‘विकासमा सबै खजुरेलीको साझेदारीे बनाउने प्रक्रियालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास लिइएको खजुरा सम्मेलनले नीतिगत रुपमा पनि ठूलो टेवा पु¥याउनुका साथै समृद्ध खजुराको सपना पूरा गर्न कोशेढुंगा सावित हुने विश्वास लिएका छौं,’ गाउँपालिका प्रमुख कक्षपतिको भनाइ छ ।


गाउँपालिका उपप्रमुख एकमाया बिक, प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसी, विज्ञ समूहका सदस्य पूर्णचन्द्र उपाध्याय, राजनीकि सल्लाहकार भीम ओली लगायतको सहभागितामा पत्रकारहरुबीच सम्मेलन आयोजक समितिका संयोजक भक्त बहादुर केसीले खजुराले बौद्धिक सम्मेलनका रुपमा विशिष्ठ कार्यक्रमको परिकल्पना गरेको बताए । ‘यसले सिंगो खजुराको समग्र विकासको मार्गचित्र बनाउने छ,’ संयोजक केसीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया