मन भण्डारी/ नेपालगन्ज –
तीन वर्षपछि नेपालगन्ज आएको जो कसैलाई पनि यहाँका भित्री सडक छिरेपछि लोभलाग्दा चिल्ला सडकले तान्छ । परसपुर होस् वा हिरमिनिया जाने भित्री सडक अझ सहर बाहिरका दृष्य झनै आकर्षक छन् । तर, नेपालगन्ज प्रवेशकै मुलद्वार जमुनाह देखि होस् वा नेपालगन्ज उप–महानगरपालिकाको प्रवेशद्वार राँझादेखि बजार प्रवेश होस्, यो सडक यति जीर्ण कसरी ?
‘सुर्खेतरोड ६ लेनबाट ४ लेन बनाउन दबाब दिने कुरामा मेरो नेतृत्वप्रति आज मलाई खेद लागेको छ,’ जमुनाह– नेपालगन्ज – कोहलपुर सडकको चौडाई १० मिटर घटाउने निर्णयमा निकै वकालत गरेका नेपालगन्जका पूर्व नगर प्रमुख विजय कुमार गुप्तले केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममा उक्त सडक क्षेत्रफल घटाउने कुरामा आत्मालोचना गरिरहँदा उक्त अभियानका अर्का साझेदार पशुपतिदयाल मिश्रसँगै थिए । राँझादेखि जमुनाहसम्म ‘बिल्डअप एरिया’ घोषणा गरि चारलेन सडक निर्माण भएको धेरै समय बितेको छैन । त्यही योजनामा बनेको यतिबेला प्रदेश ५ को अस्थायी राजधानी बुटवलको ६ लेन चिल्लो सडकमा पुग्ने जोकसैलाई पनि नेपालगन्जमा सडक साँघुरो हँुदाको बिडम्बनाले पीडा दिन्छ ।
आज दैनिक नेपालगन्जले सडक साँघुरो हुनुको पीडा भन्दा त्यही साँघुरो सडकमा पनि सयौं खाल्डाखुल्टीले बनाएको बिजोग अवस्था चर्चा गर्न खोजेको हो । उसैपनि ‘पप्पु सडक’ का नाममा बदनाम यसको निर्माण गुणस्तरमा अझै खाल्डा पर्ने काम भने रोकिएको छैन । समय, समयमा सडकको बिभिन्न ठाउँमा खानेपानीको पाइप फुटेर सडकनै हिलाम्मे हुने र खाल्डा पर्ने समस्या खेपिरहेको सुर्खेत रोडको कर्णाली विकास बैंक अगाडीको सडक फोडेको एक हप्ता बढी भयो ।
खाने पानीको पाइप फुटेर सडकभरी पानी भएपछि पाइप व्यवस्थापन गर्न खाने पानी संस्थानले सडक फोड्नु परेको थियो । सडककै दुवैभागमा परेको ठूला खाल्डोका कारण लामो समय सम्म सवारी साधन आवागमनमा समस्या परेको थियो । लामो समय लगाएर सडकमा परेको खाल्डो जेनतेन माटो र वालुवागिट्टी हालेर पुरिए पनि सडकमा हिड्डुल गर्न भने सहज भएको छैन । सडकको एकातिरको भाग पुरै पुरिएको भएपनि सडकको सौन्दर्य बिग्रिनुको साथै सवारी साधन चलाउन असहज भएको छ । खाल्डा खुल्टीकै माथीबाट सवारी साधन आगमन हुने गरेको छ । सडकको अर्को भागमा भने खाल्डो पुरिएको भए पनि सवारी साधन आवत जावत गर्न मिल्ने बनाएको छैन् । जस्को कारण सडकको छेउबाट आवत जावत गर्नुपर्ने अवस्था छ । सडकमा पारेको खाल्डो लामो समय सम्म पनि नपुर्नु र पुरे पनि सडकको मर्मत नगरिनुले यात्रुहरुले सास्ती भोग्नु परेको छ ।
सडककै बीचभागमा लामो समयदेखि खाल्डो हुँदा र सडकको आधा भागनै बन्द हुँदा समेत सम्बन्धित निकायले सडक मर्मत गर्नतर्फ ध्यान दिएको छैन । उल्टै सडकमा ड्रम र डोरी राखेर सडकको आधा भाग छोपिएकोेछ । कमसल निर्माणका कारण चारलेन सडकको गुणस्तर दिनहुँजसो खस्किरहेका बेला सडकमा देखा परेका यस्ता खाल्डाका कारण दिनहुँजसो सडक दुर्घटना हुने गरेका छन् ।
पुष्पलाल चोकमा हाइमाष्ट लाइटका लागि खनिएको ठाउँमा मरम्मत नगरिंदा दिनहुँ दुर्घटनाको जोखिम छ । राँझादेखि जमुनाहासम्म सडकको बिभिन्न भागमा खाल्डै खाल्डा पर्ने गरेका छन् । एसियाली विकास बैंकको सहयोगमा एएमआर पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको सडक न्यून गुणस्तरभएकै कारण भत्किने समस्या आएको जगजाहेर छ । सडक निर्माणको क्रममा खाने पानीको पाइपहरु टुटेफुटेको ठाउँमा बोराका टुक्रा र काठका टुक्रा हालेर काम चलाउ गरिंदा अहिले ठाउँ ठाउँमा समस्या आएको खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुख कोशलराज नेपालले बताए ।
सडक निर्माणको क्रममा खानेपानी संस्थानले पाइपको स्टिमेट दिएर समन्वय गरेको भएपनि निर्माण कम्पनीले लार्पवाही गरिदिंदा अहिले खानेपानी संस्थानले दुख पाइरहेको र गाली खाइरहेको भनाइ संस्थानका निमित्त प्रमुख नेपालको छ । सडक निर्माणको जिम्मा जस्ले पाएपनि सडकमा भएको खानेपानीको पाइपको रेखदेख गर्ने र हेर्ने जिम्मा खानेपानी संस्थानको हो । तर, निर्माणका क्रममा सम्बद्ध निकायले आपसी समन्वय नगर्दा अहिले सडकैभरी खाल्डा, खुल्टी पर्ने समस्या आएको हो ।
सुर्खेतरोडको बजार क्षेत्रमा प्रतिकिलोमिटरमा आधा दर्जनभन्दा बढी ठाउँमा खाल्डा पर्दै पुर्ने गरिएको छ । खराब सडक तथा खाल्डा खुल्टीका कारण सवारी दुर्घटना समेत हुने गरेको छ । एसियाली विकास बैंकको सहयोगमा ६३ करोड बढी रुपैयाँको लागतमा एएमआर पप्पु कन्स्ट्रक्सनले जेभी निर्माण गरेको साढे १० किलोमिटर सडक न्यून गुणस्तरकै कारण ठाउँठाउँमा भत्किदै आएको छ । सडक निर्माण सम्पन्न नहुँदै गुणस्तरका विषयमा स्थानीय स्तरमा ब्यापक विरोध भएको भए पनि सडकको गुणस्तरमा सुधार भने आएन । भत्किएको र खानेपानीको पाइप मर्मतको क्रममा भत्काइएको सडक मर्मत गर्नेतिर भने कसैको ध्यान जान सकेको छैन ।
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले सडक मर्मत गर्ने जिम्मा सडक डिभिजन कार्यालयको भएको बताए । सडक निर्माण गुणस्तरहीन भएको र खानेपानीको पाइप पुरानो जीर्ण भएकाले पानी लिक भएर सडकमा खाल्डा पर्ने गरेको प्रमुख डा.राणाको भनाइ थियो । ‘सडकै भरी पाइप टुट्ने, खाल्डा पर्ने र भर्ने काम कहिले सम्म भइराख्ने हो ? सम्बन्धित निकायले दिर्घकालिन योजना बनाउनुपर्ने सडकमा जनताले सहज रुपमा यात्रा गर्न आउने अधिकारको सुनिश्चित गरियोस्,’ धरापजस्तो सडकमा यात्रा गरिरहेका सर्वसाधारण आक्रोश पोख्दै दैनिक नेपालगन्जसँग भन्दै थिए । सडक विभाग सँग यसबारे छुट्टै कुरा गरिनेछ ।
बेथितिको नमुना
कर्णली विकास बैंक अगाडीको पुल निर्माण गर्दा ड्रमको टेकामाथिनै ढलान गरिएको फेला परेको छ । पुलको दुबै भागमा ड्रमको टेका दिएर ढलान गरेको भेटिएको हो । सडक निर्माणको समयमै सडकको बिच भागमा रहेको खानेपानीको ट्याङ्कीमा मुख्य पाइप फुटेपनि बोराका टुक्राले टालटुल गरेको भेटिएको छ । ‘यस्तो पाराले नक्कली काम गरेपछि सडक कसरी सुरक्षित हुन्छ,’ संस्थानका कर्मचारी भन्छन्, ‘यत्रो व्यस्त सडकमा ड्रममाथि ढलान भएको पुल कसरी गुणस्तरिय होला ?’