नेपालगन्ज – कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत रहेकी सांसद पूर्णाकुमारी सुवेदीले ग्रामीण स्तरका जनतामाझ सरकारी योजनाबारे छलफल गरेकी छन् । बाँकेको क्षेत्र नं. १ अन्तर्गत राप्तीसोनारीका विभिन्न वडामै पुगेर सांसद सुवेदीले केन्द्र सरकार र प्रदेशले अघि सारेका योजनाहरु बारे छलफल गरेकी हुन् ।
‘केन्द्रबाट परेका विभिन्न योजनाहरु प्रदेश सरकार मार्फत कार्यान्वयन हुने योजनाको विवरण मलाई हस्तान्तरण गर्नुभएको छ’, प्रदेशसभा सदस्य कृष्णा केसीले राप्तीसोनारी–३, ४, ५, ६ र ७ वडाका जनतासँग मंगलबार छुट्टाछुट्टै भेटघाट गरिएको जानकारी दिंदै भनिन्, ‘थप आवश्यक योजनाहरु बारे जनमत पनि लिइएको छ ।’
पूर्व सभासद् पट्टु थारु, स्थानीय अगुवा तुलसीराम थारु, विराट थारु लगायतको टोली सहित पुगेकी सांसद सुवेदीले आज बुधबार जिल्ला स्थित कार्यालय प्रमुखहरुसँग छलफल गर्ने बताएकी छन् । ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति अन्तर्गतका कार्यालयहरुसँग काम, कारवाही र प्रगति विवरण बारे चर्चा गर्ने योजना छ’, सभापति सुवेदीले दैनिक नेपालगन्जसँग भनिन्, ‘जनताको काम कसरी सहज ढंगले गर्न सकिन्छ भन्ने कुरामा कार्यालय प्रमुखहरुसँग अन्तरक्रिया पनि गर्न खोजिएको हो ।’
सभापति सुवेदीले विभिन्न नीति, नियम, कानुनहरु बनिरहेकाले त्यसबारे निरन्तर मतदातासँग भेटघाट गरी जानकारी दिने आफ्नो योजना पनि रहेको बताइन् । ‘त्यसक्रममा मंगलबार राप्तीपारीका जनतासँग भेटघाट गरिएको हो,’ फत्तेपुरसम्म पुगेकी सांसद सुवेदीले क्रमशः अन्य वडाहरु र अन्य स्थानीय तहमा पुग्ने आफ्नो कार्यक्रम रहेको बताइन् ।