अझै बन्दै बसपार्क !

नगर प्रमुख डा. राणाले अब १० दिनभित्र बसपार्क सञ्चालनमा आउने बताएका छन् । उनको यो भनाइ पहिलो भने होइन, यसअघि पटकपटक बसपार्क सञ्चालनको ‘डेटलाइन’ दिंदै आएका छन् ।

नेपालगन्ज – मंगलबार विहान साढे ११ बजे नेपालगन्जको निर्मार्णाधिन बसपार्क पुग्दा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणा इन्जिनियर सुरज गुप्तासँग भन्दै थिए, ‘क्याटलवाक’को साइज कसरी फरक पर्यो ?’ बन्दै गरेको बसपार्क भित्रै गाई, गधाका बथान देखेपछि आक्रोशित उनले क्याटलवाक साइज फेर्न इन्जिनियर गुप्तालाई निर्देशन दिए ।

गत साउन ४ गते दैनिक नेपालगन्जसँग नगर प्रमुख डा. राणाले भनेका थिए, ‘अबको १५ दिनभित्रै अत्याधुनिक बसपार्क सञ्चालनमा आउँछ ।’ उनको भनाइ अनुसार, साउन २० गतेसम्ममा बसपार्क सञ्चालनमा आइपुग्नु पर्ने थियो । तर, उनको प्रतिबद्धता अनुसार बसपार्क आइपुग्नु पर्ने समय भन्दा ४० दिनपछि पुग्दा पुष्पलाल चोकदेखि नै लहरै सडक छेउ बस उभिएका थिए । अस्तव्यस्त बसपार्क क्षेत्र सञ्चालनको सुरछाँट थिएन । यद्यपि, नगर प्रमुख डा. राणा भने बसपार्क छिटो सञ्चालन हुनुपर्छ भन्ने हतारोमा छन् भन्ने पुष्ट्याई उनको छट्पटाहटले हुन्थ्यो ।

‘नगर प्रमुख एक्लैले चाहेर नहुने रहेछ’, डा. राणाको पृष्ठपोषण गर्दै उनीसँगै बसपार्कमा भेटिएका स्थानीय होटल व्यवसायी प्रेम खत्रीले दैनिक नेपालगन्जसँग भने, ‘उहाँ निरन्तर लागि रहनु भएको छ ।’
निर्मार्णाधिन बसपार्कमा वृक्षारोपण सुरु भएको छ । रोपिएका बिरुवा गाई, गधाले खाएको गुनासो मालीले गरेपछि ‘ट्रि गार्ड’ ल्याउन निर्देशन दिएका नगर प्रमुख डा. राणाले ‘ग्रिल वाल’ रंगरोगन गर्दै गरेको देखाउँदै दैनिक नेपालगन्जसँग भने, ‘के गर्ने यतिको ठूलो परियोजनामा वाल समेत डिजाइनमा रहेनछ ।’ उनले उपमहानगरपालिका आफैले बजेट थप गरी बसपार्क सुरक्षाका लागि ‘ग्रिल वाल’ देखि अन्य थप पूर्वाधारहरु निर्माण गरिरहको जानकारी दिंदै भने, ‘काम गर्दागर्दै समय लाग्यो ।’ तरपनि नगर प्रमुख डा. राणाले नयाँ डेटलाइन दिन बिर्सेनन् । ‘अबको १० दिनभित्र एनिहाउ नयाँ बसपार्क सञ्चालनमा आउँछ’, डा. राणाले भने । उनको भनाइ थियो, ‘५० करोड बढीको प्रोजेक्टको लागतलाई २० करोडमा झारियो, त्यसमा पनि आयोजनाको सम्झौता साढे १६ करोड बढीमा भयो ।’ उनको तर्क हो बजेट कटौती गर्दै जाँदा आवश्यक पूर्वाधारहरु पनि बनेनन् ।

नेपालगन्जमा निर्मित बसपार्क अझै सञ्चालनमा नआउँदा सडक नै बसपार्क जस्तो बनेको छ । बसपार्क निर्माण पूर्ण रुपमा नसकिएकाले सञ्चालनमा अझै अझै केही दिन लाग्ने निश्चित छ । बसपार्क सञ्चालनमा नआउँदा बसहरुले सडकबाट नै यात्रु चढाउने र झार्ने गर्दा बसपार्क क्षेत्र अस्तव्यस्त छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि पटकपटक निर्माण कम्पनीलाई दबाब दिएपछि काममा तिव्रता भने आएको थियो । यद्यपि, ठेकेदारले विभिन्न बहानामा पटकपटक समय भने थप गरेको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाले बसपार्क ढिलाई हुनुमा ६ वटा कारणहरु औंल्याएको थियो । जसमा प्रमुख कारणका रुपमा निर्माण स्थल क्लियर नहुनुलाई लिएको छ । स्थानीय स्तरको डिजाइन अनुसारको कार्य गर्ने दक्ष कम्पनी र निर्माण सामाग्री उपलब्ध नहुनु बसपार्क निर्माण समयमा नसकिनुको अर्को कारण भन्दै आएको छ ।
ढिलाईको तेस्रो कारण मात्र निर्माण कम्पनीको ढिला सुस्तीलाई दिइएको छ । सुरुको तीन महिना कन्सल्ट्यान्ट नै आएनन्, स्थानीय तहको निर्वाचनलाई ढिलाईको अर्को कारण मानिएको छ ।

पछिल्लो सम्झौता अनुसार पनि बसपार्क गत जेठ २० गते तयार भैसक्नु पर्ने थियो । तर, ठेकेदार पटकपटक थपिएको मितिमा जेठ २० गते काम नसकेपछि साउनसम्म म्याद थप गरिएको थियो । सुरुमा बसपार्क निर्माण कम्पनी यूनाइटेड बिल्डर्ससँग नेपालगन्ज बसपार्क निर्माणका लागि १५ महिनामा सक्ने सम्झौता भएको थियो । झण्डै १४ करोड ९४ लाखमा २०७२ चैत्रमा गरिएको सम्झौताको १५ महिने अवधी सकिंदा बसपार्कको ३० प्रतिशत काम पनि भएको थिएन । स्थानीय तहमा जनप्रतिनिधि आएपछि निरन्तर दबाब दिंदा पनि ठेकेदारलाई काम सक्न पटकपटक म्याद थप्नु परेको विडम्वना थियो ।

ठेकेदारकै आश्वासनकै कारण बसपार्क उद्घाटनको योजना नेपालगन्ज उपमहानगरपालिकाले २०७५ फागुनमा नै बनाइसकेको थियो । उपमहानगरपालिकाको २०७५ फागुन ६ गतेको बोर्ड बैठकले उद्घाटन मिति नतोके पनि प्रधानमन्त्री, प्रधानमन्त्री उपस्थित हुन नसके नगरप्रमुखले बसपार्कको उद्घाटन गर्ने निर्णय गरेको थियो । उपमहानगरपालिकाले उद्घाटन निर्णय गरेको ६ महिना हुँदा पनि बसपार्क भने सञ्चालनमा आउन सकेको छैन । अझै कहिले सञ्चालनमा आउँछ भन्ने अन्योलमा यातायात व्यवसायीहरु छन् ।
‘फाइनल फिनिसिङ्गमा छौं’, नगर प्रमुख डा. राणाले अब धेरै ढिलो नहुने कुरामा आश्वस्त पार्दै १० दिनभित्र सञ्चालन हुने गरी कामलाई तिव्रता दिएको जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया