बहुआयामिक दिलाको दिलचस्पी

मन भण्डारी
नेपालगन्जका महिला उद्यमीहरुको नाम लिनुपर्दा दिला शाहको नाम नछुट्ने पङ्तिमा पर्छ । बुवा मान बहादुर शाह र आमा देवा शाहको कोखबाट २०४० साल साउन ३ गते सल्यान जिल्लाको मालनेटामा जन्मिएकी दिला शाह बहुप्रतिभा ब्यक्तित्व हुन् । ब्यापारिक पृष्ठभुमिमा हुर्किएकी शाह एक सफल उद्यमीको रुपमा परिचित छन् ।

आफन्तहरुको ब्यापारिक अनुभव, सफलता र प्रेणाले २०६५ साल देखि नै ब्यापारिक लाइनमा प्रवेश गरेकी शाह औद्योगिक क्षेत्र नेपालगन्जमा अवस्थित गणपति प्लाष्ट्रिक इन्डष्ट्रीज कम्पनिको प्रबन्धक हुन् । महिलाहरु कमजोर हुन्छन् उद्योग क्षेत्र मात्रै होइन कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न सक्दैनन् भन्ने सामाजिक संस्कारलाई चिर्दै शाहले बहुआयामिक क्षेत्रमा आफुलाई सफल बनाउदै आएकी छिन् ।

नेपालगन्जको धम्वोझी चौक स्थित दाईको एकता टे«डर्स नामक पसलबाट सुरुवात भएको शाहको ब्यपारिक क्षेत्र फराकिलो बन्दै गयो । मध्य तथा शुदुर पश्चिमाञ्चलको ब्यापारिक दृष्टिकोणले फराकिलो क्षेत्र भएको नेपालगन्जलाई ब्यापारिक केन्द्रबिन्दु बनाएकी शाहले ब्यापारिक क्षेत्रमा सम्भावना देखेर आफ्नो ब्यापारलाई नेपालगन्जमा मात्र सिमित राखिनन् । नेपालगन्जबाट अन्य जिल्लाहरुमा समेत सामान सप्लाई गर्नुका साथै दाङ्ग, सल्यान, रुकुम लगाएतका पहाडी क्षेत्रमा शाखा खोलेपछि ब्यापारको दायरा फराकिलो बन्दै गयो । २०६७ सालमा रुकुम पश्चिमको हाल आठविसकोट नगरपालिकामा डि.डि ब्रदर्श एण्ड अर्डर सप्लायर्स नामक हार्डवयर पसल दर्ता गरेपछि शाहको बास्तविक ब्यापारिक लाइन सुरुवात भएको बताउँछिन् । दुई छोराहरुको नामवाट खोलिएको उक्त पसलवाट रुकुम, जाजरकोट, डोल्पा लगायतका जिल्लाहरुमा थोक तथा फुटकर सामान सप्लाइ गर्न शाह सफल भइन् । डि.डि. ब्रदर्श एण्ड अर्डर सप्लायर्सबाट ब्यापारिक क्षेत्रमा सफलता पाएकी शाहको परिवारले डोल्पा जिल्लाको सिमानामा पनि उक्त पसलको शाखा खोलि ब्यापारको क्षेत्र बढाउँदै गए । शाहका श्रीमान संगै एउटै क्षेत्रमा भएकाले यो क्षेत्रमा सफलतम हासिल गर्न सजिलो बन्दै गयो । ब्यापारमा अनुभव समाल्दै गएको शाह परिवारले दाङ्गमा स्थापना भएको पञ्चरत्न पाइप प्रोडक्सनमा समेत लगानी गरि सहकार्य थालेको छ ।

शाहकै पहलमा रुकुमको आठविसकोटमा सूचोदिप वचत तथा ऋmण सहकारी संस्थाको समेत स्थापना भइ राम्रै सफलता प्राप्त भयो । सो सहकारीमा हाल १०÷१२ जनाले रोजगारी पाएका छन् । रुकुम आठबिसकोटमा ब्यपारिक सम्बन्ध बिस्तारकै कारण शाहका श्रीमान दिनेश चन्द हाल आठविसकोट उद्योग वाणिज्य संघको अध्यक्ष पदमा कार्यरत छन् भने त्यहि क्षेत्रको एक माध्यामिक बिद्यालयको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पनि । पहाडी क्षेत्रमा बसोवास गर्ने नागरिकहरुलाई सहजता होस् भन्ने उद्देश्यका साथ आफुले व्यवसाय सुरु गरेको शाहले बताइन ।

डि.डि. व्रदर्श एण्ड अर्डर सप्लायर्स नै आफ्नो व्यवसायको सफलताको पहिलो खुड्किलो सम्झिने शाहले दुइ बर्ष अघि मात्र साथीहरुसंगको सहकार्यमा नेपालगन्जको औधोगिक क्षेत्रमा गणपति प्लाष्ट्रिक इन्डष्ट्रीज नामक कम्पनिको स्थापन गरी संचालनमा ल्याएकी छन् । सामान्य ब्यक्तिहरुले सहज रुपमा प्रयोग गर्न सक्ने उद्धेश्यका साथ संचालन गरेको उक्त उद्योगबाट उत्पादन भएका सामाग्रीहरुले पहाडी इलाकामा राम्रो लोकप्रियता हासिल गरेको छ ।

अर्काको उत्पादनको ब्यापार गरी लामो अनुभव समालेकी दिला आफ्नै उत्पादनको अनुभव लिने सोंचका साथ उक्त कम्पनि संचालनमा ल्याएको बताउँछिन । जुनसुकै काममा पुर्णरुपमा मेहनत गर्ने उनले नेपाली प्रोडक्टलाई सबैले माया गरेर ब्यापारमा सफलता मिल्दै गएको अनुभव गरेकी छन् । आफ्नो ब्यापारिक क्षेत्रको अनुभवले आम महिलाहरुलाई उद्योग क्षेत्रमा लाग्न प्रेरणा मिल्ने आशा दिलाको छ । कोही पनि महिलाहरु बेरोजगार बस्न नपर्ने गरि दिला केही उद्यमको सोंचमा छन् । उनले नेपालका पहाडि क्षेत्रमा उत्पादन हुने अदुवा, टिमुर, गन्द्रुक लगायतका खाद्यपदार्थलाई प्याकिङ्ग गरि विदेश सम्म चिनाउने र बेरोजगार महिलाहरुलाई रोजगारी सिर्जना गरि उद्योग क्षेत्रबाट सवालम्बी बनाउने उद्देश्यका साथ महिलाहरु नै संलग्न भएको एउटा छुट्टै नयाँ उद्योग स्थापना गर्ने साेंच सुनाइन् ।

बाँकेका महिलाहरुको सहकार्यमा खोलिएको उज्यालो लाली गुराँस गार्मेण्ट उद्योगमा समेत दिलाको लगानी छ । उक्त उद्योगमा महिला तथा बचाहरुको लागि आवश्यक पर्ने सबै प्रकारका तयारी पोशाकको उत्पादन गरिन्छ । हालसम्म उनका सबै व्यवसाय तथा उद्योगतिर गरेर ३०÷४० जनाले रोजगारी पाएका छन् । रुकुमको आठविसकोट क्षेत्रलाई आफ्नो ब्यपारिक क्षेत्र बनाएकी दिला शाह नेपालगन्जमा छोटो समयमै एउटा असल र सफल उद्यमी रुपमा परिचित सफल व्यक्तित्व हुन् । सबै संग छोटो समयमै घुलमिल हुन सक्ने र आफ्नो पहिचान दिन सक्ने क्षमता भएरै होला नेपालगन्ज क्षेत्रमा दिलाको एउटा छुट्टै पहिचान बनेको छ ।

दिला शाह सफल उद्योगी मात्र नभइ साहित्यकार तथा समाजसेवी पनि हुन् । सानै देखि साहित्यमा अभिरुचि राख्नेउनी साहित्यका माध्यमबाट आफ्ना खुशी तथा दुःखका पलहरुलाई सम्झिने गर्छिन् । साहित्यका बिविध बिधामा कलम चलाउन सक्ने शाहले सानै देखि आफ्नो डायरीमा दैनिकी, कविता, कथा जस्ता साहित्यिक सृजना गर्ने गरेको अनुभव बताइन् । जब डायरीमा दुःख सुखका कुराहरुलाई लेख्थें मन हल्का हुन्थ्यो शाहले आफ्नो बिगतको पल सम्झिंदै भनिन् । स्कुल तथा कलेज पढ्दाको बखत कथा र कविता बाच्न गरेर बिभिन्न पुरस्कार जित्न सफल शाहले साहित्य लेखनलाई जिवित राख्दै फराकिलो बनाउँदै लगेकी छिन् । उनी साहित्य लेखनमा मात्र होइन् अध्ययनमा समेत त्यतिनै सक्रिय छिन् । शाहले वाल्यकालमा आफुले कोर्ने गरेका कथा, कविता, दैनिकीहरु हेर्दा अहिले पनि ति दिनहरुमा डुव्ने गरेको स्मरण गर्छिन् । शाहका बिभिन्न कथा तथा कविताहरु बिभिन्न पत्र पत्रिकाहरुमा नियमित प्रकाशन हुँदै आएका छन् । शाह केहि भरखरै केहि समय अघि मात्र संशाक तारा शंकर मुक्तक र हाइकु राष्ट्रिय पुरस्कारबाट काठमाडौमा एक समारोहका बिच नगद सहित सम्मानित भएकी छिन् ।

