संसदमा गुञ्जियो नेपालगन्ज विमानस्थललाई क्षेत्रीय बनाउन माग

नेपालगन्ज – बुधबारको प्रतिनिधिसभामा नेपालगन्जमा विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने विषयले प्रवेश पाएको छ । नेकपा बाँकेका सहइन्चार्ज समेत रहेकी प्रतिनिधिसभा सदस्य पूर्ण कुमारी सुवेदीले नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्न जोड दिएकी हुन् । उनले नेपालगन्ज विमानस्थललाई विस्तार गरी क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्ने विषय अब कार्यान्वयन गर्न माग गरेका हुन् ।

प्रतिनिधि सभामा विशेष समय लिएर कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति समेत रहेकी सुवेदीले मानसरोवरसम्म धार्मिक पर्यटकहरुलाई ध्यान राख्दै भारतको नयाँ दिल्लीबाट नेपालगन्जसम्म र नेपालगन्जदेखि पोखरासम्म उडानको लागि पहल गर्न जोड दिएकी हुन् । प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको जग्गा अतिक्रमण भएको विषय प्रतिनिधिसभामा उठाउँदै उनले अतिक्रणबाट जग्गा जोगाउनु पर्ने बताएकी थिइन् ।

खजुरा स्थित क्यान्सर अस्पतालका लागि आवश्यकीय प्राविधिक सामाग्री उपकरण खरिद साथै जनशक्तिका लागि, भेरी हस्पिटलको स्तर वृद्धि र राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजना लगायतका विषयमा सभामुख मार्फत विषयगत मन्त्रालयमा पहलका लागि सुवेदीले ध्यानाकर्षण गराएकी हुन् । उनले यसअघि नेपालगन्ज विमानस्थल र बाँकेका धार्मिक पर्यटन स्थलका बिषयमा संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग भेटेर कार्ययोजनामा पार्न पहल गरेकी थिइन् ।

अर्का प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको भौतिक पूर्वाधार र उपकरणको व्यवस्था भए पनि जनशक्तिको कमी देखाएर लामो समयसम्म सञ्चालनमा नल्याउँदा त्यस क्षेत्रका २५ जिल्लाका सर्वसाधारण उपचारका लागि भारत जानुपर्ने बाध्यता कहिले अन्त्य हुन्छ भनी प्रश्न गरेका थिए ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सिङ्गापुरमा भइरहेको उपचार, कृषि ऋण, गौहत्या, प्रस्तावित निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणमा भएको ढिलाइ, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, शान्तिसुरक्षा, संविधान संशोधन, स्वास्थ्य सेवामा बेथिति र एनसेल करसम्बन्धी विषयले प्रवेश पाएको छ । प्रतिनिधिसभाको बैठकमा नेकपाका प्रभु साहले कृषकलाई ऋणको अधिकार छ कि छैन भनी प्रश्न गर्दै बैँकहरुलाई कृषि ऋण प्रवाह प्रतिशत बढाउने नीति बनाउन सरकारलाई सुझाव दिइएको थियो ।

प्रतिनिधिसभा सदस्य डिला सङ्ग्रौला, देवेन्द्रराज कँडेलले सुर्खेतको जंगलमा भएको गाईको मृत्यु सम्बन्धी विषय उठाउँदै दोषीलाई कारवाहीको माग गरेका थिए ।

प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले प्राकृतिक स्रोतले भरिपूर्ण कर्णाली क्षेत्रमा उद्योगी पुग्नुपर्नेमा चोरी तस्करीको बिगबिगी भएका जानकारी गराउँदै कर्णाली क्षेत्रलाई डम्पिङ क्षेत्र नबनाउन सुझाव दिए । यज्ञराज सुनुवारले संविधान जारी भएको तीन वर्ष पूरा हुने अवस्थासम्म आइपुग्दा थुप्रै ऐन कानून सके पनि शिक्षा क्षेत्र भने अझै अस्तव्यस्त भएको प्रति चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया

प्रतिक्रिया