यातायात समितिलाई कम्पनीमा जान अनिवार्य गरेपछि भेरी अञ्चल यातायात व्यवसायी संघले प्रा.लि. अन्तर्गत सेवा सुरु गरेको हो
नेपालगन्ज
देशभरका यातायात समितिहरुले कम्पनी अन्तर्गत दर्ता भएका छन् । सरकारले गैर सरकारी संस्थाका रुपमा दशकौंदेखि सञ्चालित यातायात समितिहरुलाई लग्ने निर्णय गरेपछि यातायात समितिमा प्रा.लि.मा गएका हुन् । साउन १ गतेदेखि औपचारिक रुपमै समितिहरुको अस्तित्व समाप्त भैसकेको छ ।
नेपालगन्जमा सञ्चालित सबैभन्दा ठूलो बस समिति भेरी अञ्चल यातायात व्यवसायी संघ पनि प्रा.लि. अन्तर्गत दर्ता भएको छ । संघको सुरु पूँजी १० करोड रुपैयाँ रहेको तत्कालीन समितिका अध्यक्ष समेत रहेका प्रा.लि.का सञ्चालक डेकनाथ गौतमले जानकारी दिएका छन् । गत असार अन्तिम साता दर्ता भएको प्रा.लि. समितिले अब प्रा.लि. अन्तर्गत नै सेवा सुरु गर्ने भएको छ ।
भेरी बस यातायात प्रा.लि.ले आफ्नो प्रथम साधारणसभा समेत आयोजना गरेको छ । तत्कालीन समितिको ३४ औं र प्रा.लि.को पहिलो साधारणसभा आयोजना गरिएको हो । समितिमा रहेका व्यवसायीहरु नै प्रा.लि. अन्तर्गत दर्ता भएका हुन् ।
२०७४ चैत १८ गते सिण्डिकेटविरुद्ध निर्देशिका जारी गरेको सरकारले २०७५ साउन १ गतेदेखि सामाजिक संस्थाका रुपमा दर्ता भएका यातायात समिति नवीकरण नगर्ने निर्णय गरेको थियो ।
देशभर करिब चार सय सार्वजनिक यातायात समिति गैरसरकारी संस्थाका रुपमा दर्ता थिए । सिण्डिकेट अन्त्यको घोषणालगत्तै सरकार र यातायात व्यवसायीबीच चर्को विवाद भएको थियो । सरकारले पूर्वतयारीबिना सिण्डिकेट हटाउने निर्णय गरेको भन्दै यातायात व्यवसायीहरु आन्दोलित भएका थिए ।
२०७५ बैशाख २३ गते यातायात समितिको बैंक खाता रोक्का गरेर सरकारले दबाब दिएपछि २०७५ बैशाख २४ गते यातायात समिति कम्पनीमा जान तयार भएका थिए । त्यसपछि क्रमशः समितिहरु कम्पनी ऐन अन्तर्गत दर्ता भई प्रालिमा जान सुरु भए ।
नेपालगन्जमा बनाइएको आधुनिक बसपार्क । बसपार्क सञ्चालनमा ढिलाई हुँदै गर्दा यातायात व्यवसायीहरु बसपार्क सञ्चालनमा आए पार्किङ्ग, टिकट काउन्टर सञ्चालन र यात्रुहरुलाई सहज हुने बताउँदै आएका छन् ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपमहासचिव डेकनाथ गौतमले देशभरका समितिहरु प्रा.लि. अन्तर्गत दर्ता भैसकेको बताए । उनले समिति अन्तर्गत रहेका सम्पत्ति, कर्मचारी र दायित्व नयाँ दर्ता भएका प्रा.लि. अन्तर्गत आउने जानकारी दिए । यद्यपि तत्कालीन समितिका नाममा भएको सम्पत्तिका बारेमा निर्णय भने भएको छैन ।
यातायात समितिहरु प्रा.लि.मा गएपछि दशकौं देखिको सिण्डिकेट खारेज भएको सरकारले बताउँदै आएको छ । व्यवसायीहरुले भने यातायात व्यवसायीले सिण्डिकेट नभई सिष्टममा सञ्चालन गरेको तर्क गर्दै आएका छन् । प्रा.लि.मा यातायात समितिहरु गएपछि रुट लगायतका व्यवस्थाहरुमा भने खासै परिवर्तन भएको छ । अझै पनि यातायात व्यवसायीहरु बीचको सहमतिमा पुरानै प्रक्रियाबाट यातायात सञ्चालन भैरहेका छन् ।
‘पहिले जस्तै आलोपालो मै बसहरु सञ्चालन भैरहेका छन्’, प्रा.लि. अन्तर्गत बस सञ्चालन गरिरहेका एक व्यवसायीले भने । यसले यातायात व्यवसायीहरु बीच प्रतिस्पर्धाको अवस्था भने देखिएको छैन । ‘यातायात समिति प्रा.लि.मा गएपछि पुरानै प्रक्रियाबाट सञ्चालित छन्’, बस व्यवसायी नै भन्छन्, ‘व्यवसायीबीच गुणस्तरीय प्रतिस्पर्धा आवश्यक छ ।’
अहिले पनि नयाँ व्यवसायीलाई यातायात क्षेत्रमा प्रवेश गर्न समस्या नै रहेको व्यवसायीले बताएका छन् । ‘समितिहरु नै प्रा.लि.मा रुपान्तरित भएका हुन्’, उनीहरु भन्छन्, ‘पहिले र अहिले अवस्था फरक छैन ।’ प्रा.लि.का सम्बद्धहरु भने कम्पनी ऐन नियम र कार्यविधिबाट बस सञ्चालनको प्रक्रिया अगाडि बढिरहेको दाबी गर्दछन् ।
यात्रुहरुले भने समिति प्रा.लि.मा गएपनि यातायात क्षेत्रमा सुधार भने नभएको बताउँछन् । ‘पहिलेकै अवस्थामा चलिरहेका छन्’, स्थानीय दिपश शर्मा भन्छन्, ‘समितिका टिकट काउन्टरबाटै टिकट काटिन्छ, समितिको नियम र पालोमा बस चलेका छन् ।’ यातायातमा कुनै प्रतिस्पर्धा पाइँदैन ।