बागेश्वरी विकास कोष

प्रसिद्ध शक्तिपीठ, बागेश्वरीलाई लिएर यति ठुलो बहस भइरहँदा पर्यटनमन्त्री योगेश भट्टराईका १ सय ४० बुँदे योजनामा बाँकेका लागि कुनै स्थान छैन । बाँकेका सत्तारुढ दलका लागि यो लज्जाको विषय बनोस् ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो कार्यकालको शुभारम्भलाई योजनाबद्ध लैजान खोज्दै १ वर्षे कार्ययोजना सार्वजनिक गरेका छन् । पर्यटनमन्त्री भट्टराईका प्राथमिकतामा परेका पर्यटन क्षेत्रका सुधारका १ सय ४० बुँदे योजनामा कहिंकतै बाँकेको नामोनिशान छैन । यो विषयलाई लिएर कतैबाट कुनै क्रियाप्रतिक्रिया पनि व्यक्त भइरहेको छैन । नेपालगन्जको दीर्घकालीन भविष्यका लागि नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल बनाएर नेपालगन्ज– दिल्ली उडानलाई सुरु गर्न माग उठेको वर्षौं भयो । अहिले आएर नेपालगन्ज– पोखराको उडान गर्न स्थानीयस्तरबाट गुहार लगाएको पनि महिनौं हुन लाग्यो, त्यस तर्फ राज्यका जिम्मेवार तहबाट अपेक्षित पहल भइरहेका छैनन् । बाँकेका लागि आवश्यक पुर्वाधारदेखि प्राथमिकता सम्मका सम्बोधनमा राज्यको आँखा किन पर्न सकेन ? सम्बद्धले जवाफ दिनु कर लागोस् ।

कुनैन कुनै रुपमा नेपालगन्ज यतिबेला आन्दोलित छ, चाहे प्रदेश राजधानी नपाएर उब्जिएको असन्तुष्टि होस्, वा संघीयताका नाममा फेरि केन्द्रीकृत राज्यसत्ताको अभ्यास गरेर नेपालगन्जमा रहेका सरकारी गैरसरकारी कार्यालय उठाउने कुराले होस् । नेपालगन्ज बिकासको दौडमा राज्यबाट उपेक्षामा पर्ने पिरलोले कुण्ठाग्रस्त हुँदै गइरहेको छ । यस्तो बेला पश्चिम नेपालकै एउटा महानगरोन्मूख सहरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नजर नपर्नुलाई सामान्य मान्न सकिन्न, यो हाम्रो लाचारी र ‘बदकिस्मती’को पछिल्लो उदाहरण हो । किनभने यही मन्त्रीपरिषद्मा बाँके, नेपालगन्जबाट प्रतिनिधित्व गर्ने यस्ता युवा जुझारु मन्त्री छन्, जो जिल्लामा सामान्य विवादमा सोझै हस्तक्षेप गर्ने हैसियत राख्छन्, ठुला ठुला परियोजना रोक्ने वा सुचारु गर्ने विषयमा निर्णायक कदम चाल्न र स–साना उजुरीमा आफ्ना निकाय परिचालन गर्न सत्रmिय छन् । उनै मन्त्री क्याबिनेटका समकक्षीलाई आफ्नो जिल्लाका दुरगामी प्रभावका विषयमा ध्यानाकर्षण नगराउलान् भनेर मान्न सकिन्छ ?

पर्यटन क्षेत्रको विकास र नेपाल भ्रमण वर्ष २०२०लाई लियर पर्यटनमन्त्रीले आफ्ना प्राथमिकता तय गरेका छन् । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने १० ओटा स्रोत बजारहरुको पर्यटक आगमन प्रक्षेपण गर्ने, नेपालबाट बाहिरिने पर्यटकको भिसा स्टाम्पिङ, ब्यागेज स्टिकर र बोर्डिङ पासमा भ्रमण वर्षको लोगोसहितको स्टिकर राख्ने, गैरआवासीय नेपाली सङ्घको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ’ अभियान सञ्चालन गर्ने कार्यक्रम साँच्चै आकर्षक छन् । पर्यटन मन्त्रालयले पशुपति क्षेत्र विकास, लुम्बिनी क्षेत्रको विकास, जनकपुर क्षेत्र विकासको सवाललाई उच्च प्राथमिकतामा राख्दा बाँकेको नेपालगन्जमा प्रसिद्ध शक्तिपीठ छ भन्ने कुरा किन पु¥याउन सकिएन ? लुम्बिनी क्षेत्रमा ५ लाख फलफूललगायतका विभिन्न विरुवा कम्तीमा ३ वर्षभित्र रोपेर गौतमबुद्ध फलफूल वाटिका घोषणा गर्ने तथा ग्रेटर लुम्बिनी सर्किट गुरुयोजना तयार गर्ने सरकारले स्थानीय माग र आवश्यकतालाई सम्बोधन गर्दै बागेश्वरी विकास कोषको स्थापना र यसको दीर्घकालीन विकासका लागि बृहत् बागेश्वरी मन्दिर आयोजना निर्माणको सपना कोर्न किन सकिएन ? प्रसिद्ध शक्तिपीठ, बागेश्वरीलाई लिएर यति ठुलो बहस भइरहँदा पर्यटनमन्त्री योगेश भट्टराईका १ सय ४० बुँदे योजनामा बाँकेका लागि कुनै स्थान छैन ? बाँकेका सत्तारुढ दलका लागि यो लज्जाको विषय बनोस् । जनताले आफ्ना जनप्रतिनिधिलाई प्रश्न गर्न थालौं ।
(दैनिक नेपालगन्जको सम्पादकीयबाट )

प्रतिक्रिया

प्रतिक्रिया