बहुप्रतिभाकी धनी दिला शाह बिभिन्न सामाजिक अभियान तथा संघ संस्थासंग पनि आबद्ध छिन् । नेपाल रेडक्रस सोसाइटीको सदस्य तथा स्वयंसेवक भएर काम गरि सकेकी शाह बासको केन्द्रीय सदस्य, औद्योगिक विकास संघ बाँकेकी सचिब, अन्तर्राष्ट्रिय साहित्यिक संस्थाकी सदस्य, बाङ्गमय प्रतिष्ठान प्रदेश नं. ५ को सदस्य लगायतको जिम्मेवारी शाहले पाएकी छन्् । शाहले आफ्ना छोराहरुको प्रत्येक जन्मदिनमा मातातिर्थ वृद्धाश्रमलाई नगद सहित लत्ता, कपडा सहयोग गर्दै आएको बताउँछिन । आफ्नो र श्रीमानको जन्मदिन तथा विवाहोत्सव जस्ता महत्वपूर्ण दिनहरुमा समेत अनुकुल पर्ने ठाउँमा सेवा गर्दै आएको बताउने शाह परिवार विरामी तथा असहायहरुलाई सहयोग गरी मानविय कार्य समेत गर्दै आएको छ ।

धेरैले आफ्ना अभिभावकहरुनिधनपछि सम्झिने गर्छन् । तर शाह भने मृत्युपछि गरिने सम्मान तथा माया खाली देखावटी मात्र भएको बताउँछिन् । दुई बर्षअघिदेखि बासको समन्वयमा आफ्ना बुवा मान बहादुर शाह र आमा देवा शाहको सम्मानमा मानदेवा परोपकारी अक्षयकोष स्थापना गरि मानवीय कार्यको थालनी पनि गरेकी छन् । वुवा आमा तथा आफन्तलाई यो धर्तिमा जिउंदो छँदा नै सम्मान गर्नुपर्छ जस्तो लागेर अनाथ, असहाय, अतिविपन्न, पढन, नपाएका वालवालिकाहरुलाई सहयोग गर्ने उद्धेश्यले वुवा र आमाको सम्मानमा अक्षयकोषको स्थापना गरिएको शाह बताउछिन् ।

सानो छँदा आफु पनि आर्थिक अभावमा बाँंच्नु परेको स्मरण गर्दै समाजमा खान, लाउन नपाएका ब्यक्ति तथा घरपरिवारले आफ्नो जस्तो समस्या झेल्न नपरोस् भन्ने भावनाबाट अभिप्रेरित छिन् । सानै देखि आफुले अनुभव गरेको अनुभवको जीवनले गर्दा कसैको दुः ख देख्न नसक्ने शाह गाउँंमा, समाजमा जहाँ भएपनि कोहि भोको नाङ्गो बस्नु नपरोस् भन्ने चाहाना राख्छिन् ।

दिला शाहले संधै स्वस्थ्य र खुशी रहनु, समाज सेवा गर्नु, सफल उद्यमी बन्ने, भ्रमण गर्ने अध्ययन गर्ने, नयां तथा श्रृजनशील काम गर्ने,साहित्य साधना गर्ने, योगाध्यान, ब्यायम गर्ने, एक असल नारी बनेर यो देश र समाजको लागी राम्रो योगदान दिने सोंच राख्छिन् । भविष्यलाई लिएर सून्दर वर्तमानलाई विचलित गर्ने बानी छैन । आफ्नो पेसा व्यवसायमा राम्रो गर्ने, मानदेवा परोकारी अक्षयकोषलाई वृहत बनाएर लैजाने र समाजसेवाको दायरालाई अझैं बढाएर लैजाने । खुशी स्वस्थ्य घरपरिवार हिंसामुक्त समाज सुन्दर संसारको श्रृजना गर्न आफ्नो तर्फबाट सकेको योगदान दिने दिला शाहका आगामी योजना हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया